नेपाल अनेकौँ प्राकृतिक स्रोत र सम्पदाले सम्पन्न हुनुका साथै उन्नत सामाजिक, सांस्कृतिक, धार्मिक सभ्यता र संस्कारले सुसंस्कृत देश हो । क्षेत्रफलको आधारमा सानो भए तापनि यही सानो क्षेत्रमा पनि प्राकृतिक वरदानको रूपमा अनेकौँ विविधता पाउँछौँ । यहाँ ढुङ्गा छोए सुन, माटो छोए अन्न, झार छोए सञ्जीवनी जडीबुटी, पानी छोए तेल हुन्छ भन्ने कथन छ । यस्तो स्वर्ग जस्तो सुन्दर देश छोडेर लाखौँ नेपाली युवा विदेशको भूमिमा छन् । के यिनीहरू रहरले गएका हुन ? आफूलाई जन्म दिने बुबाआमा, परिवार, साथीहरू र जन्मभूमि छोडेर रहरले होइन आँसु पिएर करले युवा विदेश पलायन हुनुपर्ने बाध्यता छ । हाम्रो देशले २०५०/५१ देखि वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति जारी गरेको हो । यो ३० वर्षको अवधिमा २०८०/८१ को सर्वेक्षण प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने कामदारको सङ्ख्या ५९ लाख ६९हजार पुगेको छ ।
युवा बिदेसिनुका प्रमुख कारण :
रोजगारी : प्रतिवर्ष बढ्दै गएको बेरोजगारीको तथ्याङ्क अनुसार देशमा बर्सेनि पाँच लाख नयाँ युवा जनशक्ति रोजगारयोग्य शक्तिको रूपमा रूपान्तरण भइरहेको पाउँछौँ तर देशभित्र हरेक वर्ष करिब २० हजार युवाले मात्र रोजगारको अवसर प्राप्त हुने केन्द्रीय तथ्याङ्क विभागले सर्वेक्षण गरेको सरकारी अभिलेख छ । देशमा नयाँ उद्योग कलकारखानाहरू स्थापना हुने वातावरण नभएको, भएका अधिकांश उद्योग कलकारखाना पनि बन्द हुँदै जानुको कारण स्वदेशभित्र युवाले रोजगारको अवसर प्राप्त गर्न सकिरहेका छैनन् । २०८०÷८१ मा प्रकाशित एक प्रतिवेदन अनुसार दैनिक विदेश जाने युवाको सङ्ख्या दुई हजार एक सय पुगेको छ । वैदेशिक रोजगारका लागि ११० देशसँग द्विपक्षीय सम्झौता भए तापनि व्यक्तिगत श्रम स्वीकृतिमा १७२ देशमा नेपाली गएका अभिलेख छ ।
शिक्षा आर्जन : आज देशमा एकातिर गुणस्तरीय शिक्षाको कमी छ । शैक्षिक संस्थाहरूमा राजनीतिक खिचातानी र हस्तक्षेपका कारण शैक्षिक संस्थाहरूको शैक्षिक क्रियाकलाप र व्यवस्थापन अस्तव्यस्त रहेको छ । अर्काेतर्फ चाहेको विषयको देशभित्र अध्यापन नहुँदा पनि युवा अध्ययनका लागि बाहिरिरहेका छन् । आर्थिक वर्ष २०७५÷७६ देखि आव २०८०÷८१ को अन्त्यसम्ममा चार लाख ६४ हजार ७७७ जना विद्यार्थी अध्ययनका लागि बिदेसिएका सरकारको तथ्याङ्क छ ।
आकर्षक आय आर्जन नहुनु : देशभित्र रोजगारीबाट प्राप्त गर्ने आय सामान्य जीवनयापनका लागि पनि धौधौ हुने गरेको छ । जीवनयापनका लागि आम्दानी पर्याप्त नभएकै कारण युवा बिदेसिनुपर्ने बाध्यता छ ।
विकसित देश हेर्न लालायित : देशबाट युवा चाहे अध्ययनका लागि होस्, चाहे रोजगारीको लागि होस् बिदेसिनुको विभिन्न कारणमध्ये एक विदेश हेर्न लालायित हुनु पनि हो ।
सामाजिक संस्कार : आज जो युवा स्वदेशमा बस्दछ, उसले प्रगति गर्न सक्दैन । प्रगतिको लागि विदेश नै जानु पर्छ भन्ने मान्यता बढेर गएको छ । आज यो मान्यता बिस्तारै एउटा सामाजिक संस्कारको रूपमा विकास भएको पाउँछौ ।
