• १९ असार २०८१, बुधबार

बगैँचाबाटै सुन्तला बिक्री

blog

गणेश खनाल

अर्घाखाँची, मङ्सिर २४ गते । अर्घाखाँचीका किसानको घरमै पुगेर व्यापारीले सुन्तला खरिद गर्ने गरेका छन् । अर्घाखाँचीको सुन्तला पकेट क्षेत्रमा व्यापारी ट्रक लिएर नै किसानको घरमा पुग्ने गरेका हुन् । 

यस जिल्लाको सुन्तला उत्पादन हुने मुख्य क्षेत्र पाणिनि गाउँपालिकाका सिम्ले, पटौटी, निगाली देउराली, पोखराथोकलगायतका गाउँमा व्यापारी सुन्तला खरिद गर्न बगैँचामै पुग्न थालेका हुन् । 

व्यापारीले सिम्लेबाट मात्रै पाँच करोड रुपियाँको सुन्तला खरिद गरेका छन् । पाणिनि गाउँपालिका–१, सिम्ले गाउँका किसानले तीन लाखदेखि २८ लाख रुपियाँसम्म आम्दानी गरेका छन् । यहाँका ४९ घरका किसान व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । 

किसान रेवतीराज पौडेलले आफ्नो बारीमा ५५५ बोट सुन्तलामा २५० क्विन्टलभन्दा बढी फलेको बताउनुभयो । यस वर्ष सुन्तला बिक्रीबाट २५ देखि २८ लाख रुपियाँ आम्दानी हुने उहाँले बताउनुभयो । 

किसान दधिराम गौतमले बारीमा ५६५ बोट सुन्तलाबाट गत वर्ष नौ लाख रुपियाँ आम्दानी गरेकोमा यस वर्ष १४ लाख रुपियाँ आम्दानी हुने अपेक्षा गरेको बताउनुभयो ।  विगतका वर्षमा यहाँ उत्पादन भएका सुन्तला प्रतिकेजी ६० रुपियाँदेखि ६५ रुपियाँमा बुटवल, तानसेन र भैरहवाको बजारमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । बजारमा अहिले प्रतिकेजी एक सयदेखि १५० रुपियाँसम्म सुन्तला बिक्री भइरहेको छ ।