• ८ मंसिर २०८१, शनिबार

चिसापानीगढीमा आन्तरिक पर्यटक वृद्धि

blog

रामेछाप समाचारदाता

रामेछाप, मङ्सिर ८ गते । रामेछापको मन्थली नगरपालिका–८, चिसापानीमा पर्ने जिल्लाकै ऐतिहासिक चिसापानीगढी घुम्न आउने पर्यटक बढेका छन् । गढीमा स्थानीय र प्रदेश सरकारले विभिन्न संरचना निर्माण गरेसँगै शैक्षिक अवलोकन भ्रमणसहित घुम्न र मनोरम दृश्यावलोकन गर्न आउने आन्तरिक पर्यटक बढेका हुन् । 

पछिल्लो समय चिसापानीगढी घुम्न तथा अवलोकन गर्न आउने आन्तरिक पर्यटक बढेको चिसापानी गढी संरक्षण तथा विकास समाजका संरक्षक राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसापानीगढी जिल्लाकै ऐतिहासिक गढी हो । यहाँ पर्यटन विकासका लागि विभिन्न संरचना बन्ने व्रmम जारी छ । स्थानीय र प्रदेश सरकारले सिँढीसहितको पैदलमार्ग, मन्दिरलगायतका संरचना निर्माण गरेपछि यो गढी घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ ।”

उहाँका अनुसार स्थानीय घडीछापडाँडाबाट गढीसम्म बागमती प्रदेश सरकारको ४० लाख रुपियाँ बजेटबाट एक हजार ४४८ पाइलाको ४५० मिटर सिँढीसहितको पैदलमार्ग निर्माण गरिएको छ । साथै ३० लाख रुपियाँको लागतमा गढी संरक्षण तथा घेरबारलगायतको काम गरिएको छ । मन्थली नगरपालिका–८ वडा कार्यालयको छ लाख रुपियाँ बजेटमा गढीमा सिद्धबाबाको मन्दिर तथा ट्रस्ट निर्माण गरिएको छ । 

सिन्धुलीगढीको सहायक गढी चिसापानीगढीलाई नेपाल र अङ्ग्रेज युद्धका बेला नेपाली सेनाले प्रशिक्षण गर्ने थलोका रूपमा प्रयोग गरेको स्थानीयको भनाइ छ । नेपाल र अङ्ग्रेज युद्धको बेलाको भग्नावशेषसमेत रहेकाले चिसापानीगढीलाई महìवपूर्ण मानिन्छ । युद्धमा नेपाली सेनालाई चिसापानीगढीमा प्रशिक्षण दिएर युद्ध गर्न सिन्धुलीगढी पठाइएको स्थानीयको भनाइ छ । नेपाल र अङ्ग्रेज युद्धको बेलाको भग्नावशेषको संरक्षण गर्दै थप कुराको खोजी गर्ने क्रममा तरबारलगायतका सामग्री फेला पारी संस्थाको संरक्षणमा रहेको चिसापानीगढी संरक्षण तथा विकास समाजका संरक्षक श्रेष्ठले बताउनुभयो । 

चिसापानीगढीलाई केन्द्रमा राखेर मन्थली नगरपालिका–८, चिसापानी गाईखुराबाट भीमसेनस्थान मन्दिरसम्म बागमती प्रदेश सरकारको ६० लाख र मन्थली नगरपालिकाको ५० लाख रुपियाँ बजेटमा दुई किलोमिटर सिँढीसहितको पैदलमार्ग यसअघि नै निर्माण गरिएको मन्थली नगरपालिका पूर्वाधार विकास तथा अनुगमन शाखा प्रमुख डिल्ली अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसापानी गढीको संरक्षणसहित पर्यटन विकासका लागि धेरै पूर्वाधार बनिसकेका छन् । अहिले पनि पूर्वाधार बन्ने क्रम जारी छ । यो आर्थिक वर्षमा नगर–वडा साझेदारीमा ४० लाख रुपियाँबाट गढी क्षेत्रमा पूर्वाधार निर्माण हुँदै छ ।”