• १३ साउन २०८१, आइतबार

‘रङ्गपालिका’ शीर्षकमा कार्टुन प्रदर्शनी

blog

काठमाडौँ, मङ्सिर २९ गते । विकेन्द्रीकरणको सन्देश बोकेको परेवा जसले उडाउँदै छ उसैले परेवालाई डोरीमा बाँधिरहेको छ । सङ्घीय सरकारको रबैयाप्रतिको कटाक्ष अविन श्रेष्ठको यस कार्टुनमा रहेको छ ।

स्थानीय सरकारले पुरापुर कार्यभार पाएको छ तर स्रोतको कमीले सामान जोख्ने भाँडो पूरै कार्यभारतर्फ झुकेको छ । कार्यभार र स्रोतको सन्तुलन मिल्न नसकेको अवस्थाप्रति कार्टुनिस्ट वासु क्षितिजको यो व्यङ्ग्य हो । त्यस्ता अनेकौँ कार्टुन जुन स्थानीय सरकारले गर्नुपर्ने काम र काम गर्ने दौरानमा भए गरेका विकृति विसङ्गतिमा केन्द्रित रहेका छन् । 

गाउँपालिका राष्ट्रिय महासङ्घको तेस्रो महाधिवेशनको अवसर पारेर ‘रङ्गपालिका’ शीर्षकमा उक्त प्रदर्शनी गरिएको हो । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको महाधिवेशनमा दुई दर्जन कार्टुनिस्टले बनाएका ५० कलाकृति राखिएको थियो । 

महासङ्घले कार्टुनिस्ट क्लब अफ नेपालको सहकार्यमा गरेको प्रदर्शनीमा गाउँपालिकाले गर्नुपर्ने कार्ययोजना, विकास निर्माणसँगै त्यहाँ रहेका विकृति विसङ्गतिलाई चित्रण गरिएका चित्र तथा कार्टुन प्रदर्शनी गरियो । 

प्रदर्शनीमा अग्रज कलाकार अशोकमान सिं, जीवन राजोपाध्याय, अविन श्रेष्ठ, वासु क्षितिज, देवेन्द्र थुम्केली, केशवराज खनाल, रवि मिश्र, भानु भट्टराई, रवीन्द्र मानन्धर, आरके थापा, दीपक गौतम, कृष्णगोपाल श्रेष्ठ, सागर शाह, सुजिता महर्जन, योगेश खपाङ्गी, सानुराज डङ्गोल, महेश बस्ताकोटी, अर्पिता शाक्य, पल्पसा डङ्गोल, सुदर्शन सिग्देल, पानसिंह तमोर, रामहरि रिमाललगायतका चित्र तथा कार्टुन राखिएको छ ।