• ८ पुस २०८१, सोमबार

बाढी प्रभावितलाई राहत वितरण

blog

बाढी पीडितलाई राहत प्रदान गर्दै किर्डाक नेपाल । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, पुस ४ गते । गत असोजमा परेको पानीवाट प्रभावित परिवारलाई राहत वितरण गरिएको  छ । लगातार पाँच दिनसम्म परेको पानीका कारण आएको बाढी र पहिरोमा परेर ज्यान गुमाएका, घर क्षति भएका परिवारलाई गैरसरकारी संस्था किर्डाक नेपालले राहत वितरण गरेको हो । 

संस्थाद्वारा सञ्चालित विभिन्न कार्यक्रमबाट बजेटको व्यवस्थापन गरेर किर्डाकले कालीकोटका तीन सय ४० परिवारसहित जुम्ला र मुगुसहितका गरी जम्मा नौ सय ४० बाढी प्रभावित परिवारलाई जनही १३ हजार पाँच सयका दरले राहत वितरण गरेको छ । 

किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले संस्थामा कार्यरत कर्मचारीका साथै विभिन्न कार्यक्रमबाट बजेट व्यवस्थापन गरेर कालीकोटका तीन सय ४० घर परिवार, जुम्ला र मुगुका छ सय घरपरिवारसहित जम्मा नौ सय ४० घर परिवारलाई जनही १३ हजार पाँच सयका दरले एक करोड, २६ लाख ९० हजारको खाद्यान्न, लुगा कपडा प्रदान गरिएको बताउनुभयो । 

कालीकोटको खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जसीप्रसाद चौलागाईँले आफ्नो नगरपालिका भित्रका एक सय ४० जनालाई राहत उपलब्ध गराएकोमा किर्डाकलाई धन्यावाद दिनुभयो । 

कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले निर्वाचनताका एकद्वार प्रणाली जिल्ला प्रशासनबाट राहत वितरण गरिए पनि निर्वाचनपछि भने स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण भइरहेको बताउनुभयो ।