समाज सामाजिक दर्पण हो । जसरी ऐनाको अगाडि उभिँदा जस्ताको त्यस्तै आफ्नो प्रतिविम्ब देखिन्छ । त्यसै गरी नै समाजभित्रका संरचनाका जालोको प्रतिविम्ब छर्लङ्ङ बुझ्न सामाजिक दर्पणको आवश्यकता पर्छ । समाज व्यवस्थित र निरन्तरताको प्रक्रियाबाट अगाडि बढिरहँदा दुई महत्वपूर्ण पाटाको भूमिका हुन्छ । एउटा पुरुष र अर्को महिला । महिला र पुरुषको बराबरी भूमिकाको उपज नै आजको सिङ्गो संसार हो । तथ्याङ्क र दस्ताबेजलाई आधार मानेर हेर्दा समाजको प्रारूप प्रस्ट हुन आउँछ । जब महिला शिक्षा, स्वास्थ्य, राजनीतिक, प्रशासन, विज्ञान, कृषि, उद्योग व्यवसायलगायतका क्षेत्रमा समान रूपमा सहभागी हुन्छन् तब समाजमा सन्तुलन र परिवर्तन आउँछ भन्ने कुराको पुष्टि गरेको पाइन्छ । उदाहरणका रूपमा नर्वे, स्विडेन, आइसल्यान्ड जस्ता देशमा महिला र पुरुषबिच समानता छ । त्यस्ता देश विश्वकै समृद्धशाली देश बनेका छन् । विश्वव्यापी रूपमा उजागर भइरहेको सशक्तीकरणको सबैभन्दा महत्वपूर्ण आयाम नै आर्थिक सशक्तीकरण हो । नेपाल जस्तो परम्परागत समाजमा यो विषय झन् संवेदनशील देखिन्छ । विश्व बैङ्कका अनुसार महिला र पुरुषको श्रम शक्ति, सहभागिता र योगदान बराबर हुन्छ भने ती देशको सामान्य घरेलु उत्पादन दर २५–३० प्रतिशतले वृद्धि भएको प्रमाण छ ।
यसै गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा छोरा सरह नै छोरीलाई पनि अवसर प्राप्त हुने हो भने उनीहरू डाक्टर, इन्जिनियर, वैज्ञानिक र सफल उद्यमी बनेर समाज परिवर्तनका रेखा कोर्न सक्छन् । जब महिलालाई पनि स्वनिर्णयको अधिकार दिइन्छ भने जनसङ्ख्याको वृद्धिदर नियन्त्रण हुन्छ । स्वस्थ परिवार र समाज हुँदै राष्ट्रसमेत निरोगिताको घेरामा पर्न सफल हुन्छ । त्यसै गरी नै महिला राजनीतिमा समावेशिताको महत्वपूर्ण भूमिकामा स्वनिर्णय लिने तहमा पुग्छन् भने ती देशमा नीति तथा कार्यक्रम पनि समावेशी र दिगो विकासकेन्द्रित हुन्छन् । उदाहरणकै रूपमा न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डन जसले समावेशी नेतृत्वको उत्कृष्ट नमुना दिएर विश्वसामु परिचित हुनुभएको छ ।
त्यसै गरी लैङ्गिक समानतामा अग्रसर हुने देशको उन्नति अन्य देशको तुलनामा अगाडि छ । मानव विकास सूचकाङ्कको तथ्याङ्कका आधारबाट हेर्दा समान सहभागिता र समानतामा अग्रसर भएको देश विकासको दृष्टिले अग्रस्थान प्राप्त गर्न सफल भएका छन् । यी देशमा सामाजिक सुरक्षा, स्वास्थ्य, आर्थिक सशक्तीकरण र राजनीतिक सहभागिता उच्च रहेको पाइएको छ । समान सहभागिताले राष्ट्रमा आर्थिक समृद्धि, दिगो विकास र परिवर्तनका रेखा कोर्ने कडीका रूपमा रहेको पाइन्छ । लैङ्गिक समानताको सिद्धान्तलाई अनुसरण गर्ने राष्ट्रले समानता नै शक्ति र दिशानिर्देश हो भन्ने कुरा प्रमाणित गरेका छन् ।
