• ९ मंसिर २०८१, आइतबार

ज्येष्ठ नागरिकलाई एकदिने भ्रमण

blog

पोखरा समाचारदाता

पोखरा, पुस ३ गते । बुढेसकालको जीवन, एकै ठाउँमा बस्दाबस्दै वाक्क र थकित होइन्छ। हुर्केबढेका छोराछोरी तथा नातिनातिनासँग बारम्बार भेट गर्ने र गफ गर्ने अवसर छैन। यी सबै कुरालाई मनन गरी पोखरा महानगरपालिका–१५ ले ज्येष्ठ नागरिकलाई अन्तरजिल्ला भ्रमण कार्यक्रमअन्तर्गत ‘एक सय वृद्धवृद्धालाई एक दिन भ्रमण’ सुरु गरेको छ। 

ज्येष्ठ नागरिकको भ्रमण टोलीलाई न्यानो गलबन्दी लगाई बिदाइ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई साँच्चैको महानगर बनाउन लागिपरेको बताउनुभयो। पोखराका नागरिकको न्यूनतम आवश्यकतालाई पूरा गर्न योजनाबद्ध रूपमा अगाडि बढेको उहाँले बताउनुभयो। उहाँले औपचारिक विद्यालयको शिक्षासँगै आफूले जीवनमा भोगेका भोगाइ र शिक्षा ज्येष्ठ नागरिकबाट पनि सिक्नुपर्ने भन्दै ज्येष्ठ नागरिकलाई सधैँ सम्मान गर्नुपर्ने बताउनुभयो। 

अहिले महानगरले सबै ज्येष्ठ नागरिकका लागि सम्मानस्वरूप विभिन्न योजना बनाएर कार्यक्रम अगाडि बढाइरहेको हुँदा आगामी दिनमा अन्य वडामा पनि यस प्रकारको कार्यक्रम ल्याउने प्रमुख आचार्यले बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकमा वृद्ध भत्तासम्बन्धी केही अस्पष्टता रहेको भन्दै महानगरबाट दुई सय रुपियाँ थप दिँदै आइएकामा नेपाल सरकारबाट त्यसरी दिन नमिल्ने भन्दै बेरुजु बनाइएपछि अहिले पोषण कार्यक्रमका लागि बजेट छुट्याइएको स्पष्ट पार्नुभयो। अहिलेको व्यस्त समयमा घरपरिवारले ज्येष्ठ नागरिकलाई समय दिन नभ्याउने तथा दिनभर घरमा बसिरहेका बुवाआमालाई नयाँ ठाउँको अवलोकन गराउने उद्देश्यले वडाको वार्षिक बजेटबाट भ्रमणमा लगिएको वडाध्यक्ष तोरणबहादुर बानियाँले बताउनुभयो।

नयाँ ठाउँको विकास तथा पछिल्ला दिनमा भएका परिवर्तनबारे प्रायः वृद्धवृद्धा बेखबर रहने, कतिपय पोखराबाट बाहिर ननिस्किएका पनि भएकाले उहाँहरूको सम्मानस्वरूप एकदिने भ्रमणमा लैजान लागिएको जानकारी उहाँले दिनुभयो। भ्रमण टोलीलाई बागलुङको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल बागलुङ कालिका मन्दिरको दर्शन गराई पर्वतको कुस्मास्थित विभिन्न झोलुङ्गे पुल र बन्जी जम्पको अवलोकन गराइनेछ।

यस्तै भ्रमणमा सहभागीमध्ये ज्येष्ठ नागरिक श्यामप्रसाद सुवेदीले पछिल्लो समय वृद्धवृद्धालाई उचित सम्मान नगरिरहेको अवस्थामा वडाले यसरी सम्झिएर भ्रमणमा लैजान लागेकामा खुसी व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने भएकाले निरन्तरता दिन आग्रह गर्नुभयो। सो भ्रमणको नेतृत्व वडा सदस्य बलराम पौडेलले गर्नुभएको छ।