• ९ मंसिर २०८१, आइतबार

विकास व्यवस्थापन

blog

विकास एउटा गतिशील सामयिक अपरिहार्य परिवर्तन हो। यो एउटा यस्तो सकारात्मक परिवर्तन हो, जसले समाजमा प्रगतिउन्मुख परिवर्तनको अपेक्षा राखेको हुन्छ। शाब्दिक अर्थमा विकासले यथास्थितिभन्दा उन्नत, पूर्ण, परिपक्व अपेक्षित अवस्थालाई जनाउँछ । विकासलाई साधारणतया आर्थिक वृद्धिको पक्षसँग हेर्ने र समाहित गर्ने गरेको पाइन्छ। यो एउटा परम्परागत तर बढी चलनचल्तीमा रहेको अवधारणा हो। अर्थशास्त्रीय अवधारणाले विकास भन्नाले कुल गार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति आयमा वृद्धिलाई विकास भन्ने गरेको छ भने समाजशास्त्रीय अवधारणाले आर्थिक वृद्धि सँंगसंँगै सामाजिक विकास हुनुपर्ने अपरिहार्य आवश्यकतालाई जोड दिएको छ। विकाससम्बन्धी अवधारणा मानव सभ्यताको विकासक्रमसँगै कुनै न कुनै रूपमा प्रचलित रहँदै आएको भए पनि पश्चिमी युरोपले १८औँ शताब्दीतिर अवलम्बन गरेको पुँजीवादी अवधारणाअन्तर्गतको आर्थिक समृद्धितर्फ उन्मुख हुने रणनीतिपछि विकासको अवधारणाले बढी मूर्त रूप पाउन थालेको देखिन्छ। 

सन् १९७० को दशकभन्दा अगाडिसम्म विकास आर्थिक विषयवस्तुसँग बढी सम्बन्धित थियो, जसले प्रतिव्यक्ति आय, कुल राष्ट्रिय उत्पादन, आर्थिक वृद्धिले सामाजिक उपादेयतामा पु¥याएको योगदानसँग सम्बन्धित रहेको थियो। तर १९८० को दशकको प्रारम्भसँगै विगतको यो अवधारणामा व्यापक परिवर्तन भएको पाइन्छ। यो परिवर्तित अवधारणाले विकास भनेको अर्थतन्त्रको विकास हो तर यसले गरिबी, असमानता र बेरोजगारी पनि हटाउन सक्नु पर्छ भन्ने मान्यतालाई बढी जोड दिएको छ। यसरी विकासलाई रोजगारी सिर्जनाको संयन्त्रको रूपमा समेत लिने गरिन्छ। विकास एउटा बहुआयामिक प्रक्रिया हो। यो आधुनिकीकरण तर्फको अग्रसरता, गतिशील परिवर्तन, नवप्रवर्तनसहितको उपलब्धिको समिश्रण हो। यो राजनीतिक आर्थिक सामाजिक प्रशासनिक नागरिक स्वतन्त्रता सांस्कृतिक पक्षसँग अन्तरसम्बन्ध राख्ने विषय पनि हो। विकास सामाजिक सद्भाव कायम राख्ने महत्वपूर्ण संयन्त्र पनि हो।

विकास व्यवस्थापन विकासले चाहेको अपेक्षित उपलब्धि प्राप्तिका लागि प्रक्षेपण, संरचना निर्माण, विकास कार्यको परिचालन र विकासको उपलब्धता गराउने एउटा सामूहिक प्रयासको संयुक्त स्वरूप हो। विकासका आवश्यकतालाई साधनस्रोतको उपलब्धताका आधारमा उपलब्धिमा रूपान्तरण गर्नुपर्ने र सामाजिक, प्राविधिक र अन्य सामयिक परिवर्तनको सन्दर्भमा विकासका प्रयासमा पनि तदनुरूप क्रमिक सुधार आउनुपर्ने विषय भएकोले विकास व्यवस्थापन एउटा जटिल विषय पनि हो। सामूहिक प्रयास, समावेशिता, साझा प्रयासको बीचमा तालमेल, साधनस्रोतको उपलब्धता र निरन्तर समन्वय यसका अन्तरवस्तुहरू हुन्। विकास व्यवस्थापन विकास प्रवाहको सकारात्मक तथा पूर्वसक्रिय अवधारणा हो। यसलाई विकास प्राथमिकताको चयन, कार्यान्वयन र उपलब्धि प्राप्तिमा सरोकारवाला बीचको सहस्वामित्व, सहभागिता र समावेशिताको साझा प्रयासको रूपमा समेत लिने गरिन्छ। विकास व्यवस्थापन विकास प्रयासका कार्यमा समन्वय र व्यवस्थापनसँग सम्बन्धित विषय हो।

