• १३ साउन २०८१, आइतबार

देउडामार्फत जनचेतनाको जमर्को

blog

हुम्ला समाचारदाता

हुम्ला, मङ्सिर २६ गते । विद्यालयका छात्राहरू स्थानीय वेशभूषामा जनचेतना फैलाउन देउडा गीतमार्फत लाग्नुभएको छ । उहाँहरू सार्वजनिक रूपमा आयोजना हुने हरेक कार्यक्रममा यो शैलीमा जनचेतना जगाउन लागिपर्नुभएको छ । खार्पुनाथ गाउँपालिका–४ को सीता माविका छात्रा पार्वती रोकायाले विद्यालयमा अध्ययनरत छात्राहरू मिलेर गाउँपालिकाभरि आयोजना हुने हरेक कार्यक्रममा देउडा गीतमार्फत जनचेतना फैलाउने अभियान सुरु गरेको बताउनुभयो । उहाँले यो कार्यक्रमका लागि विद्यालयका प्रधानाध्यापक जुनराज हमालको अगुवाइमा स्थानीय वेशभूषाका पोसाक (दौरा र घाग्रो)को व्यवस्था गरिएको बताउनुभयो । 

उहाँले केही दिनअगाडि गाउँपालिकाको आयोजनामा सम्पन्न भएको पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रमको खोप लगाउने सबै उमेर समूहका बालबालिकालाई खोप छुटाउन हुँदैन भन्ने सन्देश जाने देउडा गीत गाएर समाजमा जनचेतना जगाउने जमर्को गरेको बताउनुभयो । 

त्यसैगरी उहाँहरूको समूहले गत साउनमा सम्पन्न भएको साक्षर गाउँपालिका घोषणा कार्यक्रममा पनि साक्षरतासम्बन्धी सन्देश जाने देउडा गीत गाएर सबैलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक चेतना फैलाउने कार्यमा सघाएको थियो । पश्चिम नेपालमा विकृतिका रूपमा रहेको छाउपडी, बालविवाह, छुवाछूत, महिला हिंसा, बहुविवाहलगायतका कुरीतिविरुद्ध चेतना फैलाउने देउडा गीत छात्राहरूले गाउने गरेको विद्यालयका प्रअ हमालले बताउनुभयो । उहाँहरूले यो कार्य नितान्त स्वयंसेवाका रूपमा गर्दै आउनुभएको छ । समूहमा २० छात्रा आबद्ध हुँदै आउनुभएको छ । गाउँपालिकाभित्र हुने सार्वजनिक समारोहमा आयोजकले छात्राहरूको यो समूहलाई मनोरञ्जन प्रदान गर्न र सन्देश प्रवाह गर्न आमन्त्रणसमेत गर्ने गरेको छ ।