• ११ असोज २०८१, शुक्रबार

पुल नहुँदा जोखिम

blog

तानसेन समाचारदाता

पाल्पा, मङ्सिर २३ गते । तानसेन–१० स्थित सुरुङ्तुङ खोलामा पक्की पुल नहुँदा स्थानीयवासी जोखिम मोलेर खोलामा यात्रा गर्न बाध्य छन्। यहाँका बासिन्दाले पक्की पुल बनाउन माग गरेको वर्षौ बिते पनि हालसम्म यस खोलामा पुल बनेको छैन। 

तानसेनको तेल्घा (आमडाँडा) र सुरुङ्तुङ (गडशाल) जोड्ने गरी सुरुङ्तुङ खोलामा पक्की पुल निर्माण गर्न स्थानीयवासीले वर्षौंदेखि माग गर्दै आएको उनीहरू बताउँछन् तर हालसम्म उक्त स्थानमा पक्की पुल बन्न नसकेको स्थानीय बासिन्दा मीना खाम्चाले गुनासो गर्नुभयो। “पुल नहुँदा जोखिम मोलेर तानसेन, बुटवल, प्रभास, गडशाल, तेल्घा, आमडाँडामा जानेआउने गर्नुपर्छ,” खाम्चाले भन्नुभयो, “पुलको माग गरेको वर्षौं बितिसकेको छ। पुलकै कारणले गाउँमा उत्पादन भएको कृषिजन्य वस्तु बिक्रीमा समेत असहज भएको छ।” हिउँदमा खोला तर्न सकिने भए पनि बर्सातका बेला छ महिनासम्म जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन्। पुल नहुँदा यस क्षेत्रका पाँच सयभन्दा बढी घरधुरी प्रभावित भएको स्थानीय विष्णु चिदीले बताउनुभयो। “बजार गर्न तानसेन, बुटवल जान होस् या खेतीपातीका लागि खोला तर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “खोलामा पुल बने हिउँद र बर्सातमा गाउँमा उत्पादन भएको कृषिजन्य वस्तु बिक्री गर्न पनि सहज हुन्थ्यो।” पुलकै कारणले विद्यालयमा अध्ययनरत बालबालिका र ज्येष्ठ नागरिकले सबैभन्दा बढी दुःख पाएको चिदीले बताउनुभयो। 

सडक पूर्वाधार विकास कार्यालय पाल्पाले सुरुङ्तुङ खोलामा पुल बनाउनका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको जनाएको छ। कार्यालयका प्रमुख इन्जिनियर अरुण गुप्ताले सुरुङ्तुङ खोलामा पुल बनाउन अध्ययन सुरु भएको र विस्तृत प्रतिवेदन तयार गरेर पुल निर्माणको कामलाई अगाडि बढाउने जानकारी दिनुभयो।  तानसेन नगरपालिकाको विकट मानिने यस क्षेत्र लामो समयदेखि उपेक्षामा पर्दै आएको स्थानीयवासीको गुनासो छ।