• ९ मंसिर २०८१, आइतबार

बसपार्क नहुँदा सडकमै पार्किङ

blog

बाजुरा समाचारदाता

बाजुरा, मङ्सिर २७ गते । बाजुराको सदरमुकाम मार्तडीमा बसपार्क नहुँदा पार्किङको समस्या भएको छ। झन्डै चार वर्षअघि मात्रै साँफेमार्तडी राजमार्गअन्तर्गत बाजुराको बार्जुगाडदेखि मार्तडीसम्म सडक कालोपत्रे भएको थियो।

पवनदूत बस यातायात समितिका काउन्टर इन्चार्ज सन्तोष डँडालका अनुसार सडक कालोपत्रे भएसँगै बाजुराको सदरमुकाम मार्तडीको कागागारसम्म गाडी पुगे पनि बसपार्क नहुँदा पार्किङको समस्या भएको छ। मार्तडीमा सडक पुगेर केही सजिलो भए पनि सवारीसाधन राख्न पार्किङ नहुँदा समस्या भएको यातायात व्यवसायी बताउँछन्।

काठमाडौँ, नेपालगञ्ज, महेन्द्रनगर धनगढी, अत्तरियाबाट आउने सवारीसाधन सडकको छेउमै राख्नुपर्ने अवस्था रहेको डँडालले बताउनुभयो। उहाँले भन्नुभयो, “यसले गर्दा बाजुराका स्थानीयवासीले दुर्घटनाको जोखिम मोल्नुपर्ने अवस्था छ।”

बडीमालिका नगरपालिका–८ को पाल्त भन्ने स्थानमा बसपार्क बन्न लागेको झन्डै तीन वर्ष भयो। तर, अहिलेसम्म त्यो बसपार्क निर्माणको काम सम्पन्न भएको छैन। बसपार्क निर्माणको काम समयमा नहुँदा अन्यत्रबाट आउने लामो दूरीका सवारीसाधन पार्किङ गर्न समस्या भएकाले मार्तडीको तुफानडाँडादेखि कारागारसम्मको झन्डै पाँच सय मिटर सडक छेउमै बस पार्किङ गर्दै आएको डँडालले बताउनुभयो। बस सडकको छेउमै राखेपछि स्थानीयलाई दूरसञ्चार आउजाउ गर्न समेत समस्या भएको दूरसञ्चार शाखा बाजुरामा कर्मचारी गङ्गाराज जोशीले बताउनुभयो।

उहाँले भन्नुभयो, “दूरसञ्चारदेखि तुफान डाँडासम्मको सडकभरि गाडी राखेका हुन्छन्। सडकको जताततै पानीका बोतल फालेका छन्। त्यहीँ दिसापिसाब गरेर फोहोर गरिएको छ।”

सडकछेउमै काउन्टर पनि राखिएको छ। यात्रुलाई सार्वजनिक शौचालयसमेत छैन। नत खानेपानीको व्यवस्था नै छ। यात्रुले दूरसञ्चारको शौचालय प्रयोग गरेर फोहोर गर्ने गरेको गुनासो कर्मचारीको छ। साँफे मार्तडी राजमार्गअन्तर्गत निर्माण गरिएको सडक गैरीबजारसम्म पुगेको छ। सडक अहिले गाडी राख्ने ठाउँका रूपमा प्रयोग हुँदा बजारसम्म आउनेलाई दुर्घटनाको जोखिम मोल्नुपरेको जोशीले बताउनुभयो।

स्थानीय प्रेम जोशीले भन्नुभयो, “बसपार्क नुहँदा सामान बोकेर सडकमा पु-याउनुपर्ने बाध्यता छ। सडकको दायाँबायाँ किनारमा बस, जिपहरू पार्किङ गरिएका हुन्छन्।” उहाँले भन्नुभयो, “भारी बोकेर मानिसलाई हिँड्नै अप्ठ्यारो छ। पार्किङका लागि ठाउँ नहुँदा निजी सवारीसाधन लगेर जानेलाई समस्या हुने गरेको छ।” 

विभिन्न यातायातका दुई दर्जनभन्दा बढी गाडी मार्तडीमा सञ्चालनमा छन्। यातायात व्यवसायी लोकेन्द्र सिंहका अनुसार पार्किङ नभएकाले गाडी सडकको छेउमै राख्नुपरेको हो। दैनिक पचासभन्दा बढी गाडी र जिप साँफे–मार्तडी सडकमा गुड्छन्। मार्तडीमा पार्किङ गर्ने ठाउँ छैन। गाडी राख्न अन्य कतै ठाउँ नभएपछि बाध्यताले सडकको छेउमा रोक्नुपरेको व्यवसायी सिंहले बताउनुभयो।

सुदूरपश्चिमका पहाडी जिल्ला बाजुराको सदरमुकाम मार्तडीमा मानिसको आवतजावत बाक्लो हुन्छ। सवारीसाधन पार्किङका लागि ठाउँ नहुँदा आफ्ना निजी सवारीसाधन लिएर जानेलाई समेत पार्किङको समस्या हुने गरेको छ। बसपार्क नहुँदा गाडी धेरै बेरसम्म रोक्न नसकिने यातायात व्यवसायीको गुनासो छ। 

सहज, व्यवस्थित, हुने गरी बसपार्क निर्माण गर्ने योजना बनाएको छ। त्यसका लागि अहिलेसम्म मार्तडीमा जमिन खरिद गर्ने प्रक्रिया सुरु गरेको छ। तर, अहिलेसम्म कतै पनि जमिन नपाएकाले बसपार्क निर्माण हुन नभएको बडिमालिका नगरपालिकाले जनाएको छ।

बडीमालिका नगरपालिका प्रमखु अम्मर खड्काका अनुसार पाल्तमा अघिल्लो नगर कमिटीले बसपार्क निर्माण गरेको छ। तर, त्यसमा गाडी सबै नअट्ने भएकाले त्यसलाई कोल्टीसम्म चल्ने जिपका लागि बसपार्क बनाउने र स्थायी रूपमा बाउलीमा बसपार्क निर्माण गर्ने योजना पालिकाको छ। उहाँले भन्नुभयो, “अन्य ठूला सवारीसाधनका लागि चाँडै जमिन खरिद गरी स्थायी रूपमा बसपार्कको निर्माण गरिनेछ।”

सवारीसाधन पार्किङका लागि बसपार्क नहुँदा व्यवस्थापनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्रबहादुर बोगटीले, बसपार्क नहुँदा हामीलाई सवारीसाधन व्यवस्थापनमा निकै समस्या भएको बताउनुभयो।