• ४ जेठ २०८१, शुक्रबार

फेरिँदै दरबाङ बजार

blog

म्याग्दीको मालिका गाउँपालिका–६, स्थित दरवाङ बजार । तस्बिर : साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ) ,पुस ४ गते । मालिका गाउँपालिका –६ ,स्थित दरबाङ बजार पछिल्लो केही वर्षदेखि चहलपहल बढेको छ भने जिल्लाकै एक व्यापारिक हबको रूपमा चिनिएको छ । सदरमुकाम बेनीदेखि २४ किलोमिटर दूरीमा रहेको यो बजारलाई म्याग्दीको दोस्रो सदरमुकामको रूपमा समेत चिन्न थालिएको छ । 

धौलागिरि हिमालको प्रवेशद्वारसमेत रहेको ऐतिहासिक दरबाङ करिब पाँच दशक अघिसम्म मानव बस्तीको सुरुवाती चरणमा रहेजस्तो देखिन्थ्यो । व्यापार व्यवसायमा कम र परम्परागत कृषिमा बढी महत्त्व दिने यहाँका बासिन्दाहरूको समेत जीवनशैली फेरिएको छ । परम्परागत खेतीपाती होइन, व्यवसाय र आधुनिक जीवनशैली उनीहरूको दैनिकी बनेको छ ।

सङ्घीयता लागु भएपछि मालिका गाउँपालिकाको केन्द्र बनेसँगै दरबाङको स्वरूप फेरिन थालेको हो । यहाँ पुराना घर भत्किँदै नयाँ बन्ने क्रम र केही नयाँ, केही पुराना संरचनाले भरिभराउ दरबाङले काँचुली फेर्दै गरेको देखिन्छ । पछिल्लो समय विकसित हुँदै गएको दरबाङ बजारमा बैङ्क तथा वित्तीय संस्थाहरू खुल्ने क्रम बढेको छ । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको बेनी–दरबाङ सडकको स्तरोन्नतिको काम भइरहेको छ ।

बेनी –दरबाङ सडक कालोपत्रे भएमा आवतजावत र ढुवानी सहज बन्नुका साथै पश्चिमी क्षेत्रको पूर्वाधार, आर्थिक ,सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने देखिन्छ । दशवर्षे सशस्त्र युद्धबाट प्रभावित चार जिल्लालाई समेटेर बनाएको गुरिल्ला पदमार्गको समेत प्रवेशद्वार दरबाङलाई मानिन्छ । 

वि.सं. २०६३ सालमा मङ्गला गाउँपालिकाको ताराखेतबाट मोटर बाटो दरबाङसम्म पुर्याइएको थियो । ३० लाख रुपियाँ बजेटमा उक्त सडक पुर्याइएको  सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दिलीपकुमार शेरचनले बताउनुभयो । बि.सं.२०४० सालमा दरबाङमा करिब १५ घरपरिवार मात्र बसोबास गर्दथे । पाँच दशक पहिले यहाँ केही घरहरू मात्र थिए । उतिखेर घोडा, खच्चर र मान्छेमार्फत सामान ढुवानी गरिन्थ्यो, उहाँले सम्झँदै भन्नुभयो, अहिले त दरबाङमा गगनचुम्बी घरहरू बनेका छन्, गाउँका घरदैलोमै सडक पुगेका छन् ।

सडक पुर्याउन तत्कालीन ८ गाविस, तत्कालीन राज्यमन्त्री नारायणसिंह पुनसहित शेरचनका दुई छोरा, काठमाडौँ र पोखरामा रहेका म्याग्दी लि. लगायतको सहयोग रहेको उहाँ बताउनुहुन्छ । तत्कालीन ८ गाविसले ५ लाख ५४ हजार रुपियाँ बजेट विनियोजन गरेका थिए ।मालिका गाउँपालिका अध्यक्ष वेगप्रसाद गर्बुजाले गाउँपालिकाको केन्द्र मात्र नभई व्यापारिक नाका भएकोले दरबाङ बजार व्यवस्थापनलाई दिगो बनाउन सहरी विकास योजना अनुसार डिपीआर बनाएर काम गर्न आवश्यक रहेको बताउनुहुन्छ । 