नेपाली महिलाको आर्थिक सशक्तीकरणको मेरुदण्ड के होला ? कागजी रूपमा प्रमाणित र लिपिबद्ध भएका धेरै नारा, नीति र प्रचलित भाष्य होलान् तर व्यावहारिक पक्षबाट हेर्दा ती नारा र तर्क पूर्ण कार्यान्वयनका लागि जटिल परिस्थिति छन् । समानताको सिद्धान्तका अधारबाट हेर्दा अनेकौँ चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । आर्थिक सशक्तीकरणसँग जोडिएका पक्ष नै सबैभन्दा महत्वपूर्ण पाटो देखिन्छ । सशक्तीकरणको महत्वपूर्ण आयाम नै आर्थिक सशक्तीकरण हो । जबसम्म महिला आफ्नै आम्दानी, रोजगारी र सम्पत्तिमा पहुँच पूर्ण रूपले प्राप्त गर्न सक्दैनन् तबसम्म आत्मनिर्भर बन्न सक्दैनन् । नेपालको सन्दर्भमा प्रमाणित तथ्यकै आधारबाट हेर्दा परनिर्भरतामा जकडिएको परम्परागत समाज रहेको छ । आर्थिक सशक्तीकरणका लागि महिलालाई आयआर्जन गर्न सक्ने क्षमताको वृद्धि गराउन जरुरी छ । महिलालाई आत्मनिर्भर बनाउन सक्ने प्रक्रिया र स्वआर्जन गर्न सक्ने क्षमताको वृद्धि विकास गर्नु नै आर्थिक सशक्तीकरणको महत्वपूर्ण पक्ष हो । आर्थिक विकासको मोडेल र संरचनाको परिमार्जनमा क्रमिक सुधार ल्याउन जरुरी छ ।
नेपालको जनगणनाको तथ्याङ्क अनुसार कुल जनसङ्ख्यामध्ये आधाभन्दा बढी महिलाको जनसङ्ख्या रहेको पाइन्छ । २०७८ सालको जनगणना अनुसार कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० मध्ये महिलाको सङ्ख्या एक करोड ४९ लाख एक हजार १६९ (५१ प्रतिशत) रहेको तथ्याङ्क छ । महिलाको जनसङ्ख्या अनुसार पुरुषको तुलानामा महिलाको पहुँच समाजको हरेक पक्षमा पछाडि रहेको पाइन्छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको रिपोर्ट अनुसार नेपालमा महिला ८० प्रतिशतभन्दा बढी बिनापारिश्रमिक घरायसी कार्य र कृषि क्षेत्रमा आबद्ध रहेको पाइन्छ । महिला दैनिक १८ घण्टाभन्दा बढी सक्रिय हुन्छन् । आफ्ना बहुमूल्य समय घरायसी काममा निःशुल्क व्यतीत गर्नुपर्ने बाध्यता छ । सामाजिक, व्यावहारिक कर्तव्य र संस्कारका नाममा आफूलाई दैनिक आहुति गर्न परेको तथ्याङ्क, प्रमाण र यथार्थ हामी सबैको माझमा व्याप्त छ ।
महिलाको भाग्यमा ८० प्रतिशत पसिना बगाउँदा पनि हातमा शून्य । सधैँ परनिर्भरताको पर्खालभित्र परम्परागत सोचमा बाँधिनुपर्ने बाध्यताले आर्थिक पहुँचको अभावबाट गुज्रिरहनुपर्ने बाध्यता छ । तथ्याङ्ककै आधारबाट हेर्दा महिलाको साक्षरता दर ६९.४ प्रतिशत र पुरुषको साक्षरता दर ८३.६ प्रतिशत रहेको छ । आर्थिक स्थिति अन्तर्गत श्रमशक्तिमा सहभागिता १५ वर्षमाथि ७८.६९ प्रतिशत र औपचारिक रोजगारीमा संलग्न ३० प्रतिशतभन्दा कम छ । कुल महिला उद्यमी २५ प्रतिशत मात्र छ भने शिक्षाको अभावले महिलाको आर्थिक पहुँचमा गहिरो प्रभाव गरेको देखिन्छ । साथै आत्मविश्वास र रोजगारीको उचित अवसरबाट वञ्चित हुनुपर्ने बाध्यता छ, अनि कहाँबाट सशक्त हुन्छन्, महिला ।
नेपालको राजनीतिमा महिला सशक्तीकरणका लागि मार्गचित्र कोर्न सफल महिला नेताको उल्लेखनीय भूमिका रहेको पाइन्छ । सशक्तीकरणको मार्गमा अधिकारका आवाज उठाउने प्रेरणादायी कार्य गरेका छन् । महिला सशक्तीकरणको भूमिकाबाट सहभागिताको गोरेटो पहिल्याउँदै समानताको घेराभित्र समाहित हुँदै गएका छन् । महिलाको आर्थिक विकासका लागि रोजगारीमा अवसर उद्यमशीलतामा दक्षता, महिला सिप केन्द्र सञ्चालन, लैङ्गिक विभेद, लैङ्गिक बजेटको प्रावधान अनिवार्य छ । महिला हिंसाविरुद्ध सुरक्षित वातावरण निर्माण, शिक्षाको स्तरोत्तर वृद्धि आदि जस्ता कुरामा परिमार्जन नभई