• १३ साउन २०८१, आइतबार

निर्माण अनुमतिका लागि चवालीस आवेदन

blog

काठमाडौँ, मङ्सिर २६ गते । चालू आर्थिक वर्षमा ४४ वटा जलविद्युत् आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका छन् । निर्माण अनुमतिका लागि विद्युत् विकास विभागमा निवेदन दिएका ९५ वटा आयोजनामध्ये ती आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका हुन् । 

कुल सात हजार १५८ मेगावाट क्षमताका ती आयोजनामध्ये चालू आर्थिक वर्षमा मात्रै एक हजार ८६६.२ मेगावाट क्षमताका आयोजनाका प्रवद्र्धकले अध्ययन सकेर आवदेन दिएका हुन् ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)का सदस्य प्रकाश दुलालका अनुसार लाइसेन्सको अवधि गुज्रने खतराले यो वर्ष निर्माण लाइसेन्सको आवेदन बढेको हो । उहाँले भन्नुभयो, “लाइसेन्स खारेज हुनबाट जोगिन आवेदन गरिएको हो । विद्युत् खरिद बिक्री सम्झौताको टुङ्गो नलागे पनि अध्ययन तथा अन्य कार्यमा खर्च भइसकेका आयोजना जोगाउनुपर्ने बाध्यता हाम्रो छ ।” 

आवेदन दिनेमा सबैभन्दा ठूलो आयोजना टीबीआई होल्डिङ्स प्रवद्र्धक रहेको छ सय मेगावाटको तामाकोसी–३ रहेको छ । दोलखा र रामेछापमा बनाउने प्रस्ताव गरिएको यो आयोजना निर्माणका लागि गत असोजमा विभागमा आवदेन परेको हो । 

ठूलो क्षमताको प्रस्तावित आयोजनामा बुटवल पावर कम्पनीले मुगु कर्णाली जलविद्युत् आयोजना पनि छ । बीपीसीले यही मङ्सिर २ गते १५९ मेगावाटको सो आयोजना निर्माणका लागि आवेदन गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको रूपा–बेगनास जलाशययुक्त आयोजना पनि छ । प्राधिकरणले सो आयोजनाबाट १५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । ९१ मेगावाटको बूढीगण्डकी नदी आयोजना निर्माणका लागि सूर्य इनर्जी प्रालिले पनि असोजमै आवेदन दिएको छ ।

विद्युत् आयोजनाको सर्वेक्षण लाइसेन्स लिएको पाँच वर्षभित्र निर्माण अनुमतिका लागि आवेदन दिइसकेको हुनुपर्छ । विभागबाट सर्वेक्षण अनुमति लिएपछि सम्भाव्यता अध्ययन, वातावरणीय अध्ययन उद्योग दर्ता र कनेक्सन एग्रिमेन्ट लिनुपर्छ । 

भारतको खुला बजारमा विद्युत् निर्यात हुन थालेको र निजी क्षेत्रले पनि निर्यात व्यापार गर्न पाउने सरकारी आश्वासनका कारण पछिल्लो समय निजी क्षेत्रले विद्युत् उत्पादनमा चासो बढाउँदै लगेका हुन् । 

चालू आर्थिक वर्षको चार महिना (कात्तिक मसान्त)सम्म सात अर्ब ५० करोड रुपियाँको विद्युत् भारतीय खुला बजारमा निर्यात भएको छ । चालू आर्थिक वर्षमा एक हजार १८० मेगावाट विद्युत् उत्पादन हुने देखिएको छ ।