• १९ असार २०८१, बुधबार

न्यायको खोजीमा भौँतारिँदै गर्भवती

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, मङ्सिर २५ गते  । झापाको दमक–९ की ३५ वर्षीया गर्भवती कविता बस्नेत यतिबेला न्यायका लागि दौडिरहनुभएको छ। वैदेशिक रोजगारमा 

जानुपूर्व दिइने स्वास्थ्य परीक्षणको रिपोर्ट गलत दिएपछि बस्नेत दुबईमा पाँच दिन काम गरेर फर्किनुभएको हो। उहाँले झापाको दमकमा रहेको बुद्ध डायनोस्टिक एन्ड मेडिको प्रालिबाट स्वास्थ्य परीक्षण गराउनुभएको थियो। 

स्वास्थ्य परीक्षणमा गर्भमा बच्चा नरहेको रिपोर्ट दिएपछि प्याराडाइज मेनपावर कम्पनीले कवितालाई दुबई पठाएको थियो । साउन २ गते दुबई उड्नुभएकी कविताले पाँच दिन त्यहाँ काम गरेपछि कार्यरत कम्पनीले स्वास्थ्य परीक्षण गरायो। परीक्षण गर्दा कविता गर्भवती भएको रिपोर्ट आयो। त्यसपछि कम्पनीले उहाँलाई कामबाट बिदा दियो। उहाँलाई घर फर्किन त्यति सहज थिएन। 

घरपरिवारको अपहेलना सहन नसकेर विदेशिएकी कवितालाई सबै प्रक्रिया पु¥याउन दुई महिना लाग्यो। असोज ७ गते नेपाल फर्किनुभएकी कविता भन्नुहुन्छ, “अहिले श्रीमान्, सासू कसैले पनि घरमा बस्न दिनुभएको छैन। स्वास्थ्य परीक्षण गराउने संस्थाले छ महिना पुरानो स्वास्थ्य परीक्षण रिपोर्टमा नयाँ मिति राखेर भिसाका लागि निवेदन दिएपछि कविताको वैदेशिक रोजगारीबाट पैसा कमाउने सपना पानीको फोकाझैँ फुटेको हो। 

कविताका अनुसार बुद्ध डायनोस्टिक एन्ड मेडिको प्रालिले बदमासी गरेको देखिन्छ। स्वास्थ्य परीक्षण गर्ने मेडिकल सेन्टर आफ्नो गल्ती नभएको दाबी गर्छ। मेडिकल सेन्टरका सञ्चालक युवराज लामिछानेले जवाफ नदिएर फोन काट्नुभयो। 

नौ वर्षअघि युवराज धिमालसँग प्रेम विवाह गर्नुभएकी कविता अहिले इन्तु न चिन्तु हुनुहुन्छ। पतिले नै घरमा पस्न नदिएपछि उहाँ अधिकार प्राप्तिका लागि लडिरहनुभएको छ। कविताले भन्नुभयो, “मेडिकल रिपोर्ट राम्रो छ भनेपछि गएँ। मेनपावर कम्पनीले मसँग एक लाख ३० हजार रुपियाँ लिइसकेको थियो। पैसा फिर्ता माग्दा उहाँले पाउनुभएको छैन। उहाँले भन्नुभयो, “पुरानो मेडिकल रिपोर्टमा नयाँ मिति राखेर पठाउन सकिने भएकोले मलाई नियोजित रूपमा फसाइएको रहेछ। पुरानो रिपोर्टमा रोजगार गर्न जाने देश कतार उल्लेख छ भने नयाँ रिपोर्टमा दुबई उल्लेख छ।” 

अहिले कविताका श्रीमान् सम्पर्कविहीन हुनुहुन्छ। वैदेशिक रोजगारबाट फर्केपछि मिर्गौला रोग देखिएका धिमालले श्रीमती विदेश जाने भनेपछि बल्ल विवाह दर्ता गर्न सहमत हुनुभएको थियो। सात वर्षको छोरो भए पनि धिमालले एक वर्षअघि मात्र सहमत हुनुभएको थियो। 

पैसा कमाउन जाने भनेपछि विवाह दर्ता र पासपोर्ट बनाउन सहयोग गरेका पति यतिबेला कविताको पेटमा भएको बच्चालाई स्वीकारेका छैनन्। कविताले भन्नुभयो, “बाबु र बच्चाको डीएनए परीक्षण गराऔँ प्रमाणित भएन भने म केही पनि खोज्दिनँ भनेको छु तर पनि पतिले मान्नुभएको छैन।” 

विदेशबाट फर्किएका कामदारको पक्षमा कानुनी सहयोग गर्दै आएको पिपुल फोरमका अध्यक्ष सोम लुइटेलले नेपालमा मेडिकल पास भएर गएका कामदार उहाँ पुगेपछि फेल भए भने मेडिकल गर्ने पक्षले क्षतिपूर्ति भर्नुपर्ने कानुुनी व्यवस्था रहेको बताउनुभयो। उहाँले सम्पूर्ण कागजात नहेरी भन्न सकिन्न तर यता पास भएर गएको कामदार उता फेल भए मेडिकल गर्ने निकायले क्षतिपुर्ति दिनैपर्छ।