• ८ मंसिर २०८१, शनिबार

रोड रेसमा मुकेश र सन्तोषी पहिलो

blog

रोड रेसमा प्रतिस्पर्धा गर्दै सन्तोषी श्रेष्ठ ।

काठमाडौँ, मङ्सिर ८ गते । नेपाल आर्मीका मुकेश पाल र धादिङकी सन्तोषी श्रेष्ठ गरिमा रोड रेसमा शनिबार पहिलो हुनुभएको छ । १० किलोमिटर दूरीको पुरुषमा मुकेश र महिलामा सन्तोषी पहिलो हुनुभएको हो । 

बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा मुकेशले निर्धारित दूरी ३१ मिनेट ३६.२ सेकेन्डमा पूरा गर्नुभयो । सञ्जय श्रेष्ठ ३१ मिनेट ५८.३ सेकेन्डमा दोश्रो तथा गजेन्द्र राई ३२ मिनेट १४.६ सेकेन्डमा तेश्रो हुनभयो । 

महिलातर्फ १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता एवं ओलम्पियन सन्तोषीले निर्धारित दूरी तय गर्न ३६ मिनेट ४३.३५ सेकेन्ड खर्चिनुभयो । ३७ मिनेट ५४.१९ सेकेन्डमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोश्रो तथा ३८ मिनेट ४३.८१ सेकेन्डमा आर्मीकै सुनसरी रोकाय तेश्रो बन्नुभयो । 


शीर्ष पाँच स्थानमा रहनेलाई क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार रुपियाँको दरले पुरस्कार प्रदान गरियो । रेस लाजिम्पाटस्थित गरिमाको केन्द्रीय कार्यालयबाट सुरु भइ पुनः त्यही आएर टुङ्गिएको थियो ।

विजेतालाई दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, आयोजक गरिमाका अध्यक्ष श्यामप्रसाद बस्याल, गरिमाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । 

सोही अवसरमा कात्तिक १४ गते भएको महिला साफ फुटबल च्याम्पियनसिपको फाइनलमा प्रत्येक गोलवापत टिमलाई एक लाख प्रदान गर्ने पूर्वघोषित पुरस्कार पनि गरिमाले प्रदान गरेको थियो । फाइनलमा नेपाल बङ्गलादेशसँग २–१ गोलले पराजित भएको थियो ।