• १२ असोज २०८१, शनिबार

गुणस्तरहीन बायोस्याण्ड फिल्टर उत्पादनमा रोक लगाउन माग

blog

बायोस्याण्ड फिल्टरले कसरी काम गर्छ देखाउँदै ईश्वरीप्रसाद दाहाल । तस्बिर: विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, पुस ३ गते । पानीलाई शुद्धीकरणका लागि प्रयोग गरिने गरेको बायोस्याण्ड फिल्टर गुणस्तरहीन उत्पादन हुने गरेको भन्दै यसको प्रयोगमा सचेतता अपनाउनका लागि बायोस्याण्ड फिल्टर उद्यमी सङ्गठन नेपालले आग्रह गरेको छ । स्थानीय तहहरूले वितरण गर्ने गरेको र कतिपय उत्पादकहरूले उत्पादन गरेको बायोस्याण्ड फिल्टर गुणस्तरहीन भएकाले यसको अनुगमन गर्न माग गर्दै सङ्गठनले यस्तो आग्रह गरेको हो ।

सङ्गठनका केन्द्रीय अध्यक्ष ईश्वरी प्रसाद दाहालका अनुसार झापासहित देशभर व्यवसायी रूपमा ६ दर्जनभन्दा बढी घरेलु उद्योगको रूपमा बायोस्याण्ड फिल्टर निर्माण तथा उत्पादन हुँदै आएको छ । खानेपानीको फिल्टर गुणस्तर प्रमाणित गर्ने व्यवस्था राज्यका निकायबाट हुन नसकेकाले आफूहरूले नै यो आवाज उठाएको समेत उहाँले जनाउनुभयो ।

हामीले केही उत्पादकहरूको अनुगमन गर्दा गुणस्तरहीन पाएका छौ र यसलाई सुधार गर्न बारम्बार अनुरोध गर्दासमेत सुधार भएको छैन, उहाँले भन्नुभयो । स्थानीय तहहरूले वितरण गरेको फिल्टर समेत गुणस्तरहीन पाएकाले सरोकारवाला निकायहरूलाई यस विषयमा जानकारी गराएको पनि उहाँले बताउनुभएको छ ।

फिल्टरको मिडियाको गुणस्तर नरहेको, पानी र बालुवाको सतह नमिलेको, फिल्टर चर्किएको र पानी चुहिएको, फिल्टर उपयोगसम्बन्धी उपभोक्तालाई कुनै पनि ज्ञान नदिएको पाइएको पनि उहाँले जानकारी दिनुभयो । फिल्टर बिक्री वितरण गरेपछि त्यो सञ्चालन विधि पनि अनिवार्य सिकाउनु जरुरी छ र फिल्टर प्रयोगकर्ताले बुझ्नुपर्छ, उहाँले भन्नुभयो ।

खानेपानीमा भएका जीवाणु, धमिलोपन, आइरन र गन्ध हटाउने एक सरल विधि बायोस्याण्ड फिल्टर हो । यो फिल्टर स्थानीय स्तरमा नै तालिमप्राप्त व्यक्तिद्वारा ५० लिटरको प्लाष्टिकको बाल्टिनदेखि १ हजार लिटरको पोलीट्याङ्कीमा गिट्टी, चोकर बालुवा र मसिनो बालुवाको तह मिलाएर बनाउन सकिन्छ ।  यसले खानेपानीमा भएका जीवाणु, धमिलोपन, आइरन आदि हटाउँछ र पानीलाई पिउनयोग्य र सुरक्षित बनाउँछ । 

बायोस्याण्ड फिल्टरले भौतिक र जैविक प्रक्रियाद्वारा जीवाणु हटाउने गर्दछ । फिल्टरमा रहेका मसिना बालुवाका कणहरुबाट केही प्रकारका ठूला जीवाणुहरू छानिन्छन् र अन्य सूक्ष्म जीवाणुहरूलाई फिल्टरमा विकास भएको एक जैविक तह (बायोफिल्म) मा रहेका जीवाणुहरूले नष्ट गर्दछ । 

यस्तो बायोफिल्मको विकास हुनको लागि बालुवाको सतहमाथि ५ से.मी. पानी सधैँ रहिरहनुपर्छ र जैविक प्रक्रियाको थालनी हुन तीन हप्ता लाग्ने भएकोले उक्त अवधिसम्म फिल्टरले राम्ररी जीवाणु नहटाउन पनि सक्छ । त्यसैले यो अवधिमा फिल्टर भएको पानीलाई उमालेर वा सोडिस गरेर क्लोरिन प्रयोग गरी जीवाणुरहित बनाई पिउनयोग्य बनाउन सकिन्छ । 

यसमा सबैको सहज पहुँच हुने भएकाले ग्रामीण क्षेत्रमा यसको प्रयोग बढ्दो रहेको बायोस्याण्ड फिल्टर उत्पादक दीपक भण्डारीले बताउनुभएको छ । यसका फाइदाहरू धेरै रहेकाले यसको प्रयोग बढेको पनि उहाँको भनाइ छ । यो फिल्टरमा रसायन वा इन्धनको आवश्यकता पर्दैन, उहाँले भन्नुभयो । प्रयोग तथा मर्मतसम्भार गर्न सजिलो र स्थानीय स्तरमा उपलब्ध सामग्रीहरूबाट बनाउन सकिने पनि उहाँले बताउनुभयो ।