दरबाङ बजार गाउँपालिकाको केन्द्र मात्र नभई जिल्लाको दोस्रो सदरमुकाम तथा व्यापारिक केन्द्र हो”,उहाँले भन्नुभयो, दरबाङ बजार व्यवस्थापनलाई दिगो बनाउन खानेपानी योजना, सडक, फोहोर, बसपार्क, प्रशासनिक कार्यालय स्थापना , शिक्षाक्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक छ । दरबाङ बजारमा स्तरीय होटेल बनाउन सके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ । दरबाङमा सडक स्तरोन्नति, नियमित विद्युत् आपूर्तिसँगै खानेपानी आयोजनालाई समेत व्यवस्थित बनाउन आवश्यक रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घ मालिका गाउँपालिका एकाइ अध्यक्ष लेकबहादुर पुन बताउनुहुन्छ ।

म्याग्दी नदीको कटान, अस्थायी सडक, विद्युत् र खानेपानी आपूर्ति नियमित नहुँदा तथा यातायात अस्तव्यस्तताका कारण व्यवसायीहरूलाई असर परेको उहाँको भनाइ छ । दरबाङ हुँदै धौलागिरि, गुर्जा, चुरेनलगायत हिमाल आरोहणका लागि विदेशी पर्यटकहरु जाने गर्दछन् । दरबाङ हुँदै म्याग्दी, बागलुङ र रुकुम जिल्लाको सिमानामा पर्ने नेपालको एक मात्र ढोरपाटन सिकार आरक्ष पुग्ने गरिन्छ । दरबाङ हुँदै बागलुङको तमानखोला , ताराखोलासमेत जान सकिन्छ । 

पहिरोले उजाडिएको त्यो बस्ती

२०४५ साल असोज ४ गते राति खसेको तत्कालीन निस्कोट गाविस १ स्थित साम्था पहिरोले निस्कोटको पैरेनी र छ्यारछ्यारे बस्ती नै उजाडिएको थियो । पहिरोले म्याग्दी खोला थुनिएर फुट्दा साबिक दरबाङ गाविस वडा नम्बर १ स्थित छ्यारछ्यारे र निस्कोटको पैरेनीका बस्ती बगाएर नामनिसाना मेटिनुका साथै एक सय १५ जना पुरिएका थिए ।

सोही पहिरोले पुरिएर दरबाङका जयश्वर सुवेदीका बुबा टिकाराम, आमा गौरी, भाइहरू टङ्कनाथ, धनलाल सुवेदी बेपत्ता हुनुभएको थियो । आफू ३५ वर्षको हुँदा सो घटना भएको जयेश्वर सुवेदी बताउनुहुन्छ । अहिले ६९ वर्ष पुग्नुभएका सुवेदीलाई त्यो रातको घटना भर्खरै जस्तो लाग्छ । बेपत्ता एक सय १५ जनामध्ये करिब ५–६ जनाको शव भेटिएको उहाँले जानकारी दिनुभयो । पहिरोमा बेपत्ता कोही पनि भेटिएनन् । 

आफ्ना बाबुआमा, दुई भाइहरू, प्रहरी चौकीका हवल्दारका परिवारसहित एक सय १५ जना पहिरोमा पुरिएको बताउनुभयो । राति बस्ती माथिबाट खसेको पहिरोले पैरेनी बस्ती पुरियो भने खोला थुनिएर फुट्दा वारी दरबाङको छ्यारछ्यारे बजारसमेत बगायो, उहाँले भन्नुभयो, मेरो बुबा आमा र दुई भाइहरू पनि पहिरोमा हराए । म र मेरो परिवार वारि दरबाङमा बस्ने भएकाले मात्र बाँच्यौं । सुवेदीले त्यो घटना एक अकल्पनीय र अविस्मरणीय रहेको बताउनुहुन्छ । राति पहिरो खसेपछि हारगुहार गरियो । रातको समय र पहिरोले खोला थुनिएपछि कसैको पनि उद्धार गर्न सकिएन, मलिन हुँदै त्यो घटना सम्झेर भन्नुभयो, प्रत्यक्षदर्शी हुनुबाहेक केही गर्न सकिएन ।