• १३ साउन २०८१, आइतबार
blog

काठमाडौँ, मङ्सिर २४ गते । नेपालमा पश्चिमेली ‘भ्यालेन्टाइन डे’को चर्चा धेरै हुँदै गर्दा नेवारी समुदायमा पनि यस्तै एउटा दिन छ भन्दा कतिलाई अनौठो लाग्न सक्छ । मतिना पारु नेपालमा बसोबास गर्ने नेवार समुदायको एक लोकप्रिय दिन हो । यो दिन यःमरी पुन्हिको भोलिपल्ट अर्थात् शुक्रबार मतिना पारु परेको छ । मतिना भनेको माया र पारु भन्नाले प्रतिपदा भन्ने बुझिन्छ ।

यःमरी पुन्हिसँग सम्बन्धित थुप्रै संस्कार र संस्कृतिमध्ये लोकप्रिय रूपमा खानाको परिकार यःमरीको चर्चा हुँदै गर्दा यसको वातावरण, मौसम र स्वास्थ्यसँगको सम्बन्ध सँगसँगै यसको अर्को पक्ष भनेको प्रेम पनि हो । 

संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःका अनुसार परम्परागत समाजमा अहिलेजस्तो मायाप्रेमको विषयमा खुला वातावरण थिएन । यसरी बन्धनले बाँधिएको समाजमा यःमरी पुन्हिका दिन टोलटोलमा गएर ‘यःमरी फ्वनेगु (माग्ने)’ परम्पराअनुसार यःमरी माग्दै जाने क्रममा आफ्नो प्रेमी खोज्ने र प्रेमीसँग सुटुक्क कुरा गर्ने चलन थियो ।

“यसै क्रममा यःमरी पुन्हिकै दिन भेट्न आउने कुराकानी राखेर फर्कनेहरू त्यसको भोलिपल्ट भेट्ने गर्दछन्,” उहाँले भन्नुभयो, “त्यो दिनलाई नै ‘मतिना पारु’ भनिन्छ ।” 

अहिलेजस्तो फोन, मोबाइल नभएका बेलामा यःमरी फ्वनेगु क्रममा सुटुक्क भेटी, कागजमा लेखेर सुटुक्क आदानप्रदान गरी कता कहिले भेट्न आउने कुरा साट्छन् । त्यसैअनुसार मतिना पारुका दिन भेटघाट हुन्छ ।

नेवार समुदायमा यःमरी पुन्हि (पूर्णिमा)को भोलिपल्टलाई मतिना पारु अर्थात् माया गर्ने दिनका रूपमा लिने गरिन्छ । लोप भइसकेको नेवारी प्रेम दिवसबारे सामाजिक सञ्जालमा राखेपछि शुभकामना दिनेहरू पनि धेरै छन् । नेवार समुदायका व्यक्तिले सामाजिक सञ्जालमा मतिना पारुको शुभकामना दिएका छन् ।

संस्कृतिविद् गणेशराम लाछीले नेवार समुदायमा विभिन्न संस्कृतिलाई प्रेम दिवसका रूपमा मनाइने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेजस्तो प्रेम प्रस्ताव राख्ने चलन थिएन । घरबाट तय भएको केटा वा केटीसँग नै विवाह गर्नुपर्छ । मन पराएको छ भने कुनै जात्रापर्वमा भेटघाट हुने हो ।” होली पर्वका साथै यःमरी पुन्हिको भोलिपल्ट प्रेम दिवस मान्ने चलन भएको लाछीको भनाइ छ ।

यो खुला रूपमा मनाउने चलन नभएकाले लोप भएको जानकारी दिँदै उहाँले प्रेम प्रेममा नै सीमित हुन्छ, विवाहमा परिणत हुन धेरै गाह्रो हुन्छ । समाजको डर, परिवारको इज्जत जाने डरले यस्तो दिन खु्ला रूपमा भने मनाइँदैन ।

“भ्यालेन्टाइन डेको इतिहास १४औँ शताब्दीको रोम राज्यबाट आएको हो । भ्यालेन्टाइन नामक एक लोकप्रिय प्रेमीको नाममा बसेको दिवस विश्वभरि मनाउने गरिन्छ । प्रेम प्रस्ताव राख्न नेवार समुदायमा पनि एउटा विशेष दिन छ, त्यसलाई ‘मतिना पारु’ भनिन्छ । 

यता मिस नेवाः नीतु महर्जनले आफूले पनि नेवा संस्कृतिबारे अध्ययन गरेपछि मात्र मतिना पारु कहिले भनेर बुझेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पश्चिमी संस्कृति हामीले चाँडै नै लिन्छौँ तर आफ्नो संस्कृतिको जगेर्ना भने गर्न भुल्छाँै । हामी युवापुस्ताले नै आफ्ना यस्ता संस्कृतिको रक्षा गर्नुपर्छ ।”