गरिबी र भविष्य सुनिश्चित बनाउन : नेपाल दक्षिण एसियामा विश्व बैङ्कको पछिल्लो प्रतिवेदन अनुसार तेस्रो गरिब मुलुकमा पर्छ, तर नेपालमा गएको भूकम्प, कोरोनाको कारण देशमा देखिएको अर्थतन्त्रमा आएको मन्दीले गरिबी छ । दयनीय अवस्थाबाट मुक्ति पाउन र भविष्य सुनिश्चितताका लागि युवा बिदेसिरहेका छन् ।
वैदेशिक परामर्श संस्थाहरू : युवा बिदेसिनुको विभिन्न कारणमध्ये म्यान पावर कम्पनीहरूले सत्य तथ्यभन्दा पनि आकर्षक ढङ्गले विज्ञापनको प्रभावमा पारेर युवालाई बिदेसिन आकर्षित गरेका छन् । नेपालमा करिब सत्र सयको हाराहारीमा रहेको वैदेशिक रोजगारी कम्पनीहरूले वैध तथा अवैध ढङ्गले युवालाई विदेश लिएर जाने गरेका छन् ।
डिभी चिट्ठा : अमेरिकाले गरिब देशहरूका लागि सञ्चालन गरेको डिभी योजनाले पनि धेरै युवा देशबाट पलायन भइरहेका छन् । नेपालमा सन् २००० देखि यो कार्यक्रमका लागि आवेदन दिने प्रव्रिmया सुरु भएको हो । अमेरिकाको राज्य विभागको प्रतिवेदन अनुसार नेपालबाट डिभीमार्फत अमेरिका जाने सङ्ख्या सामान्यतया वार्षिक २००० देखि ५००० बिचको हुने गरेको छ ।
समस्या :
कृषि क्षेत्र प्रभावित : हाम्रो देश एक कृषिप्रधान देश हो भन्ने भनाइ केवल किंवदन्ती बनेको छ । आव २०७०/७१ मा कुल गार्हस्थ उत्पादन कृषि क्षेत्रको योगदान ३०.३ प्रतिशत रहेकोमा उत्पादन घटेर कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २३.९५ प्रतिशत मात्र उत्पादन गर्न सकेको हाम्रो तथ्याङ्कले देखाउँछ । यसरी कृषि क्षेत्रमा उत्पादनमा ह्रास आउनुको प्रमुख कारण युवा बिदेसिनुको कारण हो ।
कलेज तथा विश्वविद्यालयहरू बन्द हुने अवस्था : युवा अध्ययन र रोजगारीका लागि बिदेसिएका कारण कलेज र विश्वविद्यालयहरू क्रमशः बन्द हुँदै जाने सम्भावना बढेर गएको छ ।
दक्ष जनशक्ति : सामान्य लेखपढ गर्न जान्ने युवा मात्र बिदेसिरहेको अवस्था छैन, उच्च शिक्षा हासिल गरेका शैक्षिक जनशक्तिको समेत भिड देख्न सकिन्छ । एसइई गरेका युवा १५ लाखभन्दा माथि, उच्च मावी वा सो सरह उत्तीर्ण भएका चार लाखभन्दा बढी, स्नातक गरेका चार लाखभन्दा बढी र स्नातकोत्तर गरेका ७४ हजारभन्दा बढी हाम्रो शैक्षिक जनशक्ति आज वैदेशिक रोजगारीमा लागेका छन् ।
छिमेकी मुलुकबाट जनशक्ति आपूर्ति : प्रत्यक्ष रूपमा देशभित्र व्यापार, निर्माण, कृषि आदि पेसा तथा व्यवसायमा रिक्तता भएको स्थानमा छिमेकी मुलुकबाट भित्रिएका जनशक्तिले अवसर प्राप्त गरिरहेको छ । जसका कारण व्यापार व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा, कम गुणस्तरीय वस्तु, अप्राकृतिक महँगी जस्तो अनेकन समस्या उपभोक्ताले झेल्नु परिरहेको छ ।
स्वदेशी पुँजी बाहिरिने : छिमेकी मुलुकहरूबाट भित्रिएको जनशक्तिले विभिन्न किसिमको व्यापार, कृषि, निर्माण आदि पेसा तथा व्यवसायमा संलग्न पाउँछौँ । तिनीहरूले यसरी व्यवसाय अर्थात् पेसा गरी आय आर्जन गरेको धनसमेत विदेश गइरहेका छन् ।
जनसङ्ख्या वृद्धि दर घट्दो : विदेश जाने युवा विदेशमा नै स्थायी रूपले बसोबास गर्ने क्रम बढिरहेको छ । युवा लर्काे लागेर विदेश गएका कारण साबिक रहेको जनसङ्ख्या तथ्याङ्कमा ठुलो ह्रास आएको अवस्था छ ।
समाधानका उपाय
