• १३ साउन २०८१, आइतबार

नुनदेखि सुनसम्म भेटिने गन्तव्य

blog

नेपाल पर्यटकीय सम्पदा र सम्भाव्यताको खानी भएको मुलुक हो। सात प्रदेशमध्ये गण्डकी प्रदेश प्रकृति र संस्कृतिको सङ्गम हो। उपल्लो मुस्ताङको छुसाङको नुनखानी र म्याग्दीको बेनीभन्दा तल्लो भागको कालीगण्डकीको सुस्ता बगरसम्ममा छरपस्ट भेटिने सुनका कण सङ्कलन हुने कालीगण्डकी करिडोर–कोरला दामोदरकुण्डदेखि सुस्ता त्रिवेणीधामको ८१४ किलोमिटर वरपर प्रशस्त भेटिने मठमन्दिर र तीर्थस्थल अन्य नेपालमा रहेका छ सय नदीनालामा भेटिँदैनन्।

धार्मिक दृष्टिकोणले यो नदी अत्यन्तै महत्वपूर्ण छ। दामोदर कुण्ड र मुक्तिनाथ यसको उद्गमस्थल, शालिग्राम र नेपालका प्रसिद्ध धामहरू गलेश्वर, मोदीबेनी, निरहे, बागलुङ भगवती कालिका, सेतीबेनी, रुरुक्षेत्र, रानीघाट–रामघाट, देवघाट र त्रिवेणी क्षेत्र यही नदीमा पर्छन्। यो नदीको गरिमा र महत्व अरू नेपालका नदीसँग तुलना गर्न सकिँदैन। दुई मित्र राष्ट्र भारत र चीन (सुस्ता त्रिवेणीदेखि लो–माङ्गथाम/छोसेर कोरोला नाका) जोड्ने मोटर बाटो झन्डै सञ्चालनमा आएको छ। 

यो त्रिवेणीधाम गण्डक बाँध बाँध्नुपूर्व नेपाल र भारतका सीमा वरिपरिका व्यक्तिको दाहसंस्कार गर्ने, पापमोचन (पखाल्ने) र तार्ने प्रयोगमा आउँथ्यो र हालमा पनि यो क्रम जारी छ। उक्त स्थानमा जानकी केन्द्र, शिव मन्दिर, वाल्मीकि आश्रम, गजेन्द्रमोक्ष धाम र हालमा पानीमाथि शिव मूर्ति, अझ उत्तरपट्टि वृद्धाश्रम र विविध मठमन्दिर बनेका छन्। मरेपछि स्वर्ग पुग्ने ढोका र पाप पखाल्ने तथा मृत्युपछि दाहसंस्कार गर्ने नेपाल र भारत बिहारका नागरिकको साझा थलोका रूपमा परिचित छ। 

कालीगण्डकीका चार धाममा नेपाल, भारत, इन्डोनेसिया–बालीलगायतका हिन्दुको तीर्थयात्रा हुने गर्छ। सुस्ता गाउँपालिकादेखि उत्तर महलवरी–दाउन्ने मदर बाबा, दाउन्नेदेवी, कुमारावती, सीतामणिलगायत क्षेत्रमा भारत–युपी, बिहार, मध्यप्रदेशका हिन्दु, मुसलमानलगायतले माघे सङ्क्रान्ति, वैशाख १ गते, एकादशी विविध पर्वमा पैदल यात्रा गरी भेला गर्ने प्रचलन छ। पर्यटन विकास र प्रवद्र्धनका दृष्टिकोणले भविष्यमा यो ठाउँमा बहुआयामिक क्रियाकलाप सञ्चालन गर्न सकिन्छ। स्टिमरबोट सञ्चालन, मत्स्यपालन, वृद्धाश्रम, वनपैदावर, कृषि उत्पादनका विविध गतिविधि सञ्चालन गर्न सकिन्छ। गण्डकी प्रदेश सरकारले केही बजेट विनियोजन गरी त्रिवेणी–कोरोला–कालीगण्डकी करिडोर मोटरबाटो छिट्टै गरिनेछ ।

