निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजा राष्ट्रपति कार्यालयमा बुझाएपछि सरकार गठनको आह्वान भएको छ। दलहरू सरकार गठनका लागि आ–आफ्नो तहबाट पहल कदमीमा छन्। संसद्मा कुनै एक दलले स्पष्ट बहुमत प्राप्त गरेको अवस्था विद्यमान छैन। बहुमतवादी प्रजातन्त्र (मेजोरिटेरियन डेमोक्रेसी) नभएर बहुलवादी (प्ल्युरलिस्ट डेमोक्रेसी) अवलम्बन गरेका देशमा कुनै एक मात्र दलको बहुमत यदाकदाको दुर्लभ अवस्था हो। दलहरूले मिलीजुली सरकार बनाउनु पर्ने परिस्थिति छ। कुनै पनि दलले जोसुकैको सहयोग लिन प्रयत्न गर्नु र सरकार बनाउन पहल गर्नु यथोचित र अनिवार्य हुन्छ। यसैका लागि दलबीच आन्तरिक र अन्तरपार्टी छलफल घनीभूत भएको छ।
सरकार मात्र नभई राजनीतिका सबै विषयमा दलबीच सहमति र सहकार्य हुनुपर्ने कारण यस्ता छलफल नेपाली राजनीतिको एक स्थायी चरित्र नै हो। तर छलफलका ती शृङ्खलालाई व्यङ्ग्य गर्दै दक्षिण एसियाका एक विख्यात लेखक आशिष नन्दी नेपाली राजनीतिलाई ‘ब्रेकफेल्ड एक्सप्रेस बस’को संज्ञा दिन्छन्। त्यस्तो गाडी दु्रत गतिमा दौडन्छ तर गन्तव्यमा पुग्दैन, दुर्घटनामा पर्छ। यात्रुको जीउ/धन नासिन्छ। हाम्रा नेतागणहरू पनि दिनरात, बिहानदेखि साँझसम्म छलफलमा निकै व्यस्त हुन्छन्। दुईपक्षीय, तीनपक्षीय, बहुपक्षीय अनि सर्वपक्षीय छलफल रफ्तारमा चल्छन्। घर, होटलदेखि औपचारिक कार्यक्रममा समेत छलफल हुन्छन् तर परिणामचाहिँ ब्रेकफेल बसजस्तै दुर्घटनाका आउँछन्। विगतका थुप्रै राजनीतिक घटनाक्रममा नन्दीको अलङ्कार मर्मस्पर्शी रूपमा प्रतिविम्बित भएको सत्य हो।
यस पटकको छलफलले भने कुनै न कुनै मोडमा पुगेर निकास दिन्छ। सरकार त जसको र जस्तो पनि बन्न सक्छ। यद्यपि राजनीतिका आगामी अभ्यासले आमनागरिक र पूरै समाजको राजनीतिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय परिवर्तन, पुनर्निर्माण अनि प्रगतिमा खास भूमिका निभाउनुपर्छ। दलबीच यसलाई सार्थक बनाउन अनुपम सहमति बन्नुपर्छ।
स्थिरताको प्रतीक्षा
घरिघरि सरकार परिवर्तन देशको विकासमा प्रतिकूल साबित हुन्छ। आफू सत्तामा जाने लालसादेखि अरूले राम्रो गरे आफ्नोसमेत राजनीतिक भविष्य दाउमा लाग्ने भयले सरकार गिराउनमा अन्तहीन विकृतिहरू मौलाउँछन्। परिणाम, गणतन्त्र स्थापनापछिको १५ वर्षमा हाम्रोमा १३औँ सरकार बन्दैछ तर भारतमा त्यही अवधिमा तीनवटा मात्र सरकार बने। छिटो/छिटो हुने सरकार परिवर्तनले विकास निर्माण, नीति तथा कार्यक्रम कार्यान्वयनलाई असन्तुलित र अस्तव्यस्त बनाउँछ। भ्रष्टाचार, घुसखोरी, कमिसनतन्त्र मौलाउँछ। कर्मचारीतन्त्रमा जवाफदेहिता घट्छ। विकास निर्माणका योजनामा व्यापक असर पर्छ। आर्थिक गतिविधि र लगानी नकारात्मक हुन्छन्। व्यापार घाटा विशाल अनि निराशा उच्च बन्छ। बेरोजगारी बढ्दा प्रगति सुस्त र पीडाचाहिँ दुरुस्त रहन्छन्।
