• १२ असोज २०८१, शनिबार

सडक विस्तारमा ढिलासुस्ती

blog

रजनी योगी

सुर्खेत, मङ्सिर २० गते । वीरेन्द्रनगरको मुख्य बजारको सडक विस्तारको काम सुस्त देखिएको छ। लामो समय भइसक्दा पनि मङ्गलगढी चोकदेखि गणेश चोकसम्मको सडक फराकिलो बनाउने कामले गति लिन सकेको छैन।

यो सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता भएको झन्डै १५ महिना भयो। कुनै अवरोध नभए पनि सडक विस्तारमा निर्माण कम्पनीले आलटाल गरिरहेको बताइएको छ। अहिलेसम्म सडक विस्तार क्षेत्रमा पर्ने कतिपय ठाउँमा ‘साइड क्लियर’समेत गरिएको छैन। 

१८ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७८ भदौ १७ मा सडक विस्तारको ठेक्का सम्झौता गरिएको थियो। सडक विस्तारका लागि अब निर्माण व्यवसायीसँग करिब तीन महिनाको समय मात्रै बाँकी छ। कामको प्रगति भने निकै न्यून छ।

सम्झौताअनुसार निर्माण कम्पनीले २०८० जेठ मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने हुन्छ। साढे १३ करोड रुपियाँ बजेटमा सडक स्तरोन्नति गर्ने गरी ठेक्का सम्झौता भएको छ। पछिल्लो समय निर्माण कम्पनीकै आलटालका कारण काम ढिलासुस्ती भएको सरोकारवालाहरूले बताएका छन्। 

सडक विस्तारको मुख्य काम नै सुरु नभएको पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर सूर्य शाहीले बताउनुभयो। उहाँका अनुसार स्तरोन्नति गर्नुपर्ने क्षेत्रमा रहेका सबै अवरोध हटाइसकिएको छ। उहाँले निर्माण व्यवसायीलाई काम थाल्न आफूहरूले ताकेता गरेको समेत बताउनुभयो। निर्माण कम्पनीले सडक विस्तारको काम छिट्टै सुरु गर्ने बताएको उहाँको भनाइ छ।

मुख्य बजार क्षेत्रमा सडक विस्तारको काम महिनौँदेखि लथालिङ्ग भएपछि वीरेन्द्रनगर नगरपालिकाको आलोचना भइरहेको छ। गएको भदौमा सडक विस्तारका लागि भन्दै नगरपालिकाले उक्त क्षेत्रमा पर्ने अवरोधहरू हटाउन थालेको थियो। 

त्यस बेला सडक विस्तार क्षेत्रमा पर्ने बिरुवाहरू काटियो तर अन्य कतिपय भौतिक संरचना भने अझै हटाउन बाँकी रहेको बताइएको छ। सडक स्तरोन्नतिको नाममा हरियाली मासिएको भन्दै केही स्थानीयले नगरपालिकाको कदमको विरोधसमेत गरे। सडक क्षेत्रका संरचना डोजर लगाएर भत्काउने र त्यसको व्यवस्थापन तथा नयाँ निर्माणमा ढिलासुस्ती गर्दा निकै सास्ती खेप्नु परेको स्थानीयको गुनासो छ।

नगरपालिकाको अदूरदर्शी सोचका कारण मुख्य बजारको सुन्दरता मात्रै मासिएको वीरेन्द्रनगर नगरपालिका–६ का स्थानीय एवं राजनीतिकर्मी मुकुन्दश्याम गिरीले बताउनुभयो।  उहाँले नगरपालिका आफ्नो निर्णयमा अडिग रहन नसकेको आरोप लगाउनुभयो। उहाँका अनुसार भदौ २१ गते विस्तारित क्षेत्रका संरचना हटाउन सूचना जारी गरिएको थियो। ३० गते बिरुवा मासियो। उति बेला तत्कालै सडक विस्तार गरिने भनिएको थियो तर अहिलेसम्म स्तरोन्नतिको काम अघि बढेको छैन।

वीरेन्द्रनगर–६ का पदमबहादुर थापाले पनि अर्काको देखासिकी गरेर विकास गर्न खोज्दा वीरेन्द्रनगर पहिलेको तुलनामा झनै अस्तव्यस्त बनेको बताउनुभयो।

सडकमा रहेका विभिन्न अवरोध हटाउन समय लागेको र त्यसपछि चाडपर्व तथा निर्वाचनका कारण काम अपेक्षित गतिमा नभएको नगरप्रमुख मोहनमाया ढकाल बताउनुहुन्छ। उहाँले सडक विस्तार गर्नुपर्ने क्षेत्र खाली भइसकेकाले अब काम तीव्र गतिले अघि बढ्ने बताउनुभयो। 

मुख्य बजार क्षेत्रको सडक विस्तारको काम भएकाले नागरिकले बढी चासो राख्नु स्वाभाविक भएको भन्दै भण्डारीले काम छिटो सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जानकारी दिनुभयो। वीरेन्द्रनगरको मङ्गलगढीदेखि गणेश चोकसम्म हाल सात मिटर चौडा सडक रहेकोमा त्यसलाई विस्तार गरेर १५ मिटर चौडाइको बनाइँदै छ। 

निर्माण कम्पनीले मुख्य बजार क्षेत्रको कामले केही दिनभित्र रफ्तार लिने दाबी गरेको छ। निर्माण व्यवसायी टेकबहादुर खड्काले यसै ठेक्काअन्तर्गतका चारवटा भित्री सडक स्तरोन्नति सम्पन्न भइसकेको र मुख्य बजारको सडक विस्तारले अब गति लिने बताउनुभयो। 

उहाँले भन्नुभयो, “सर्वपक्षीय बैठकमा मङ्सिर अन्तिमतिरबाट काम सुरु गर्ने सहमति भएको थियो। सोहीअनुसार २५ गतेभित्र काम अघि बढाउने तयारी गरिएको छ।”