बाजुरा समाचारदाता
बाजुरा, पुस ४ गते । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा–५ को डोगडी बस्ती बाढीपहिरोको जोखिममा छ। डोगडी बस्तीको वरिपरि रहेका सिमगाड, भुजनगाड, चौलाह खोलाले बर्सेनि जमिन काट्दै गएपछि त्यो बस्ती जोखिममा रहेको हो।
खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका स्थानीय पदम सार्कीले भन्नुभयो, “गाउँकै अगाडि सिउगाड र चौलाह खोला छ। हिउँदमा ती खोलामा पानी थोरै हुन्छ।
त्यसले खासै केही असर गर्दैन। जब वर्षा लाग्छ अनि खोला पनि उर्लेर आउँछ, खोला उर्लेर आएपछि गाउँ नै जोखिममा पर्छ।” उहाँले साउन र भदौ महिनामा भएको अत्यधिक बर्सातका कारण जमिन कटान भएपछि अहिले डोगडीकै बस्ती जोखिममा रहेको बताउनुभयो। भदौमा पारतोलामाथिबाट आएको पहिरोले गाउँ नजिकै रहेको स्वास्थ्य चौकीसमेत पुरेको थियो।
स्वास्थ्य संस्था पहिरोको जोखिममा परेपछि स्थानीयवासी उपचार गर्न जानै डर मान्न थालेका छन्। त्यति मात्र होइन, बाढीले त्यस आसपासको सबै क्षेत्र कटान गर्दै आएको छ। कति बेला बाढीले घर नै बगाउने हो भन्ने डरैडरमा त्यहाँका स्थानीयवासीले वर्षाका रात कटाउनु परेको छ।
गाउँपालिकाको कार्यालय पनि डोगडी बस्तीमै छ। सोही बस्तीमा विभिन्न सरकारी तथा गैरसरकारी बैङ्क र वित्तीय संस्था छन्। छेडेदह गाउँपालिका–५ को यो डोगडी बस्तीमा झन्डै एक हजारभन्दा बढी घरपरिवार बसोबास गर्दै आएका छन्।
गाउँबस्ती बाढीपहिरोको जोखिममा भएपछि अब कता गएर घरबासको व्यवस्था गर्ने भन्ने यहाँका स्थानीयवासीलाई अहिले निकै चिन्ता परेको छ। छेडेदह गाउँपालिका–५ का वडाध्यक्ष जितबहादुर रावतका अनुसार सिउन गाड, भुजन गाड, सिदुरे गाड, चौलाह खोलाको बीचमा डोगडी बस्ती रहेको छ। पछिल्लो समय बाढीपहिरोका कारण यो बस्ती जोखिममा रहेको बताउनुभयो। २०७८ सालमा सिउन गाडको पाँच सय मिटर तटबन्धन गरिएको छ। यो वर्षको बाढीले त्यसलाई फेरि क्षति गरेपछि अहिले फेरि डोगडी बस्ती जोखिममा रहेको छ। वर्षाको बाढीपहिरोले डोगडी बस्तीको झन्डै १५० रोपनी जमिन बगाएको छ। जसका कारण यहाँका स्थानीयवासीलाई खेती गर्ने जमिनको अभाव भइरहेको
अध्यक्ष रावतले बताउनुभयो।
पहिरो रोकथाम तथा नदी कटानबाट जोगाउन प्रभावित क्षेत्रमा तलदेखि माथिसम्म तारजाली लगाइएको थियो। यो वर्षको बाढीले ती सबै जाली बगाएपछि अहिले पूरै बस्ती नै जोखिममा रहेको वडाध्यक्ष रावतले बताउनुभो। छेडेदह गाउँपालिका सूचना अधिकारी मीरा जोशीले बस्ती जोगाउने गरेर नै गाउँपालिकाले प्रत्येक वर्ष तटबन्धनका लागि रकम विनियोजन गर्दै आएको बताउनुभयो।
डोगडी बस्ती पहिरोको जोखिममा रहेकाले त्यस बस्ती स्थानान्तरणका लागि जिल्ला विपत् व्यवस्थापन समितिले गृह मन्त्रालयलाई प्रतिवेदन पठाएको छ तर बस्ती स्थानान्तरण गर्ने वा नगर्ने भन्नेबारेमा त्यसको कुनै जानकारी नआएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।