• १२ असोज २०८१, शनिबार

कोशी अस्पतालको आठ तले भवन बन्दै

blog

विराटनगर समाचारदाता 

विराटनगर, पुस २ गते । पूर्वाधारको समस्या झेल्दै आएको कोसी अस्पतालमा आठ तले भवन बन्ने भएको छ। नेपाल सरकारको दुई अर्ब  १७ करोड ६६ लाख रुपियाँ लागतमा आधुनिक अस्पताल भवन निर्माण सुरु गरिएको हो।  

पुरानो जीर्ण अस्पताल भवनबाट सेवा प्रवाह गरिरहेको कोसी अस्पतालले पुरानो प्रसूति र मेडिकल वार्ड रहेको भवन भत्काएर नयाँ भवन बनाउन सुरु गरेको हो। नवनिर्मित भवनको बिहीबार सहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले संयुक्त रूपमा शिलान्यास गर्नुभयो। 

सहरी विकास तथा भवन निर्माण विभागले मूल्य अभिवृद्धि करबाहेक दुई अर्ब १७ करोड ६९ लाख ९२ हजार दुई रुपियाँ अनुमानित लागत रहेको थियो। केसी कन्ट्रक्सन काठमाडौँले अनुमानित लागतभन्दा तीन लाख ७१ हजार ७१९ रूपियाँ कममा ठेक्का लिएको हो। विभाग र ठेकेदार कम्पनीबीच तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ विराटनगरका प्रमुख गणेशबहादुर महर्जनले जानकारी दिनुभयो। 

अस्पतालले मेडिकल वार्ड सञ्चालनका लागि नयाँ भवन निर्माण गर्न लागेको हो। अहिले ३५० शय्यामा सञ्चालन भइरहेको कोसी अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भएपछि क्षमता विस्तार भई एक हजार शय्याको हुने छ। 

नयाँ भवन पाँच सय शय्याको हुने अस्पतालले जनाएको छ। जसमा दुई तलाको भूमिगत पार्किङ रहनेछ। पहिलो अन्डरग्राउन्ड पार्किङमा ३४ वटा कार, ७७ वटा मोटरसाइकल र मेडिकल स्टोर रहनेछ। पहिलो भूमिगत पार्किङमा २५ कार ८५ वटा मोटरसाइकल र औषधि पसल रहने छन्। 

पहिलो तलामा रजिस्टे«सन, रेडियोलोजी, ब्लड बैङ्क, ल्याब, फार्मेसी र जनरल स्टोर, पहिलो तलामा पीसीआई, एनआईसीयू वार्ड र ९१ शय्याको बच्चाको वार्ड रहनेछ। दोस्रो तलामा ९१ शøयाको अर्थाेपेडिक वार्ड, तेस्रो तलामा ९१ शय्याको मेडिकल वार्ड, चौथो तलामा १०३ शय्याको ट्रमा सर्जिकल वार्ड रहने छ। जसमा आँखा, नाक, कान, घाँटी, डेन्टल र जनरल सर्जरी वार्ड रहने छ।

निर्माणाधीन भवनमा सीएसएसडी, पोस्टअप वार्डका साथै सातौँ र आठौँ तलामा सेमिनार र बैठक कक्ष हुने छ भने भवनमा छवटा लिफ्ट रहने गरी नक्सा डिजाइन गरिएको छ। 

कोसी अस्पतालमा गत वर्ष सुरु गरिएको पाँच तले भवन पनि निर्माणाधीन छ। ठेकेदार कम्पनी रमन भूमि, बीआईपीएल जेभी सम्र्पकविहीन भएपछि चार महिनादेखि काम रोकिएको अस्पतालले जनाएको छ। उक्त पाँच तलाको भवन ३३ करोड २२ लाख ४८ हजार ९११ रुपियाँ ३३ पैसामा ठेक्का लागेको थियो।