त्रिवेणीधामको उत्तरतर्फ नारायणी नदीमा मस्र्याङ्दी, सेती र कालीगण्डकी नदीहरू देवघाटमा मिसिएपछि नारायणघाटमा पर्यटकका लागि नारायणी नदीमा स्टिमर सञ्चालनमा आएको छ। पवित्र देवघाटको महिमा रहेको गलेश्वर, हरिहर आश्रम नेपालका हिन्दु धर्मावलम्बीका विभिन्न थर, आ–आफ्नो वंशावलीअनुसारका आश्रम चितवनतर्फ र तनहुँ जिल्लातर्फ धमाधम बनिरहेका छन् र धेरै आश्रममा वेद विद्याश्रम र वृद्धाश्रम सञ्चालनमा छन्। यसको धेरै महत्व छ। इन्डोनेसिया बालीका हिन्दु यी दुई धाम (त्रिवेणीधाम र देवघाटधाममा) बर्सेनि सयौँका सङ्ख्यामा भ्रमण गर्ने गर्छन्। मोक्ष प्राप्तिका लागि यी धार्मिक स्थल अत्यन्त आकर्षण र भ्रमण गर्न लायकका छन्।

यी धामभन्दा अझ उत्तर पश्चिमतर्फ टापूका रूपमा कालीगण्डकीको बहावमा तनहुँ र पाल्पा/नवलपुर जिल्लाबीचको अति सुन्दर, मनमोहक घुमाउने ठाउँ; जहाँ खाना वा नास्ताका लागि रोकिन सकिन्छ। स्याङ्जा र पाल्पा सिमानाबीच राम्धीपुल (रामघाट) अर्को पवित्रस्थल र अझ उत्तर–पश्चिम पाल्पा तानसेननजिकै रानीमहल खड्गशमशेर राणाद्वारा निर्मित भव्य दरबार छ। रानीमहल साँच्चै अति सुन्दर महल कालीण्डकीछेउ किनारमा अवस्थित छ। यो आज पुराताìिवक सम्पदा संरक्षणका रूपमा संरक्षित छ। यसअघि कालीगण्डकीको पानी मिर्मी कालीगण्डकी जलविद्युत् परियोजनाका कारण सुक्खा छ। रिडी खोला र रुद्रमती खोलाको जलले रुरुधाम केही आशालाग्दो छ।

रानीघाट (रानीमहल)भन्दा झन्डै पाँच÷सात किलोमिटरमा अर्को प्रसिद्ध धार्मिकस्थल तथा नदी सङ्गम –रिडीखोला र कालीगण्डकी तथा रुद्रमती नदीहरूको त्रिवेणी रुरुधाम अर्थात् थोरका पनि भनिन्छ। यो ठाउँमा अर्घाखाँचीबाट आएको रिडीखोला, ढोरपाटन, रुद्रमती तालबाट आएको रुद्रमती खोला र उत्तरपूर्वबाट कालीगण्डकी ए हाइड्रोपावरबाट छाडिएको कालीगण्डकी नदीको सङ्गम छ। यो रुरुधाममा पनि मृत्यु उप्रान्त लास विसर्जन, वृद्धाश्रम र विभिन्न चाडपर्व– माघेसङ्क्रान्ति, ठूलो एकादशी, वैशाख १ गतेलगायत समयमा तीर्थयात्री मेला भर्ने, पापकर्मको प्रायश्चित गर्ने, श्राद्ध गर्ने स्थल हो। यस क्षेत्रमा कालीगण्डकी–ए जलविद्युत् १४१ मेगावाट क्षमताको ड्याम भेटिन्छ। यो ठाउँ कालीगण्डकी र आँधिखोलाको सङ्गम हो। 

