• २६ चैत २०८२, बिहिबार

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, छ जना घाइते

blog

कञ्चनपुर, चैत २६ गते । कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

आज साँझ करिब ०६ः०५ बजे कृष्णपुर नगरपालिका–१ कुमगडाको भित्री कच्ची सडकमा से१ज २९० नम्बरको जिप अनियन्त्रित भइ अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

दुर्घटनामा कृष्णपुर नगरपालिका–१ का अन्दाजी ६० वर्षीय नन्दराम पार्की र सोही स्थानकी ६२ वर्षीया कलावती देवी बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपमा चालकसहित आठ जना सवार थिए । दुर्घटनामा चालक २४ वर्षीय अर्जुन साउद गम्भीर घाइते भएका छन् । साउदको टाउको तथा शरीरमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । 

त्यसैगरी ३५ वर्षीया धनसरी बोहरा, १३ वर्षीया सरिता बोहरा, १५ वर्षीया भावना पार्की, १४ वर्षीया रेश्मा घटाल र भिमदत्त नगरपालिका तिल्केनीकी ५० वर्षीया गंगा बिष्ट घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ ।

घाइतेहरूलाई कृष्णपुर नगरपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि धनगढी, कैलाली पठाइएको प्रहरीले जनाएको छ । रासस