• १२ असोज २०८१, शनिबार

पाँचथरमा गरिब परिवारलाई परिचय पत्र वितरण

blog

फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ३ बाट गरिब परिचय पत्र वितरण गर्दै जनप्रतिनिधि । तस्बिर: राधा लुइँटेल

राधा लुइँटेल

फिदिम, पुस ३ गते । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले सम्बन्धित वडा कार्यालयबाटै नेपाल सरकारले सूचीकृत गरेका गरिब घर परिवारलाई परिचय पत्र दिन थालेको छ । उक्त गाउँपालिकाले सबैभन्दा धेरै गरिब परिवार रहेको वडा नम्बर ३ स्थित पौवासारतापबाट परिचय पत्र वितरण गर्न थालेको हो ।

सरकारले वर्गीकरण गरे अनुसार अति गरिब, सामान्य गरिब र मध्यम गरिब परिवारमा सूचीकृत भएका परिवारलाई सङ्घीय सरकार मार्फत जारी भएको परिचय पत्र वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले बताउनुभयो ।

प्रमूख प्रशासकीय अधिकृत निर्मल तुम्रोकका अनुसार यो गाउँपालिकामा गरिब परिचय पत्र पाउने परिवारको कुल सङ्ख्या ४ सय ३२ छ भने वडा नम्बर ३ मा मात्रै ५३ परिवार परिचय पत्र पाउनेको सूचिमा छन् ।

यस्तो परिचय पत्र पाउने परिवारलाई शिक्षा,स्वास्थ्य र रोजगारीसँग आय आर्जनका कार्यक्रममा प्राथमिकता राख्ने सरकारको नीति छ । फाल्गुनन्द गाउँपालिकाले भने यो परिचय पत्र पाउनेलाई आफ्नै स्रोतबाट स्वास्थ्य बिमा गरिदिने कार्यक्रम ल्याएको छ ।

जिल्लामा गरिब परिचय पत्र वितरण सुरुवात गर्ने फाल्गुनन्द गाउँपालिका नै पहिलो स्थानीय तह हो ।