• १३ साउन २०८१, आइतबार

अर्जेन्टिनालाई बधाई

blog

२२औँ संस्करणको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले चुमेको छ। आइतबार राति कतारमा आयोजित सनसनीपूर्ण फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी पूर्वविश्वकप विजेता फ्रान्सलाई हराउँदै फुटबलको महाशक्ति राष्ट्र अर्जेन्टिनाले तेस्रो पटक उपाधि चुमेको हो। उत्कृष्ट खेल प्रदर्शन गर्दै विश्वविजेता बन्न सफल भएकोमा अर्जेन्टिनालाई यतिबेला बधाईको ओइरो नै लागेको छ। योसँगै यस पटकको विश्वकप फुटबलको खेल संस्करण पूरा भएको छ। झन्डै एक महिनासम्म जारी यो प्रतियोगितामा विश्वका ३२ राष्ट्रको सहभागिता थियो। विश्वभरका अर्बौं दर्शकले उत्साहपूर्वक हेरेको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई निकै रोमाञ्चक तथा सनसनीपूर्ण खेलमा ४–२ गोलको अन्तरले हराएर विश्वविजेता बन्ने आफ्नो सपनालाई साकार पा¥यो। निर्धारित ९० मिनेटको खेल, अनि ३० मिनेटको अतिरिक्त समयमा समेत हारजितको टुङ्गो नलागेको फाइनल खेल अन्तत टाइब्रेकरका आधारमा मात्र छिनोफानो हुन सक्यो। 

फाइनल खेलमा दुवै टिमले आफ्नो बलबुताले भ्याएसम्म उत्कृष्ट खेल कौशल प्रदर्शन गरे। कतारको लुसैल रङ्गशालामा प्रत्यक्ष खेल हेर्न उपस्थित हजारौँ दर्शक र टेलिभिजनको पर्दाबाट हेरेका दर्शकलाई खेल अनुपम मनोरञ्जन दिनमा दुवै टिमले कुनै कसर बाँकी राखेनन्। खेलमा अर्जेन्टिनाले पहिलो हाफमा नै दुई गोलको अग्रता लिइसकेको अवस्थामा फ्रान्सले दोस्रो हाफको अन्तिमतिर ९७ सेकेन्डभित्र दुई गोल फर्काएर खेलमा पुनरागमन गरेर सनसनी मच्चाएको थियो। छिटो दौडने भनेर निकै ख्याति कमाएका फ्रान्सका चर्चित खेलाडी एमबापेले खेललाई फेरि लयमा फर्काएका थिए। खेल अर्जेन्टिनाले जिते पनि फ्रान्सले समेत धेरै नै वाईवाई पायो। दुवै टिमले विश्वका करोडौँ दर्शकको मन जित्न सफल भए। 

अर्जेन्टिनाका निम्ति यो विश्वकपको तेस्रो पटकको उपाधि हो। यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि आफ्नो पोल्टामा पारिसकेको थियो। यस पटकको विश्वकप उपाधि अर्जेन्टिना तथा विश्वभरका लियोनेल मेसीका प्रशंसकका निम्ति निकै विशेष मानिएको छ। किनकि विश्व फुटबलकै राजाका रूपमा लिइने अर्जेन्टिनाका खेलाडी मेस्सीको यो सम्भवतः अन्तिम विश्वकप पनि हुन सक्छ। यद्यपि विश्वकप उपाधि लिएपछिको प्रतिक्रियामा उनले तत्काल खेलबाट सन्न्यास नलिने र विश्वविजेताकै जर्सीमा खेल्ने प्रतिक्रिया दिएका छन्। जे होस् आफ्नो राष्ट्रलाई विश्वकप जिताउने उनको सपना पूरा भएको छ। भलै उनले विश्वका लगभग सबैजसो फुटबल प्रतियोगिता जितिसकेका थिए। यो विजयसँगै मेसी विश्व फुटबलका सम्राट बनेका छन् र सम्भवतः विश्व फुटबलमा उनले नयाँ इतिहास रचेका छन्। यस संस्करणको सर्वोकृष्ट खेलाडीको उपाधिका साथै अन्य विभिन्न रेकर्ड राख्न पनि सफल भएको यहाँ स्मरणीय छ। मेसीकै मार्गदर्शन तथा प्रेरणामा दक्षिण अमेरिकी मुलुकले विश्व विजेताको उपाधि चुम्न सफल धारणा राख्ने खेलप्रेमी धेरै छन् र यसमा वास्तविकता पनि छ। अर्जेन्टिना विश्व फुटबलको शक्तिशाली टिमका रूपमा निकै अघिदेखि नै परिचित हुँदै आएको हो। यसअघि अर्जेन्टिनाका महानतम खेलाडी डियगो म्याराडोनाको फुटबल कौशल तथा खेलशैली विश्वभर नै प्रख्यात छ। सन् १९८६ को विश्वकप फाइनलमा म्यारोडोनाले हातले गरेको गोल अझै पनि खेल जगत्मा निकै चर्चा छ। 

विभिन्न कारणले गर्दा कतार विश्वकप एसिया र नेपालीका निम्ति पनि स्मरणमा रहिरहने देखिन्छ। यस पटकको विश्वकप फुटबल एक एसियाली राष्ट्र कतारको आयोजनामा सफलतापूर्वक सम्पन्न भएको छ। यो समग्रमा एसिया महादेशका निम्ति हर्षको विषय हो र कतार बधाईको पात्र। साथै यस पटक एसिया महादेशको प्रदर्शन पनि हालसम्मकै उत्कृष्ट मान्न सकिन्छ। जापान, दक्षिण कोरिया तथा अस्टे«लियाले एसियाको प्रतिनिधित्व गर्दै विश्वकपको क्वाटरफाइनल खेल खेले, जुन एसियाका निम्ति हालसम्मकै सर्वाधिक 

राम्रो नतिजा हो। 

विश्व फुटबलको महाकुम्भलाई कतारले सफलतापूर्वक सम्पन्न गर्न यहाँका विश्वप्रसिद्ध रङ्गशाला निर्माणमा नेपाली श्रमिकहरूले बगाएको रगत, पसिनाको पक्कै पनि स्मरण हुने नै छ। जसको मेहनतबिना यो विश्वकप असम्भवप्रायः नै थियो। यस अर्थमा विश्वकपको सफल आयोजनामा नेपाललाई पनि कुनै न कुनै अर्थमा हकदार मान्न सकिन्छ। कतारका विशाल रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका नेपाली श्रमिकको योगदानको कदर हुनै पर्छ। उनीहरूका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्ने सम्बन्धमा कतार सरकारका अतिरिक्त विश्व फुटबल महासङ्घ फिफाले समेत उपयुक्त निर्णय गर्न चुक्नु हुँदैन। सम्बद्ध निकायबाट यस विषयमा आवश्यक पहल हुने नै छ।