• १२ असोज २०८१, शनिबार

छात्रावासले दुर्गमका विद्यार्थीलाई राहत

blog

सरस्वती च्यारिबुक माध्यमिक विद्यालयमा निर्माण गरिएको छात्रावास । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर २६ गते । ताप्लेजुङको दुर्गम हिमाली क्षेत्रमा रहेको एक विद्यालयमा छात्रावास सञ्चालनमा आएपछि विद्यार्थीलाई राहत पुगेको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको सरस्वती च्यारिबुक माध्यमिक विद्यालयमा छात्रावास निर्माणसँगै सञ्चालनमा आएपछि विद्यार्थीलाई राहत पुगेको हो । 

ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले सुविधा सम्पन्न छात्रावास निर्माण गरिदिएपछि दुर्गम हिमाली क्षेत्रका विद्यार्थीलाई राहत पुगेको हो । जिल्लास्थित रिड नेपालका कार्यक्रम प्रबन्धक राजेन्द्र पन्तले दुर्गम गाउँका विद्यार्थीले अध्ययनका क्रममा झेल्दै आएको समस्यालाई दृष्टिगत गरी सुविधा सम्पन्न छात्रावास निर्माण गरिदिएको बताउनुभयो । 

संस्थाको आर्थिक लगानीमा ३२ जना छात्रा बस्ने मिल्ने छात्रावास भवनसहित भान्सा घर, खानेपानी र स्नानकक्ष (बाथरुम) समेत निर्माण गरिएको प्रबन्धक पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार सरस्वती च्यारिबुक माविमा छात्रावास निर्माणसँगै सञ्चालनमा आएपछि धेरै टाढा र दुर्गम क्षेत्रबाट घण्टौँ लगाएर विद्यालय धाउँदै आएका विद्यार्थीलाई ठूलो राहत मिलेको छ । 

यस्तै छात्रावासले विद्यार्थीलाई सहजसँगै उनीहरूको पढाइमा सुधार तथा थप प्रगति भएको पाइएको रिड नेपालकी शिक्षा अधिकृत रोमाकुमारी माबो लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार दुई÷तीन घण्टासम्म पैदल हिँडेर विद्यालय धाउने गरेका विद्यार्थीले छात्रावासमा बसेर अध्ययन गर्ने अवसर पाएका कारण उनीहरूको पठाइमा उल्लेख्य सुधार हुँदै गएको हो । छात्रावासका लागि ५६ लाख ७४ हजार ५८१ रुपियाँ आर्थिक लगानी भएको पनि उहाँले जानकारी दिनुभयो ।

यता छात्रावास निर्माण भएपछि छात्रा तथा अभिभावक पनि हर्षित भएका छन् । स्थानीय अभिभावक छोवाङडोमा शेर्पाले आधुनिक तथा सुविधा सम्पन्न छात्रावास सञ्चालनमा आफ्ना बच्चाहरूलाई राहत पुगेको बताउनुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहनुभएका शेर्पाले छात्रावासका कारण विद्यार्थीको पढाइमा सुधार आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले लेलेपको इलाडाँडा, लुङ्थुङ, सेखाथुम, जापानटार, लामाटार लगायतबाट घण्टौँ हिँडेर आउने विद्यार्थीका लागि छात्रावास बरदान सावित भएको बताउनुभयो । 


यता हाल छात्रावासमा बस्दै आउनुभएकी लेलेप लावाजिन घर भएकी विद्यार्थी हेममाया लिम्बूले छात्रावास सुविधा सुरु भएपछि दुई घण्टा बढीको पैदल बाटो हिँड्नुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो । लिम्बूका अनुसार बिहान हतार–हतारमा खाना बनाएर विद्यालय हिँड्नुपर्ने र छुट्टी भएर घर फर्कँदा साँझ पर्ने हुँदा पढ्ने समय अपुग हुन्थ्यो । छात्रावासमा बसेपछि पढ्नका लागि पर्याप्त समय मिलेको उहाँले बताउनुभयो । 

त्यस्तै अर्की छात्रा पासाङकी शेर्पाले पनि छात्रावासले ठूलो राहत मिलेको बताउनुभयो । तीन घण्टासम्म हिँडेर विद्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ भने पढाइका लागि पर्याप्त समय मिलेको शेर्पाले बताउनुभयो । छात्रावासमा बस्दा र घरदेखि धाएर पढ्दा धेरै फरक भएको अनुभूति आफूले लिएको छात्रा शेर्पाको भनाइ छ । यसरी उहाँहरूजस्तै छात्रावासमा बस्ने सबै विद्यार्थीले ठूलो राहतको महसुस गरेका छन् । 

फक्ताङ्लुङ गाउँपालिकाकै एक पुरानो र चर्चित सामुदायिक सरस्वती च्यारिबुक माध्यमिक विद्यालयमा निर्माण भएको छात्रावास केही समयअघि हिमालयन ट्रस्ट युके (बेलायत) का उपाध्यक्ष जोन वाल्टनसहितको उपस्थितिमा उद्घाटन गरिएको थियो । यस अन्तर्राष्ट्रिय संस्था हिमालयन ट्रस्ट युकेको आर्थिक सहयोगमा रिड नेपालले शैक्षिक प्रवर्द्धन र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आइरहेको छ ।