• ६ जेठ २०८१, आइतबार

सातौँ म्याग्दी महोत्सव पुस २८ मा हुने

blog

ठाकुरप्रसाद आचार्य/अमृतप्रसाद पौडेल

म्याग्दी, मङ्सिर २३ गते । निजी क्षेत्रको छाता सङ्गठन म्याग्दीको उद्योग वाणिज्य सङ्घको आयोजनामा बेनीमा आगामी पुसको अन्तिम सातादेखि सातौँ म्याग्दी महोत्सवको आयोजना गरिने भएको छ । जिल्लाको पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणका लागि महोत्सव आयोजना गर्न लागिएको हो । कोरोनाका कारण थला परेको आर्थिक क्षेत्रलाई महोत्सवले राहत मिल्ने अपेक्षा आयोजकले राखेका छन् । 

कोरोना महामारीका कारण दुई वर्ष अघि आयोजना हुने महोत्सव स्थगित भएको थियो । बेनीमा लाग्ने परम्परागत माघे सङ्क्रान्ति मेलालाई जगेर्ना गर्न र  सङ्घले प्रत्येक तीन÷तीन वर्षमा जिल्लामा महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवको बारेमा सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका पदाधिकारीहरूले महोत्सवले जिल्लाको विकासमा नयाँ आयाम थप्ने दाबी गरे ।  

बेनीमा लाग्ने परम्परागत माघे सङ्क्रान्ति पर्वको अवसरमा आगामी पुस २८ देखि माघ ७ गतेसम्म बेनीको खुलामञ्चमा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला २०७९ को आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए । सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले स्थानीय उत्पादनको बजार प्रवर्द्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्र्याउने र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउनुभयो । 

महोत्सवको अवसरमा स्थानीय उत्पादन र राष्ट्रिय अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीका साथै लोकदोहोरी, खेलकुद प्रतियोगिता, राष्ट्रिय र स्थानीय कलाकारहरूबाट गीत तथा नृत्य प्रस्तुति, पालिकास्तरीय पुर्ख्यौली नाच प्रतियोगिता र झाँकी प्रदर्शनीलगायतका कार्यक्रम आयोजना गरिने महोत्सव मूल समितिले जानकारी दिएको छ । 

महोत्सवमा हेली सयर, कालीगण्डकी नदीमा र्याफ्टिङ, बाल उद्यान, मिनी चिडियाघर, स्थानीय उत्पादनको प्रदर्शनी लगायतको अवलोकनका लागि राखिने आयोजकले बताएका छन्  । महोत्सव सफल बनाउन ३९ वटा उपसमिति मार्फत तयारीलाई तीव्रता दिइएको छ ।

महोत्सवलाई सफल बनाउन सङ्घ, जिल्ला समन्वय समिति, ६ वटा स्थानीय तह लगायतको सहकार्य रहनेछ । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा १ करोड २५ लाख आम्दानी र १ करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा दुई सय ५८ वटा व्यवसायीक स्टल राखिने भएको छ । स्थानीय उत्पादनलाई विक्री र प्रचारप्रसार गर्नका लागि स्थानीय तहको सिफारिसमा निशूल्क स्टलको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । बेनीमा आयोजना गरिने परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना गर्ने र जिल्लाको सम्भावनालाई उजागर गर्न सङ्घले २०६० सालदेखि महोत्सवको आयोजना गर्दै आएको छ ।