• ९ मंसिर २०८१, आइतबार

बाँदरको आक्रमणबाट महिला घाइते

blog

बाँदरको आक्रमणबाट घाइते हुनुभएकी महिला मीना भट्ट । तस्बिर सौजन्यः सत्यदेव भट्ट

गोकर्ण दयाल 

बैतडी, पुस ४ गते । भान्सा कोठामा खाना पकाइरहेका बेला खाना खोस्न आएका बाँदरले आक्रमण गर्दा  बैतडीमा एक महिला घाइते हुनुभएको छ । घाइते महिलाको टाउकोमा छ वटा टाँका लगाइको छ । 

बैतडीको दोगडाकेदार गाउँपालिका –४, पीपलकोटकी ५० वर्षीय मीना भट्ट सोमबार बिहान ११ः३० बजे भान्सा कोठामा खाना पकाइरहेका बेला बाँदरले आक्रमण गरेको थियो । बाँदरको झुण्ड खाना खोस्न भान्सामा पसेकाबेला प्रतिकार गर्दा बाँदरले आक्रमण गरेर गम्भीर घाइते बनाएको पीडित महिलाका देवर सत्यदेव भट्टले बताउनुभयो ।  

उहाँले भन्नुभयो, “बाँदरले टोक्दा भाउजूको टाउकोमा गहिरो चोट लागेको छ । स्थानीय पीपलकोट स्वास्थ्य चौकीमा उहाँको प्राथमिक उपचार गरिएको छ । रेबिजविरुद्धको सुई लगाउन र थप उपचारका लागि जिल्ला अस्पताल जाने तयारीमा छौंं ।”

मानव बस्तीमा बाँदरले आतङ्क मच्चाउन थालेपछि बैतडीको दोगडाकेदार –४, का स्थानीय त्रसित बनेका छन् । दोगडाकेदार गाउँपालिकासँगै जोडिएको बैतडीको दशरथचन्द नगरपालिकाका स्थानीयवासी पनि बाँदरका कारण पीडित बनेको बताएका छन् । दशरथचन्द नगरपालिका–४, ५, ६, ८ र १० नम्बर वडाका अधिकांश गाउँ बाँदरका कारण रित्तिएको मोहित भण्डारीले बताउनुभयो ।

भारतले हरिद्वारका बाँदर गाडीमा राखेर बैतडी जिल्लाको महाकाली छेउमा छोड्दा ती बाँदरले बैतडीको दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकामा आतङ्क मच्चाएको किसानको गुनासो छ । 

बाँदर नियन्त्रणका लागि स्थानीय तहको सरकारसँग पटक–पटक माग गर्दा कुनै सुनुवाइ नभएपछि वडा कार्यालयमा तालाबन्दी गरेर प्रशासन कार्यालयमा धर्ना दिए पनि बाँदर नियन्त्रणका लागि सरोकारवाला निकायको ध्यान नगएको स्थानीयको गुनासो छ । 

बाँदरका कारण दशरथचन्द नगरपालिकाका धौल्याली, साङडी, पुजरगाउँ, त्रिपुरा, पल्लाचौडाली, आइत, भटाला, झाका, बुड्डा, खडेनी लगायत गाउँबाट सयौँ परिवार विस्थापित भएका छन् । बारीमा लगाएको खेती र भान्सामा पकाएको खानेकुरा समेत बाँदरले खोसेर खान थालेपछि दशरथ चन्द नगरपालिका– ८, धौल्याली गाउँका टेकराम टमटा, चन्द्री टमटा र शिवराम टमटाको पुरै परिवार भारत पलायन भएपछि उहाँको घर सुनसान बनेको छ ।

बाँदरकै कारण बैतडीको दोगडाकेदार गाउँपालिका–४, का किसानले खेतीपाती गर्न छोडेको हरिसरण भट्टले बताउनुभयो । “खेतमा लगाएको अन्नबाली बाँदरले सखाप पार्दा किसानले खेती गर्न छोडिसके”, दोगडाकेदार गाउँपालिका–४, का किसान इन्द्रदेव भट्टले भन्नुभयो, “छरेको बीउ बराबर पनि अन्न नपाउँदा खेती गर्न छोडेका हौँ । बजारबाट ल्याएको खाद्यान्न पनि बाँदरको झुण्डले घरभित्रबाटै झम्टेर लैजान थालेपछि उठिबास हुने अवस्था आएको छ ।”