• १९ असार २०८१, बुधबार

राजमार्गले बदल्दै जीवनस्तर

blog

सिन्धुली समाचारदाता

दुधौली (सिन्धुली), मङ्सिर २४ गते । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग निर्माणसँगै सिन्धुली जिल्लाको कमलाखुँज र मरिण क्षेत्रमा विपन्न किसानको जीवनस्तर फेरिँदै गएको छ ।

राजमार्ग बनेसँगै विपन्न किसान व्यावसायिक खेती प्रणाली तथा पशुपालनतर्फ लागेपछि किसानको जीवनस्तरमा सुधार आउन थालेको हो । राजमार्ग निर्माणसँगै आसपासका गाउँका विपन्न किसानहरू व्यावसायिक रूपमा पशुपालन, तरकारी, फलफूल खेतीमा जुट्नुका साथै होटल, किराना पसललगायतका आयमूलक पेसामा संलग्न हुँदै आएका छन् । 

राजमार्ग निर्माणले उत्पादित वस्तुले सहज रूपमा बजार पाएपछि विपन्न किसान आयमूलक पेसामा जुटेको दुधौली नगरपालिका–२ निवासी रेखराज दाहाल बताउनुहुन्छ । घर छेउबाटै राजमार्ग निर्माण भएकाले सिजनअनुसार तरकारी, फलफूल बिक्री गर्न सहज भएको उहाँको भनाइ छ ।

निर्माणाधीन उक्त राजमार्गबाट कमलाखुँज क्षेत्रको दुधौली नगरपालिका, कमलामाई नगरपालिकाका वडा नं. ९, १३, १४ र मरिण क्षेत्रको मरिण गाउँपालिका तथा हरिहरपुरगढी गाउँपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । थाप्लोमा नाम्लोका डोब बस्ने गरी पसिना चुहाउँदै फलफूल तथा तरकारी बिक्री गर्न सदरमुकाम सिन्धुलीमाढी पुग्ने गरेको स्मरण गर्दै मरिण गाउँपालिका–५ निवासी वीरबहादुर लामा भन्नुहुन्छ, “मोटरबाटो निर्माणपछि एक दिन खर्चिएर हिँडेर पुग्ने ठाउँ एक घण्टामै पुग्न सकिने भएको छ । उत्पादित वस्तुहरू पनि सहजै बजारमा पुग्ने गरेका छन् ।”

उहाँले भन्नुभयो, “दैनिक उपभोग्य सामग्री खरिद गर्न एक दिन लगाएर सदरमुकाम सिन्धुलीमाढी पुग्नुपर्ने बाध्यता थियो तर अहिले घर छेउमै चाहेको मालवस्तु किन्न  पाइन्छ । बजारको अभावमा त्यत्तिकै खेर जाने गरेको कृषि उत्पादनले सजिलै बजार मात्रै पाएको छैन, गाउँको मुहार नै फेरिएको छ ।”

उक्त राजमार्ग निर्माणसँगै हरिहरपुरगढी गाउँपालिका–२, जखौली निवासी किसान सुकदेव राईले पनि गत वर्षदेखि खरबुजा खेती थाल्नुभएको छ । कृषि ज्ञान केन्द्रको बगर खेती कार्यक्रमअन्तर्गत खरबुजा खेती गरी सदरमुकाम सिन्धुलीमाढी पु¥याएर बिक्री गरेको उहाँले सुनाउनुभयो ।

किसान राईले भन्नुभयो, “चार जना मिलेर चार बिघाजति बगरमा खरबुजा खेती ग¥यौँ । २८ क्विन्टल उत्पादन भयो । प्रतिकिलो ५० रुपियाँका दरले बिक्री ग¥यौँ । पहिलो पटक गरेको खरबुजा खेतीबाट आम्दानी राम्रो लिन पाएपछि खेतीमा संलग्न किसानहरू हौसिएका छौँ ।”

अर्का किसान आइते राईले भन्नुभयो, “हाम्रो लागि खरबुजाको खेती नौलो भएकाले के हुने हो भन्ने डर पनि थियो । जे भए पनि राम्रो फल्यो, सोचेको भन्दा राम्रो आम्दानी हुँदा खुसी लागेको छ ।” सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुर जिल्लाको भित्री भागलाई जोड्ने २५० किलोमिटर लामो मदन भण्डारी (धरान–चतरा–सिन्धुली–हेटौँडा) राजमार्गलाई दुई खण्डमा विभाजन गरी २०७३ सालदेखि निर्माण सुरु गरिएकोमा अहिले निर्माणको काम अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ  ।