यो त्रि–जिल्लाको सङ्गम सेतीबेनीशिला अर्को प्रसिद्ध र महìवपूर्ण तीर्थस्थल हो। उत्तरपूर्वबाट पैँञ्यु खोली र कालीगण्डकीको सङ्गमस्थलमा विशाल ढुङ्गाको शिला भेटिन्छ। यस ठाउँमा मठमन्दिरमार्फत गौपालन र बटुक संस्कृत पढ्ने पाठशाला पनि भेनिन्छ। यो सेतीबेनीबाट पश्चिमतर्फ गुल्मी र पूर्वपट्टि पर्वतबाट समानान्तर रूपमा म्याग्दीको बेनी बजारसम्म कालीगण्डकीको दुवैतर्फ मोटरबाटो करिडोर बनेको छ। ठाउँठाउँमा कालीगण्डकीमाथि पर्वत–गुल्मी, पर्वत–बागलुङ जोड्ने लामालामा र अग्लो झोलुङ्गे पुल छन्। जसमध्ये नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल पर्वत पाँगा–बागलुङ भगवती कालिका मन्दिर प्रवेशद्वारसम्म निर्माण भएको छ। 

यहाँ अर्को अद्भुत शालिग्राम सङ्कलन कालीगण्डकी करिडोरबाट दृश्य अवलोकन गर्न सकिन्छ। त्यस ठाउँभन्दा अझ माथि थप चार किलोमिटरमा पाँञ्चकोट निर्माण भएको छ। जहाँ गरुडले विष्णु भगवान्लाई आफ्नो शरीरमाथि विराजमान गराई उड्दै गरेको मूर्ति स्थापना छ। त्योभन्दा पाँच÷दस मिटरमाथि विशाल तामाको घडा स्थापना गरिएको छ र त्यसभन्दा थोरै माथि भगवान् रामका मित्र हनुमानले लक्ष्मणको उपचारार्थ पहाड बोकेर ल्याएको मूर्ति स्थापना छ। यी सम्पदा र ठाउँको आ–आफ्नै मूल्य र महत्व छन्। बागलुङको बलेवा–कुश्मा वरिपरि नेपालका झोलङ्गे पुलको राजधानीझैँ कुश्मा–ज्ञांदी, कुस्मा–शिर्शुवा, कुश्मा–बलेवा, पाङ्ग–बागलुङ र कुस्मा–बलेवा यान्त्रिक पुल तथा विश्वप्रसिद्ध एसियाको दोस्रो लामो र अग्लो बञ्जिजम्प पुल भेटिन्छन्। यही बञ्जिजम्प पुलकै छेवैमा गुप्तेश्वर गुफा पनि भेटिन्छ; जुन अर्को धार्मिक गन्तव्य हो। 

यी रमणीय एवं धार्मिक स्थल छाडेर म्याग्दीको सदरमुकामतर्फ लाग्दा पुलश्चाश्रम, रावण पार्क, लब्लीडाँडा, पर्वत मल्लाजको २४से राज्यको दरबार हुँदै बेनी बजार पुगिन्छ। बेनी बजारको उत्तर पश्चिम आठ किलोमिटरमाथि म्याग्दी खोलाको छेउमा नेपालकै सबैभन्दा ठूलो र धेरै मानिस एकै समयमा तातोपानीमा डुब्न सकिने सिँगा भन्ने ठाउँमा तीनवटा कुण्ड (महिला–पुरुष–बच्चा) डुब्न सकिने ठाउँ छ। यो तातोपानी कुण्डमा खासगरी शरीरमा घाउ खटिरा आएका, घुँडा दुख्ने, बाथरोग भएका, हड्डी दुख्ने, मर्केका आदि व्यक्ति देशभरिबाट नै आएर एक/दुई महिनासम्म डुबेर थेरापी गर्ने प्रचलन छ।

