• १२ असोज २०८१, शनिबार

‘जनताको विश्वास जित्ने काम गर्छौँ’

blog

कार्यक्रममा सहभागी नवनिर्वाचित जनप्रतिनिधि ।

अविनाश चौधरी/कृतबहादुर विष्ट

धनगढी, मङ्सिर २० गते। नवनिर्वाचित जनप्रतिनिधिले आफूहरूले जनताको विश्वास जित्ने गरी काम गर्ने बताउनु भएको छ। सत्तारुढ पाँच दलीय गठबन्धन निर्वाचन परिचालन समितिले मङ्गलबार धनगढीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँहरूले उत्कृष्ट काम गरेर जनताको विश्वास जित्ने प्रतिबद्धता जनाउनु भएको हो। 

नवनिर्वाचित सांसद डिल्लीराज पन्तले जनताको माग साधारण रहेका उल्लेख गर्नुहुँदै खानेपानी, सडक लगायतका योजना सफल बनाउनु पर्ने बताउनुभयो। कृषि, स्वास्थ्य, शिक्षा, रोजगार क्षेत्रमा रहेको समस्या समाधान गरेर मतदाताको विश्वास कायम राख्ने उहाँको भनाइ थियो। ‘यसका लागि हामी जनप्रतिनिधिले इमानदारिता देखाउनु पर्दछ’, सांसद पन्तले भन्नुभयो। एक छुट्टै प्रसङ्गमा उहाँले अब गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने उल्लेख गर्नुभयो।  

यस्तै, प्रदेश सभा सदस्य रमेश धामीले जितेर खुसीसँगै विकास निर्माणमा आफूहरू चिन्तित भएको बताउनुभयो। उहाँले जनप्रतिनिधिले सबै पार्टीको शिर ठाडो पार्ने काम गर्नु पर्नेमा जोड दिनुभयो। 

अर्का प्रदेश सभा सदस्य प्रकाश देउवाले जनताको विश्वास जितेर काम गर्ने बताउनुभयो। उहाँले सुदूरपश्चिम प्रदेशलाई विकसित प्रदेशको रूपमा अगाडि बढाउने उल्लेख गर्नुभयो। जनताको विश्वास जित्न सजिलो नरहेको भन्दै उहाँले अगाडि थप्नुभयो,‘नैतिकता र आचरणलाई सुधार गरेर काम गर्नु पर्दछ।’

सुदूरपश्चिम प्रदेशमा पाँच दलीय गठबन्धन सरकार बन्ने उल्लेख गर्नुहुँदै देउवाले पार्टी र कार्यकर्तालाई सँगसँगै लैजाने र जनताले देखाएको बाटोमा आफू हिँड्ने प्रतिबद्धता जनाउनुभयो। यसैगरी, कार्यक्रममा बोल्नहुँदैन प्रदेश सभा सदस्यद्वय प्रकाश बम र अक्कलबहादुर रावलले संविधान र व्यवस्थाको रक्षाका लागि आफूहरूले काम गर्ने बताउनुभयो।

कार्यक्रममा जनप्रतिनिधिलाई बधाई दिइनुका साथै पाँच वर्षे कार्यकाल सफलताको शुभकामना दिइएको छ। नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टको अध्यक्षतामा भएको कार्यक्रममा वाम लोकतान्त्रिक गठबन्धन दलका नेताको उपस्थिति रहेको थियो।