साधन घर्ती
म्याग्दी (दरबाङ), पुस ६ गते । म्याग्दी सदरमुका बेनीमा निर्माणाधीन ‘बेनी मिनी रङ्गशाला’मा प्याराफिट विस्तारको थालिएको छ । उक्त योजनाको मङ्गलबार बेनी नगरपालिका–७, का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले शिलान्यास गर्नुभयो ।
प्याराफिट निर्माणका लागि नगरपालिकाले चालु आर्थिक बर्षमा ५० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । उत्तरगङ्गा निर्माण सेवाले मङ्सिर पहिलो साता ३५ लाख ९३ हजार १०१ रुपियाँमा प्याराफिट निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
३५ मिटर लम्बाइमा चार तहको प्याराफिट बनाउन लागिएको बेनी नगरपालिकाका प्राविधिक गोपाल मगरले बताउनुभयो । यसअघि म्याग्दी नदीको किनारतर्फ एक सय पाँच मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाइएको छ ।
पर्खालमाथि करिब ५० मिटर प्याराफिट बनिसकेको छ । आगामी चैत महिनाभित्र काम सम्पन्न गर्ने सम्झौता छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले विनियोजन भएको ८ लाख रुपियाँ बजेटबाट कालीगण्डकी किनारतर्फ अधुरो पर्खाललाई पूर्णता दिने र माटोले पुरेर ‘फिलिङ’ गर्ने काम भैरहेको बताउनुभयो ।
अधुरो पर्खाल र प्याराफिट निर्माणका लागि हिउँद अधिवेशनबाट थप बजेट व्यवस्थापन गर्ने नगरप्रमुख केसीले बताउनुभयो । बेनीको खुल्ला मञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई वटा आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र बनेको थियो ।
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा ९ करोड रुपियाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो । फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुल्ला मञ्च हो ।
जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यहीँ हुने गर्छ । त्रिकोण आकारको मैदान हाल ८० मिटर लामो र ३८ मिटर चाक्लो छ । कालीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाइलाई ४५ मिटरको बनाउन लागिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्याराफिट बनाउन पिल्लर ठडाइएको छ । दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ । हाल नौ/नौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११/११ जनाको टिम खेलाउन सकिने वडा सदस्य सोहन श्रेष्ठले बताउनुभयो । वि.सं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट एक लाख रुपियाँ बजेट विनियोजन गरेर खुल्ला मञ्चलाई व्यवस्थित बनाउन सुरु गर्नुभएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयले वि.सं २०७१ मा ६ लाख ५० हजार र २०७३ मा ५९ लाख ६७ हजार रुपियाँ विनियोजन गरेको थियो । वि.सं २०७४ मा एक करोड रुपियाँ र २०७५/७६ मा ६० लाख रुपियाँ विनियोजन भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा बेनी नगरपालिकाले नौ लाख, अर्थ मन्त्रालयले ५० लाख, खेलकुद मन्त्रालयले ५० लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट ५० लाख रुपियाँ बजेट विनियोजन भएको थियो ।