बेनीबाट दुई किलोमिटर उत्तरतर्फ कालीगण्डकीको छेउमा पाँच रोपनी क्षेत्रफल ओगटेको विशाल ढुङ्गा (शिला)माथि गलेश्वर मन्दिर र नारायणको मन्दिरलगायत शिवलिङ्ग, चौरासी आश्रम, मन्दिर छेवैमा वृद्धाश्रम र वेद विद्याश्रम छन्। गलेश्वरधाम वरपर र नदी वारिपारि पर्वत र रघुगङ्गापारि अरू मठमन्दिर विभिन्न गुठीबाट सञ्चालित छन्। यही धामका पीठाधीशमार्फत हाल देवघाटमा बनेको गलेश्वर आश्रम पनि सम्बन्धित हुन्छ। गलेश्वरधामबाट मुस्ताङतर्फ लाग्दा कालीगण्डकी नदीछेउ पारिपट्टि शिखधारामा अर्को शिवालय मन्दिर र पवित्र आश्रम भेटिन्छ। 

त्यस ठाउँबाट अझ तीन/चार किलोमिटरको दूरीमा मुस्ताङ तातोपानी कुण्ड र पर्यटक विश्राम गर्ने, भोजन, बास बस्ने तातोपानी बजार आउँछ। यो अर्को नेपालको पर्यटक रमाउने आकर्षण केन्द्र हो। कालीगण्डकी दाना पारिपट्टि नारच्याङ्ग मगरगाउँमुनि रमणीय झर्नाहरू हेर्न पाइन्छ। म्याग्दी जिल्ला समाप्त भई मुस्ताङ जिल्लातर्फ लाग्ने बेलामा अर्को विश्वको सबैभन्दा अग्लो अन्धा गल्छी कालीगण्डकीमा भेटिन्छ। त्यसैको छेउ अर्थात् मुस्ताङतर्फ लाग्ने दाना गाउँमा अति सुन्दर रूपसे झरना गाडी रोकेर १२रै मास हेर्न र फोटो खिच्न सकिन्छ। 

यति रमणीय धार्मिक एवं प्राकृतिक स्थानको अवलोकन भ्रमण तथा तीर्थयात्रा गर्दै अब मुस्ताङ जिल्लाको प्रवेशद्वार घाँसा लेते गाउँ पुगिन्छ। हाल कालीगण्डकी, बेनी, कोरोला नाका मोटरबाटोको पिच बाटो र वरिपरि हरिया धूपीका जङ्गल, धवलागिरि–नीलगिरि विशाल हिमशृङ्खला बीचबाट कोवाङ, टुकुचे र मार्फा हुँदै जोमसोम यात्रा हुन्छ। मुस्ताङको विशेषता अर्थात् संसार छुट्टै छ। हिजो राज्य पुनर्संरचनापूर्व छवटा थकाली गाविस र जोमसोम उत्तरतर्फ १० वटा भोटे गुरुङ, विष्ट जातिको बसोबास भेटिन्छ।

ठिनी गाउँ र नीलगिरि हिमालको फेदीमा मुस्ताङको धुम्वा/सेकुभ ताल भेटिन्छ। जोमसोम बजारको पारिपट्टि नेपाली सेनाको ब्यारेक र रक क्लाइम्बिङ तालिम केन्द्र र पारिपट्टि पूर्वतर्फ पुरानो थाकखोला बजार र टुँडिखेल छ। यसपछिको यात्रालाई १० गाउँको भोटे विशेषता बोकेको बस्ती उपल्लो मुस्ताङलाई एकलेभट्टी हँुदै कागबेनी (कृष्ण र कालीगण्डकी नदीको पवित्र सङ्गम) जहाँ बाह्रैमहिना पित्तृ श्राद्ध सम्पन्न गरिन्छ र चैते दशैँ र आश्विनको बडादशैँअगाडि सोह्रश्राद्धमा ठूलो घुइँचो लाग्ने र श्राद्ध सम्पन्न गरिन्छ। यही ठाउँको उत्तरपट्टि भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल बद्रीनाथ, केदारनाथभन्दा कम महìव नभएको मुक्तिनाथको दर्शन गर्न पाइन्छ।