धनगढी समाचारदाता
धनगढी, मङ्सिर २७ गते । जनादेशबाट प्रदेशले नयाँ प्रदेश सभा सदस्य पाएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको चर्चा सुरु भएको छ। जनताले प्रदेश सरकार गठनबारे चासो लिइरहेका बेला दलले पनि नयाँ सरकार गठनको कसरत गर्न थालेका छन्। खास गरेर सत्ता गठबन्धनमा आबद्ध दलहरूले नयाँ सरकार गठनको सवालमा ध्यान केन्द्रित गरेका हुन्।
प्रदेश सभामा जम्मा ५३ सदस्य रहेकोमा सरकार गठनका लागि सत्तारूढ दलसँग स्पष्ट बहुमत रहेको छ। बहुमतको सरकार गठन गर्न २७ सदस्य सङ्ख्या चाहिन्छ। गठबन्धनसँग ३४ सदस्य सङ्ख्या रहेको छ। त्यसैले सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)भित्र नयाँ सरकार गठनको सवालमा कुरा उठ्न थालेको छ। नयाँ सरकार गठनका लागि गठबन्धनबीच छलफल नभए पनि गठबन्धनमा आबद्ध दलहरूभित्र आ–आफ्नै तवरले कुरा उठिरहेको नेकपा (माओवादी केन्द्र)का प्रदेश अध्यक्ष हरिराम चौधरीले बताउनुभयो। उहाँले भन्नुभयो, “तर प्रदेश सरकार गठनको सवालमा गठबन्धन दलबीच अहिले छलफल भएको छैन।”
उहाँले भन्नुभयो, “समानुपातिकतर्फको अन्तिम टुङ्गो लागिसकेपछि यो कार्य अगाडि बढ्छ।” सदस्यहरूको शपथ ग्रहणपछि प्रदेशमा नयाँ सरकारको गठनको कार्यलाई अगाडि बढाइने अध्यक्ष चौधरीले बताउनुभयो। “गठबन्धन दलको पूर्ण सहमतिबाटै गठबन्धनको प्रदेश सरकार बन्छ,” उहाँले भन्नुभयो। सुदूरपश्चिम प्रदेश सभामा छवटा राजनीतिक दलको प्रतिनिधित्व भएको छ। यसैगरी एक जना प्रदेश सभा सदस्य स्वतन्त्रबाट निर्वाचित हुनुभएको छ। गठबन्धन आबद्ध तीन राजनीतिक दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रदेश सभामा उपस्थिति भएको छ। तीनै दलभित्र मुख्यमन्त्रीका लागि आकाङ्क्षी देखिनुभएको छ।
नेपाली कांग्रेसबाट प्रकाश देउवा र दिवानसिंह विष्ट मुख्यमन्त्रीको आकाङ्क्षी रहनुभएको छ। देउवा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भतिजा हुनुहुन्छ। यसैगरी नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्रीको बलियो दाबेदार खगराज भट्ट हुनुहुन्छ। उहाँले आफूले मुख्यमन्त्री पाउनुपर्ने दाबी गरिसक्नुभएको छ।
निर्वाचनअघि डडेल्धुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री देउवाले पनि चुनाव जितेमा भट्ट मुख्यमन्त्री बन्न सक्ने सङ्केत गर्नुभएको थियो। यस्तै नेकपा (एकीकृत समाजवादी)बाट दीर्घ सोडारी मुख्यमन्त्रीको दाबेदार रहनुभएको छ। सोडारी अहिले प्रदेश सरकारमै बहालवाला मन्त्री हुनुहुन्छ। गठबन्धन दलहरूमा केहीको व्यक्तिगत रूपमा मुख्यमन्त्रीको लागि दाबी रहे पनि सहमतिबाटै मुख्यमन्त्रीको टुङ्गो लगाइने अध्यक्ष चौधरीको भनाइ छ। “आपसी सहमतिबाटै सरकार बनाउँछौँ,” उहाँले भन्नुभयो।