बाजुरा, मङ्सिर २७ गते । वैदेशिक रोजगारीमा राम्रो कमाइ नभएपछि गाउँ फर्किएर डोका, नाम्ला बुन्न सुरु गर्नुभएको खप्तड छेडेदह गाउँपालिका –६ बुडाबाडाका डम्मबहादुर बुढाले यसबाट राम्रो आम्दानी गर्न थाल्नुभएको छ । डोका, नाम्ला बुन्ने व्यवसाय राम्रो हुँदै गएपछि छोराछोरीको शिक्षा र घर परिवार चलाउन सहयोग पुगेको उहाँ बताउनुहुन्छ ।
भारतमा केही समय रोजगारीपछि गाउँ फर्किनु भएको बुढाले घरायसी प्रयोजनका लागि प्रयोग हुने डोका, डाला, नाम्ला र सुप्पा लगायतका सामान उत्पादन गरी बिक्री गर्दै आउनु भएको छ ।
‘‘मलाई भारतमा बसेर घरखर्च पुर्याउन मुस्किल हुन्थ्यो । अहिले गाउँमै डोका नाम्ला बुन्न सुरु गरेपछि सहज भएको छ ।,’’ उहाँ भन्नुहुन्छ, ‘‘अहिले दुई छोरा र तीन छोरीलाई गाउँ नजिकैको विद्यालयमा राम्रोसँग पढाउन सक्ने भएको छु ।’’
यही व्यवसायबाट छोराछोरीलाई उच्च शिक्षा पढाउने लक्ष्य उहाँको छ । बुढाले भन्नुभयो, “स्थानीय सरकारले मेरो यो व्यवसायलाई आर्थिक सहयोग गरिदिए सहज हुने थियो ।’’
उहाँ भन्नुहुन्छ, “अघिल्लो पुस्ताले सुरु गरेको यो व्यवसायलाई अहिलेको पुस्ताले नअँगाल्दा कामका लागि बिदेसिन बाध्य छन् ।’’ उहाँले एक दिनमा चारदेखि पाँच वटा डोका बुन्नुहुन्छ भने एक डोका पाँच सयमा बिक्री गर्ने गरेको बताउनुहुन्छ ।
स्थानीय स्रोत र साधनको प्रयोग गर्दै निर्माण गरेका विभिन्न किसिमका सामग्रीहरूलाई वडापालिकाले नै खरिद गरेर बिक्री गर्ने योजना बनाएको भएको खप्तड छेडेदह गाउँपालिका–६ का वडा अध्यक्ष हर्कबहादुर रावतले बताउनुभयो ।