सन्तोष सुवेदी
कास्की, मङ्सिर २८ गते । नेपाल सरकारले आगामी पुस १७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। यस बीचमा विमानस्थलमा यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भएको छ। क्यालिब्रेसन फ्लाइटको रिपोर्ट आएपछि व्यावसायिक उडान परीक्षण हुने जनाइएको छ। तर, विमानस्थल सञ्चालनको मुख्य बाधक ल्यान्डफिल साइट बनेको छ।
पोखरा महानगरपालिकाले विमानस्थल प्रशासनलाई कात्तिक २८ मात्र पठाई मङ्सिर १८ देखि हाल प्रयोगमा रहेको ल्यान्डफिल साइटमा फोहोर नफाल्ने जानकारी दिएको थियो। तर, आफैँले गरेको निर्णय पालना नगरी महानगरले ल्यान्डफिलको विकल्प नदिँदा पोखरा १४ स्थित बाँच्छे बुडुवास्थित ल्यान्डफिलमै अहिले पनि फोहोर जाने गरेको छ।
हवाई उडानमा पन्छी आउने र विमानसँग ठोक्किने जोखिम हुने भएकाले त्यसैको सञ्चालन हुनुभन्दा अगावै ल्यान्डफिल साइट स्थानान्तरण गर्नुपर्ने दबाब परेको छ। महानगरले विगतदेखि अहिलेसम्म ल्यान्डफिल साइटको वैकल्पिक व्यवस्थापनका लागि पहल गरे पनि टुङ्गोमा पुग्न सकेको छैन। गण्डकी प्रदेश सरकारले समेत ल्यान्डफिल साइट सञ्चालन व्यवस्थापनका लागि सहजीकरण समिति बनाएको छ। विमानस्थल निर्माण आयोजनाले ल्यान्डफिल साइट सार्न पोखरा महानगरलाई तीन वर्षदेखि अनुरोध गर्दै आएको थियो। अहिले पोखरामा दैनिक १८८ टन
फोहोर सङ्कलन हुन्छ। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यका अनुसार ल्यान्डफिल साइट माटोले पुरेपछि नयाँ साइट कहाँ बनाउने भनी अन्तिम चरणको काम भइरहेको छ।
उहाँले फोहोर व्यवस्थापनका लागि अब ल्यान्डफिल साइट नभई प्रशोधन केन्द्र बनाउने बताउनुभयो। आचार्यले भन्नुभयो, सम्भावित ठाउँमा पनि प्रारम्भिक वातावरणीय अध्ययन मूल्याङ्कन गरी त्यसको आधारमा सम्भावित ठाउँहरू खोजी कार्य अगाडि बढाएका छौँ। उहाँले फोहोर डम्पिङ गर्न कसैलाई नदिने उल्लेख गर्दै प्रशोधन केन्द्र बनाउनका लागि छिट्टै निर्णय गर्ने बताउनुभयो। अर्काे ठाउँमा अस्थायी रूपमा डम्प गर्ने गरी ठाउँहरू हेरिरहेका छौँ। यता बन्द गर्ने दिनदेखि सिफ्ट
गर्छाैं, उहाँले भन्नुभयो। पहिले नै ल्यान्डफिल सारेको भए त्यहाँका चराहरू अन्य स्थानमा स्थानान्तरण भइसक्ने विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले बताउनुहुन्छ।