अहिले पनि स्थिर सरकार भएका देशमा निरन्तर तथा उच्च अनि अस्थिर राजनीति भएकोमा सुस्त प्रगति देखिन्छ। तसर्थ स्थायित्व र अपनत्व भएको सरकार निर्माणको अभ्यास नागरिकको प्रमुख आशा हो। ए लिजपर्डको पुस्तक ‘कन्सेन्सस् डेमोक्रेसी’मा यसलाई प्रजातन्त्रको अलौकिक उदाहरण भनिएको छ। काम गर्न र आवश्यक परिणाम देखाउन स्थिर सरकार आवश्यक पर्छ। सिङ्गापुर र मलेसिया यसका अनुपम उदाहरण हुन्। डा. अत्तर रहवानीको दक्षिण एसियामा राजनीतिक अस्थिरतासम्बन्धी शोधले समेत यही निष्कर्ष निकाल्छ। तसर्थ, जसरी सरकार बने पनि त्यसको स्थिरता र स्थायित्वलाई बोध गर्नुपर्छ, व्यावहारिक बनाउनुपर्छ। संसद्को गणितभन्दा देशको हितलाई ध्यान दिनुपर्छ। राजनीति शक्ति र सत्ताकेन्द्रित भन्दा सत्यताकेन्द्रित बन्नुपर्छ।
संविधान सम्मानको प्रतीक्षा
संविधानको सम्मान साथ सफल कार्यान्वयन दलको अर्को जिम्मेवारी हो। आवश्यकता र सहमतिअनुसार यसमा संशोधन हुन सक्छ। अमेरिकामा सन् १७८९ देखि लागू भएको संविधानमा जम्मा २७ संशोधन भए। छिमेकी देश भारतमा ४४८ धारा रहेको संसारकै सबैभन्दा लामो लिखित संविधानमाथि पछिल्लो ७३ वर्षमा १०५ पटक संशोधन भए। आजसम्म भेनेजुएलामा २६, हाइटीमा २३, इक्वेडरमा २०, बोलिभियामा १७, अल सल्भाडोरमा १६ र कोलम्बियामा १२ पटक नयाँ संविधान लेखिएका र अनेकाँै पटक संशोधन भएका देखिन्छन्। संविधानअनुसार काम गर्न र विधि अनि कानुनलाई सम्मान दिनभन्दा संशोधनको आवरणमा आफ्नो स्वार्थअनुसार कानुनको फेरबदलमा रमाउनु चाहिँ हुँदैन। राजनीतिशास्त्रका एक विख्यात लेखक ए हेवुडका अनुसार, यस्तो अभ्यासले संविधानलाई प्रभावकारी नभई केवल नाम मात्रको तथा औपचारिक बनाउँछ। देशको अधिक स्रोत, साधन र समयचाहिँ केवल संविधान निर्माण र संशोधनमा व्यतीत हुन्छ। हामीमा पनि यो जोखिम जीवन्त छ, जसलाई दलबीचको सहमतिले निराकरण गर्नुपर्छ।
नियत र निर्वाह फेरिने प्रतीक्षा
सङ्घीय गणतन्त्रात्मक अभ्याससँगै हामी नयाँ नेपाल निर्माणको सपना सजाइरहेका छाँै। नयाँ नेपाल निर्माण भनेको खाली नयाँ नाम, भौगोलिक वा राजनीतिक नक्साङ्कन अनि शक्तिका नयाँ पदको निर्माण मात्र होइन। नागरिकको जीवनस्तरमा नयाँ उचाइ र बहुआयामिक विकासको प्रत्याभूति हुनुपर्छ।
अमेरिकामा सन् १९६३ को महान् अश्वेतवादी आन्दोलनका नेता मार्टिन लुथर किङ जुनियरले पूर्वराष्ट्रपति अब्राहम
लिङ्कनसँग भएको सहमतिलाई खराब चेक भने। कारण, त्यसले अश्वेतहरूको स्थान र भूमिकालाई कुनै नयाँ मोड दिन सकेन, जीवनमा तात्त्विक परिवर्तन महसुस गराएन। खराब चेकबाट नगद भुक्तानी हुँदैन, त्यो बिना महत्वको कागजको खोष्टो मात्र बन्छ। आमनागरिकलाई आशातीत परिवर्तन दिलाउन नसकी पुरानै समस्या र सङ्कट थाती रहेमा यो राजनीति पनि एक खराब चेक मात्र बन्नेछ।