विकास व्यवस्थापनको अवधारणा परम्परागत विकास प्रयासको अवधारणाभन्दा अलि फरक पनि छ। यो एउटा रणनीतिक व्यवस्थापन हो, जसले गरिबमुखी विकास, दिगो विकास, वातावरणमैत्री विकास प्रक्रियालाई मूल लक्ष्य बनाई विकास साझेदार, साधनस्रोत, आन्तरिक र बाह्य सहकर्ताबीच साझा र समन्वयात्मक प्रयासको सुव्यवस्थापनमा जोड दिई विकास प्रयासलाई पारदर्शी र समावेशी बनाउने प्रयास गर्छ। नयाँ सार्वजनिक व्यवस्थापन, व्यवस्थापनवाद, बजार संयन्त्रमा आधारित सार्वजनिक प्रशासन, विश्वव्यापीकरणले निम्त्याएका अवसर र चुनौतीको सन्दर्भमा विकास व्यवस्थापनको परम्परागत मान्यतामा सामयिक परिवर्तनको आवश्यकता बोध भएको हो। यस सन्दर्भमा विकास प्रयासले गरिब केन्द्रित विकास, गतिशील र प्रभावकारी सार्वजनिक निजी साझेदारी, सामाजिक समावेशीकरण, जलवायु परिवर्तन, वातावरणीय पक्ष, मानव अधिकारको संरक्षण, मानव सुरक्षा, सामाजिक सद्भाव, अन्य जीवित तथा गैरजीवित पक्षको अधिकारलाई सम्बोधन गर्नु आवश्यक मात्र होइन अपरिहार्य हुन गएको छ। विकास कार्यमा दक्ष जनशक्ति, वित्तीयलगायत अन्य साधनस्रोतको व्यवस्था, सूचनाको उपलब्धता, आन्तरिक र बाह्य विकास साझेदारको सहभागिता वैधानिक शक्तिको आवश्यकता पर्छ र विकास प्रयासले आर्थिक सामाजिक उन्नतिको अतिरिक्त उदीयमान अवधारणालाई सम्बोधन गर्नुपर्ने हुँदा विकास व्यवस्थापनले यी सबै पक्षको बीचमा सामन्जस्य कायम गर्ने गर्छ।

विकास आवश्यकताको जननी हो। विकास हर क्षेत्रका लागि अपरिहार्य आवश्यकता हो। यो यथार्थता रहेको भए पनि विकास प्रयासले सबै ठाउँमा एउटै रूपमा सार्थक परिणाम दिइनरहेको स्थितिमा विकासोन्मुख र विकसित देशको बीचमा रहेको द्रुत गति र मन्दगतिको विकासले सिर्जना गरेको खाडल न्यूनीकरण गर्ने उद्देश्यले एडवर्ड वाउडनर, फ्रेडरिग्स, जोसेफ ला पलमवोरा, अल्वर्ट वाटर स्टोन, आरभिङ स्वेडलोले विकास प्रशासनको अवधारणा अगाडि सारे। विकास व्यवस्थापन एउटा जटिल विज्ञान हो किनकि विकास व्यवस्थापनको अवधारणा परम्परागत विकास प्रयासको अवधारणाभन्दा अलि फरक छ। यो एउटा रणनीतिक प्रक्रिया हो, जसले विकासलाई गरिबमुखी, दिगो, वातावरणमैत्रीजस्ता पक्षलाई मूल केन्द्रबिन्दु बनाई विकास साझेदार, साधनस्रोत, आन्तरिक र बाह्य सहकर्ताबीच साझा र समन्वयात्मक प्रयासको सुव्यवस्थापनमा जोड दिई विकास प्रयासलाई पारदर्शी र समावेशी बनाउने प्रयास गर्छ।

