• १२ असोज २०८१, शनिबार

'नेफ्टा फिल्म अवार्ड'को ११ औँ संस्करण अमेरिकाको टेक्सासमा

blog

काठमाडौं, मंसिर १९ गते । 'नेफ्टा फिल्म अवार्ड'को ११ औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३)मा अवार्ड हुन लागेको जानकारी गराएको हो ।

यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबईमा अवार्ड गरिसकेको नेफ्टाले पाँचौंपटक विदेशमा कार्यक्रम गर्न लागेको हो । अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले फेम नेपाल, युएस खबर र आर्यन फिल्म्स लगायतका संस्थासँग सहकार्य गर्ने भएको छ । 

नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, अवार्डलाई दुई देशबीचको पुलको रूपमा स्थापना गर्ने, डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायाङ्कन गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।