कृषि क्षेत्रको सुधार : देशमा पर्याप्त रोजगारी सिर्जना गर्न सक्ने कृषि क्षेत्र प्रमुख हो । कृषि पेसामा असीमित अवसर र अपार सम्भावना रहेको छ । अतः यस पेसामा आय वृद्धि गर्न कृषि पेसालाई आधुनिकीकरण गर्दै प्रविधिकरण, व्यावसायीकरण र विश्वव्यापीकरण गर्न आवश्यक छ । देशलाई हरित कृषि क्रान्तिको माध्यमबाट देशले गुमाएको कृषिप्रधान देशको पगरीलाई पुनः स्थापित गर्न जरुरी छ ।
रोजगारी वृद्धि : दिन प्रतिदिन वैदेशिक रोजगारमा कहालीलाग्दो रूपमा वृद्धि भइरहेको अवस्थालाई न्यूनीकरण गर्न लक्षित वर्ग र लक्षित स्थानमा पर्याप्त रूपमा रोजगारको सिर्जना गर्नु पर्छ । कृषि, उद्योग, व्यापार, पर्यटन, जल विद्युत्, जडीबुटी, खानी आदि यस्ता अनेकौँ हाम्रा प्रचुर सम्भावनाका क्षेत्र हुन् । यी क्षेत्रहरूको प्रवर्धन तथा विस्तार गर्न जरुरी छ ।
शिक्षा क्षेत्रको सुधार : बाहिरिरहेका विद्यार्थीलाई रोक्न विद्यालयदेखि नै शिक्षालाई जीवनयापनका लागि प्रयोगात्मक अर्थात् व्यावहारिकतावादी बनाउन आवश्यक छ । न्यूनतम कलेज स्तरदेखि विश्वविद्यालयसम्मको शिक्षालाई आयसँग जोड्न आवश्यक छ ।
राजनीतिक ऐक्यबद्धता : राजनीतिक अस्थिरता र देशमा व्याप्त कुशासन र भ्रष्टाचारको कारण स्वदेशभित्र केही हुन सक्दैन भन्ने चरम निराशालाई आशावादी बनाउन राजनीतिक स्थिरता र सुशासन कायम गर्न राजनीतिक दलहरूले सामूहिक ऐक्यबद्धताका साथ लाग्नु पर्छ ।
नीतिमा पुनर्विचार : युवा वर्गलाई रोजगारीको नाममा होस् वा अध्ययनको बहानामा होस् युवालाई विदेश पठाउने नीति योजना नै युवा बिदेसिनुको प्रमुख कारण हो । अत स्वदेशभित्र नै अध्ययन र रोजगारको पर्याप्त अवसरको सुनिश्चितता गरेर विशेष परिस्थितिबाहेक युवालाई विदेश पठाउने कार्यमा सरकारले कडा नीति अवलम्बन गर्नु पर्छ ।
अस्थायी प्रवेश भिसा : हाम्रो देश विश्वका विशाल जनसङ्ख्या भएको चीन र भारत दुई देशबिचको एउटा सानो देश हो । यदि नेपालबाट शतप्रतिशत जनता यी दुवै देशमा जाने हो भने दुवै देशको भूमिमा रहेको ससानो दुलोमा तिनीहरू लोप हुन्छन् तर दुवै देशबाट एक प्रतिशत जनता मात्र नेपालमा भित्रिने हो भने करिब करिब हाम्रो कुल जनसङ्ख्याभन्दा बढी जनता भित्रिने छ । अतः हाम्रो देश नेपालले त्यो अकल्पनीय समस्या समाधानको निमित्त अस्थायी प्रवेश भिसाको व्यवस्था गर्न अत्यावश्यक छ ।
हामीले देश विकासका लागि विभिन्न योजना बनायौँ तर पनि आशातीत सफलता प्राप्त हुन सकेको छैन । यसो भन्दैमा फेरि हामी निरास भई हाल्नु पर्ने अवस्था छैन । किनभने धेरै लामो समय हाम्रो संस्कार, व्यवहार आचरण, नैतिकता, मानसिकता हाम्रो विकृत राजनीति र विकृत परिवेशद्वारा सुसूचित, निर्देशित, प्रशिक्षित भएको कारण हामीले गर्ने व्यवहारमा परिवर्तन आउन केही समय लाग्छ नै तर आज देशमा लोकतान्त्रिक गणतन्त्र व्यवस्था स्थापना भएको पनि १७ वर्ष भइसकेको छ । तथापि हामी आजसम्म लोकतान्त्रिक व्यवस्थाको मूल्यमान्यता अनुसार रूपान्तरित हुन सकेका छैनौँ । अतः हामीले देशलाई एउटा समृद्ध र विकसित देशको रूपमा रूपान्ततरण गर्ने हो, हामी सबैले लोकतान्त्रिक मूल्य मान्यता अनुसार आचरण र व्यवहारमा रूपान्तरण हुन अपरिहार्य छ ।