साँच्चै राष्ट्र निर्माण गर्न र नागरिकलाई देश फेरिएको महसुस गराउनलाई आर्थिक क्रान्तिका दिगो आधारहरू तयार पार्नुपर्छ। प्रत्येक नागरिकलाई उचित रोजगारीको प्रत्याभूति हुनुपर्छ।
गरिबी र बेरोजगारी अन्त्यमा ठोस पहल गर्नुपर्छ। औद्योगिकीकरण लगायत सम्भव सबै विकास अभ्यासलाई उच्च प्राथमिकता दिनुपर्छ। दलबीच दरिलो र उच्च आर्थिक वृद्धिलाई सुरक्षित गर्ने सोच, सामथ्र्य र तत्परता बन्नुपर्छ। अब आर्थिक पुनर्संरचना, आत्मनिर्भरता र सुशासनका आधारमाथि व्यापक काम
हुन जरुरी छ। हामीकहाँ उल्लेख्य सङ्ख्यामा युवा शिक्षित छन् तर ठूलो बेरोजगारी छ। यो असन्तुलन अन्त्य हुनुपर्छ। देशको सम्पन्नता र सबलता भनेकै आर्थिक विकास हो। राजनीतिभन्दा अर्थनीति र आर्थिक अवस्था कमजोर हुनुको मूल्य निकै महँगो हुन्छ। केही वर्ष पहिले अमेरिकी र युरोपियन महादेशका अधिकांश राज्यमा आएको आर्थिक मन्दीले प्रस्ट्याएको छ। उनीहरूको राजनीतिक स्थिति निकै सबल भए पनि एउटै आर्थिक मन्दीले दशकभरि कमजोर बनायो। राजनीतिक क्रान्ति मात्र अन्तिम र एउटै ध्येय मान्ने अन्धभक्तता छोड्नुपर्छ।
संसारका प्रायः सबै देशले एउटै आन्दोलनबाट मुहार फेरे। सन् १६८८ तिर भएको गौरवमय राज्यक्रान्तिले बेलायतलाई, १७८९ को क्रान्तिले फ्रान्सलाई, १९१७ को अक्टोबर क्रान्तिले रुसलाई, १९४५ को स्वतन्त्रता सङ्ग्रामले भारतलाई निकै अगाडि पु¥याए। त्यसपछि उनीहरू निरन्तर आर्थिक समृद्धि र सुशासनमा होमिए। आन्तरिक एकताको आधारमा अन्तर्राष्ट्रिय सामथ्र्यता प्राप्त गरे। पछिल्लो तीन दशकमा एसियाका केही राष्ट्र जस्तै चीन, भारत, थाइल्यान्ड, दक्षिण कोरिया, कुवेत, कतार, ताइवान, भियतनाम, जापान, सिङ्गापुरलगायतले उच्च आर्थिक वृद्धि गरे। अर्थशास्त्री ती देशलाई टाइगर इकोनोमी भन्छन्। उक्त राष्ट्र एउटा राजनीतिक क्रान्तिपछि आर्थिक क्रान्तिमा केन्द्रित रहे, तर पटक/पटकका हाम्रा क्रान्तिचाहिँ नयाँ नाम, नक्सा र शक्तिका नायक फेर्नेमा अल्झिए।
अब त्यो अनावश्यक औपचारिकता त्याग्दै नागरिकको जीवन परिवर्तनको गतिमा लाग्ने स्पष्ट मार्गचित्र बन्नुपर्छ। दलहरूले छिमेकीका विकास कौशलताका ती नजिरलाई हाम्रोमा समेत प्रत्याभूति गर्नसक्ने चरित्र निर्माण गर्नुपर्छ। आदर्श राजनीतिक चरित्र र देशको अग्रगामी सकारात्मक सभ्यताप्रति दत्तचित्त बन्नुपर्छ। आशातीत लक्ष्य प्राप्तिका सोच र सामथ्र्य निर्माणमा विशेष पहल गर्नुपर्छ। अन्तहीन छलफल होइन, ठोस फल आगामी राजनीतिमाथिको प्रधान अपेक्षा हो।