• १३ चैत २०८२, शुक्रबार

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

blog

काठमाडौं, चैत १३  गते ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ।  

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंह चोकस्थित सिटी हेभन होटलबाट लागुऔषध खैरो हेरोइनसहित सिरहा नगरपालिका–८ का २९ वर्षीय रक्कीकुमार यादवलाई पक्राउ गरिएको छ । 

यसैगरी, काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार फलफूल चोकबाट लागुऔषध पोलेनसहित एक जना, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट खैरो हेरोइनसहित एक जना, गुलरिया नगरपालिका–११ गणेशपुरबाट एक जना, लहान नगरपालिका–३ बाट एक जना र तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीबाट दुई जनालाई पक्राउ गरिएको छ । 

कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमाराबाट एक,कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट दुई, धरान उपमहानगरपालिका–१६ पानीट्याङ्कीबाट ट्रामाडोल  र स्पास्पेन ट्याब्लेटसहित दुई तथा सोही उपमहानगरपालिका–२० विष्णुपादुका पुलबाट १७ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको जनाइएको छ ।  रासस