• १२ असोज २०८१, शनिबार

योजना स्थलमै सम्झौता र अनुशिक्षण

blog

सोलुखुम्बु समाचारदाता

सोलुखुम्बु, मङ्सिर २९ गते । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाले आयोजना स्थलमै योजना सम्झौता र अनुशिक्षण गरेको छ। नगरपालिकाको वडा नम्बर १ मा सञ्चालन हुने विभिन्न योजनाको सोही स्थानमा नगरपालिकाको टोली पुगेर सम्झौता गरेको हो।

गाउँमै योजना सम्झौता गर्न पाउँदा उपभोक्ता समितिमा रहेका स्थानीय खुसी भएका छन्। सडक स्तरोन्नतीका लागि उपभोक्ता समितिको अध्यक्ष बन्नुभएका छिरिङ शेर्पाले योजना स्थलमै नगरपालिकाको टोली आएर योजना सम्झौता गर्न पाउँदा खुसी लागेको बताउनुभयो। समय र खर्चका हिसाबले निकै सहज भएको छ, कुनै कागजपत्र नपुगेर गाउँ र नगरपालिका धाउनु पनि परेन, उहाँले भन्नुभयो।

उहाँ जस्तै अर्का उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर राईले पनि आफ्नै ठाउँमा योजना सम्झौता गर्न पाउँदा गाउँ गाउँमा सिंहदरबार आएको अनुभूति भएको बताउनुभयो। यस्ता कामले नगरपालिकाको नेतृत्व जनता र विकास निर्माणमा संवेदनशील रहेको देखिएको उहाँको भनाइ छ।

जनताको सहज सेवा तथा विकास निर्माणका लागि गरिएको स्थानीय सरकारको परिकल्पनाअनुसार आफू नेतृत्वको नगरपालिका लागि परेको नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो। नगरपालिकाले यस्ता धेरै काम जनताको नजिकमा पुगेर गरिरहेको उहाँको भनाइ छ। भौगोलिक रूपमा टाढा भएकाले स्थानीय उपभोक्ता समितिलाई पहिलो चरणको प्रक्रिया सम्बन्धित स्थानमा गरिएको योजना अधिकृत रामकुमार खड्काले बताउनुभयो।

यस अवसरमा उपभोक्ता समितिलाई योजनाको सुरुवातदेखि अन्त्यसम्म गर्नुपर्ने प्रक्रियाका बारेमा अनुशिक्षणसमेत गरिएको छ। शीर्षक संसोधन गर्नुपर्ने बाहेक सबै योजना सम्झौता गरिएको त्यस वडामा योजना हेर्ने प्राविधिक पासाङ शेर्पाले बताउनुभयो। योजना अधिकृत खड्काको नेतृत्वमा गएको टोलीमा इन्जिनियर फुर्वा शेर्पा, कम्प्युटर अपरेटर सन्तोष आचार्यलगायतले सहजीकरण गर्नुभएको थियो।