समग्र रूपमा विकास हुँदैन । त्यसैलै आर्थिक सशक्तीकरण केवल महिला हितको कुरा मात्र होइन परिवार, समाज र सिङ्गो राष्ट्रको दिगो विकासको मेरुदण्ड आधा आकाश ढाकेका महिला हुन् । एउटा रथका दुई पाङ्ग्रामध्ये एउटा पुरुष र अर्को महिला पर्छन् । रथलाई गन्तव्यमा सकुशल अवतरण गर्न दुई वटै पाङ्ग्राको बराबरी भूमिका रहन्छ । यो भनाइ केवल उपमा मात्र होइन समाज सञ्चालनको गहिरो यथार्थ हो । दुवैको समान सहभागिताले मात्र दिगो प्रगति सम्भव हुन्छ ।
महिलालाई समान सहभागितामा सामेल गरी शिक्षा, स्वास्थ्य, रोजगारीमा समान पहुँच र निर्णयमा सहभागी गराउन आवश्यक छ । केवल पुरुषको भूमिका मात्र सशक्त बनाइयो भने समाज असन्तुलित र अविकसित हुन जान्छ । जब महिला र पुरुष समान रूपमा सहभागी हुन्छन् भने शिक्षा, व्यवसाय, राजनीतिक, प्रशासन र आर्थिक उन्नतिमा सशक्त बन्छन् भने मात्र समृद्ध समाजको निर्माण हुन्छ । दिगो विकासको मार्गचित्र अगाडि बढ्छ । नेपाल जस्तो अर्धविकसित र कृषिप्रधान देशमा महिलाको श्रम ठुलो मात्रामा प्रयोग भएता पनि तिनको योगदान अझै अदृश्य छ । महिलालाई शिक्षा, सिप, स्रोत र अवसरमा समान पहुँच दिएर मात्र वास्तविक आर्थिक सशक्तीकरण सम्भव छ । महिला बजेट नीति तथा कार्यक्रम, सामाजिक सोचाइमा परिवर्तन ल्याई महिलालाई आत्मनिर्भर र सम्मानित आर्थिक नागरिक बनाउनु आजको अपरिहार्यता हो, परिवर्तित समाजको मार्गचित्र पनि यही नै हो ।
सङ्घर्षशील युगमा परिवर्तनको मार्गचित्र कोर्न ती महान्, साहसी, प्रेरणाका खानी महिला समयको अन्तरालसँगै नारी सङ्घर्षका पाइला फड्को मार्ने क्रममा अगाडि बढेका पाइन्छ । परिवर्तित समाज र समयको रेखाभित्र नेपाली महिलाको जीवनशैलीमा केही सकारात्मक परिवर्तन आएका छन् । महिला सशक्तीकरण, हक र अधिकारका लागि समय समयमा परिवर्तनका आयामको रेखा कोर्न सफल भएका छन् । महिलाका मार्गचित्र कोर्न सफल मध्ये केही नेपाली विराङ्गना महिला जस्तौ द्वारिकादेवी ठकुरानी, योगमाया न्यौपाने, मङ्गलादेवी सिंह, शैलजा आचार्य, विद्या भण्डारी हुन् । महिलाले आआफ्नो समयमा महिलाकै हक अधिकार र सशक्तीकरणकै लागि आवाज उठाएको पाइन्छ । समाजप्रति आफ्नो योगदानले गर्विलो इतिहास कायम गरी आजको युगमा सशक्त महिलाको भूमिकाको मार्गचित्र कोर्न सफल भएका आदर्श महिला हुन् ।
महिला सशक्तीकरण केवल उनीहरूको अधिकारका लागि मात्र होइन समग्र देशको प्रगति र समृद्धिको लागि पनि अपरिहार्य छ । महिलालाई समान अवसर र अधिकार दिनु भनेको देशको भविष्य सुनिश्चित गर्नु हो । जब महिलालाई समान अवसर प्राप्त हुन्छ, उनीहरूले समाजमा सुधार ल्याउनका लागि आफूलाई समर्पित गर्ने छन् । यसले समग्र देशको सामाजिक र आर्थिक स्थिति सुधार्न मद्दत पु¥याउने छ । समृद्ध समाज निर्माण गर्न महिला र पुरुषको भूमिका समान हुनु पर्छ । महिलाले समानताका लागि गरिएको सङ्घर्षले हाम्रो समाजलाई अझ समावेशी बनाउने महत्वपूर्ण कदम हो । हाल महिला सरोकारका समस्या संविधानमा व्याख्या गरिएका भए पनि संविधानसँग बाझिने प्रावधानको उपयुक्त सम्बोधन हुने गरी व्याख्या गर्न सबै सरोकारवालाको सचेत पहल आवश्यक छ ।