विकासको दायरालाई विस्तार गर्ने क्रममा विश्वको प्रशासनिक र आर्थिक आयाममा आएको परिवर्तनको सन्दर्भमा महिला सहभागिता, समावेशी विकास, सीमान्तकृत वर्गको उत्थान, दिगो विकास र पर्यावरण, गरिबी निवारण, आर्थिक उदारीकरणको सन्दर्भमा विकास प्रयासमा सरकार र साझेदारहरूको भूमिका निर्धारणजस्ता अन्तरसम्बन्धित विषय समसामयिक विषयको रूपमा देखिएका छन्। तसर्थ, अबको विकास प्रयास भनेको देश विशेषको यथार्थताअनुरूप विकासको उपस्थिति अनुभव गर्न नपाइएको क्षेत्रमा विकास प्रयासको शीघ्र सुरुवात, विकास प्रयास थालनी भएका क्षेत्रमा विकास प्रयासलाई सामाजिक आर्थिक मापन सूचकाङ्क अनुकूल बनाई आत्मसन्तुष्टिको प्राप्तिको तहमा पु¥याउने र विकासका सामयिक विषयहरूलाई विकास प्रक्रियाले सम्बोधन गर्ने गरी अगाडि बढ्ने रणनीति लिनुपर्ने आवश्यकता देखिन्छ।

वि.सं. २००७ को राजनीतिक परिवर्तन, २००४ साल र २००८ सालबाट सुरु भएको संवैधानिक विकासपछि नेपाल विकास प्रयासतर्फ अग्रसर हुन थालेको हो। २००८ सालबाट बजेट ल्याउने प्रथाको सुरुवातबाट देशले वार्षिक वित्तीय नीतिमार्फत विकास कार्य सञ्चालन गर्न थालेको हो। २०१३ सालबाट सुरु भएको आवधिक योजनाको सुरुवातपश्चात् विकास प्रक्रियाले थप गति लिने अवसर पाएको हो। २०१३ सालमै निजामती सेवा ऐनको व्यवस्था भएबाट प्रतिस्पर्धी, दक्ष, निजामती कर्मचारी सरकारी सेवा प्रवाहको संयन्त्र तथा विकास कार्यको योजना निर्माण, रणनीति निर्माण र कार्यान्वयन गर्ने स्थायी अङ्गको रूपमा स्थापित हुन पुगे। विकासका भिन्न आयामबीच उचित सामन्जस्यता राखी विकासको उच्चतम प्रतिफल प्राप्तिका लागि विकास व्यवस्थापन एउटा समन्वयकारी प्रक्रिया भएकाले विकास योजनाको तर्जुमा, कार्यान्वयन, विकासका आन्तरिक र बाह्य सहकर्तासँगको सहकार्यलाई राष्ट्र विशेषको यथार्थ परिवेश र सन्दर्भअनुरूप विकासको प्रतिफल प्राप्त हुनुपर्छ भन्ने सर्वस्वीकार्य मान्यता हो, तथापि विकासका लागि आवश्यक रणनीति र कार्यान्वयन तत्परता रहँदारहँदै पनि विभिन्न कारणले विकास कार्यक्रमले अपेक्षा गरेअनुरूपका उपलब्धि प्राप्त गर्न कठिनाइ हुने र यसको दिगोपनाको सुनिश्चिततामा समस्या आउने गर्छन्। विकास व्यवस्थापनको मूल दायित्व भनेको यस्ता समस्याबारे पूर्वसचेतना अपनाइ विकासलाई सार्थक बनाउनु हो।

नेपालको सन्दर्भमा नेपालको विकास रणनीति मूलतः राज्य निर्देशित विकास रणनीतिमा आधारित भए पनि विकासका अन्य वैकल्पिक तथा व्यवहारमूलक रणनीतिहरूको समेत सम्मिश्रण रहेको सन्दर्भमा यी सबै पक्षको साझेदारी महत्वपूर्ण बनाउनु नै हो। यसको अतिरिक्त संस्थागत सुदृढीकरण, नीतिगत व्यवस्थाको प्रभावकारिता अभिवृद्धि, अन्तर्राष्ट्रिय साझेदारीबाट बढी लाभान्वित हुने स्थितिको सिर्जना, विकासका समयानुकूल प्राथमिकता र प्रारूपको चयनमा विशेष गम्भीरता देखाउनेजस्ता व्यवस्थापकीय आयाममा सुधारको आवश्यकता देखिन्छ।