गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ८ गते । निजी क्षेत्रको लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले उच्च मूल्यको हवाई टिकट बन्द गरेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई टिकटको मूल्य बढेको जनगुनासो बढेपछि कम्पनीले ‘वाई’ क्लासको हवाई टिकट बिक्री बन्द गरेको हो ।
वाई क्लास भाडा नर्मल इकोनमी क्लासको उच्चतम श्रेणीको भाडादर हो ।
हिमालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन र नेपालमा सञ्चालनमा रहेका सबै अन्तर्राष्ट्रिय एयरलाइन्सको सहमतिमा सबै ग्रुप टिबिए बुकिङ निलम्बन गरेको, सबै ट्राभल एजेन्टलाई न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न सूचित गर्दै आएको प्रस्ट पारेको छ ।
कम्पनीले आफ्नो सिट क्षमताको परिधिमा रहेर भाडादर कायम गरेको जनाउँदै टिकटमा कालो बजारी रोक्न सबै ट्राभल एजेन्टलाई लगातार खबरदारी गर्दै आएको जनाइएको छ ।
पर्यटन मन्त्रालयले न्यूनतम दरमा मात्रै हवाई कम्पनीलाई टिकट बेच्न आग्रह गर्दै आएको छ । हिमालयले सिट वर्गीकरण अनुसार न्यूनतम टिकटको मूल्य, वर्तमान टिकटको मूल्य, ‘सरचार्ज’ र यात्रुलाई दिएको टिकटको मूल्य विवरण मन्त्रालयमा बुझाइसकेको छ ।