• ११ असोज २०८१, शुक्रबार

खरी रोगले गड्डी भैँसी सङ्कटमा

blog

गोकर्ण दयाल 

बैतडी, मङ्सिर २३ गते । बैतडीको स्थानीय गड्डी जातका भैँसी खरी रोगका कारण सङ्कटमा परेको छ। सिगास गाउँपालिका–१ को वडा कार्यालय र स्थानीय सामुदायिक सिकाइ केन्द्रको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीले गाउँमा हालै पशु स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। सोहीक्रममा स्थानीय गड्डी जातको भैँसीमा खरी रोगको प्रभाव ज्यादा पाइएको हो। 

शिविरमा खरी रोगको समस्या लिएर आउने किसानको भैँसीको निःशुल्क औषधोपचार गरिएको जनाइएको छ। मङ्सिर १९ र २० गते सञ्चालन भएको पशु स्वास्थ्य शिविरमा भैँसीपालन गर्ने किसानले खरी रोगको समस्या लिएर आएको पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख पशु विकास अधिकृत गुमानीदत्त पन्तले बताउनुभयो। 

उहाँले भन्नुभयो, “शिविरबाट हामीले खरी रोगको उपचारका लागि औषधि वितरण गर्नुका साथै कडा खालको रोगका लागि पशु प्राविधिकलाई किसानको घरमै गएर सुईमार्फत औषधोपचार गरेका छौँ।” 

शिविरमा सहभागी किसान सरस्वती ऐरीले गाई, बाख्रा र कुखुरामा देखापरेका रोगको पहिचान गरेर निदानका लागि पशु प्राविधिक गाउँमै आएर निःशुल्क औषधोपचार गरिदिएकामा खुसी लागेको बताउनुभयो। 

शिविरबाट ११० जना किसानले पशु स्वास्थ्य सेवा लिएका छन्। गाउँमा पहिलो पटक पशु स्वास्थ्य शिविर सञ्चालन हुँदा बाख्रापालन गर्ने किसानलाई फाइदा भएको अगुवा किसान दानसिंह ऐरीले बताउनुभयो।

बजारबाट जथाभाबी औषधि किनेर बाख्रालाई खुवाउने गरेकोमा पशु प्राविधिकको सल्लाहअनुसार औषधि प्रयोगबारे जानकारी पाएको उहाँले बताउनुभयो। खरी रोगका कारण भैँसीपालन नफस्टाएपछि बाख्रापालनमा लागेको ऐरीले बताउनुभयो। 

बाख्रा, कुखुरा र गाईपालन गर्ने किसानभन्दा भैँसीपालन गर्ने किसानले खरी रोगको समस्याबारे जानकारी दिएको पशु विकास अधिकृत खड्कसिंह भण्डारीले बताउनुभयो। उहाँले भन्नुभयो, “खरी रोगका कारण बैतडीका स्थानीय गड्डी जातका भैँसी सङ्टमा पर्ने अवस्था देखिएको छ।” उहाँले खरी रोगको पूर्ण रूपमा निदान गर्न सम्भव नभएकाले रोग नै लाग्न नदिन किसानले समयमै पशुविज्ञको सल्लाह लिनुपर्ने बताउनुभयो। उहाँका अनुसार खरी रोग लागेका भैँसी दुब्लाएर उड्न लागेको चिलजस्तो देखिने, खुरमा खरीको जस्तो धूलो निस्कने र बिस्तारै हिँड्न नसकेर भैँसी मर्छन्।

खरी रोगको सङ्क्रमण दुधालु भैँसीमा बढी देखिने गरेको पशु प्राविधिकले बताएका छन्। बैतडीका गड्डी जातका भैँसीमा देखापरेको खरी रोगका विषयमा पशु वैज्ञानिकको टोलीले एक वर्ष अघि अनुसन्धान गरेर रोग नियन्त्रणका लागि औषधि सिफारिस गरेका थिए। खरी रोग निदानका लागि थप अनुसन्धान भइरहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीले जनाएको छ।