• १२ असोज २०८१, शनिबार

संसद्को आधा कार्यकाल भाडाकै भवनमा बित्ने

blog

नारायण काफ्ले

काठमाडौँ, मङ्सिर १९ गते । सङ्घीय संसद्को भवन निर्माण तोकिएको समयमा नहुने निश्चित भएको छ । कोभिड–१९ का कारण भन्दै आगामी चैत मसान्तसम्म थपिएको अवधिमा पनि भवनको मूल संरचना मात्र पूर्ण हुने अवस्था रहेको छ 

यससँगै अबको संसद्का बैठक पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै हुनेछ । सहरी विकास मन्त्रालयको भवन निर्माण आयोजना समन्वय कार्यालयले आइतबार पनि निर्माणाधीन भवनको अवलोकन गरेको छ । २०७९ असोजसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोभिड १९ का कारण चैत मसान्तसम्म समय थप गरिएको थियो । भवन निर्माण सम्पन्न नभएपछि कम्तीमा पनि अबको संसद्को आधा कार्यकाल भाडाकै भवनमा चलाउनुपर्ने छ । 

मन्त्रालयको भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक मचाकाजी महर्जनका अनुसार चैतसम्म मूल संरचनाको काम सम्पन्न हुने अवस्था छ । उहाँले भन्नुभयो, “चैत मसान्तसम्म काम सकिने सम्भावना नै छैन । हामी तार्किक आधार र कारण हेरेर कति समय थप गर्न उपयुक्त हुन्छ, त्यसबारेमा निर्णय गर्छौं । एक वर्ष जति समय अझै कम हुनसक्ने दुवै पक्षको आकलन छ ।” 

महर्जनका अनुसार संसद् भवनको हलको संरचना निर्माण भए पनि छतको ट्रस निर्माणमा नै छ महिना लाग्ने छ । यस्तै आन्तरिक डिजाइनको काममा पनि समय लाग्ने उहाँको भनाइ छ । मूल संरचना निर्माणपछि फिनिसिङको काम हुने महर्जनले बताउनुभयो । 

छ अर्ब रुपियाँभन्दा बढी लागतमा संसद् भवन निर्माणको सम्झौता २०७६ असोज १६ गते भएको थियो । तुँदी एसएचईसी जेभीसँग निर्माण सम्झौता भएको थियो । २०७९ असोजमा निर्माण सम्पन्न गर्नेगरी भएको सम्झौता कोभिड–१९ महामारीका कारण काम अवरुद्ध भएको भन्दै छ महिना लम्ब्याइएको हो । २०७९ चैत मसान्तसम्मका लागि भवन निर्माणको म्याद थप भएको हो ।

निर्माणाधीन भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदनको हल, सचिवालयका भवन संसदीय दलका कार्यालय, समिति बैठकका सभाकक्ष, चमेना गृह, पुस्तकालय, सुरक्षा निकायका लागि समेत छुट्टै भवन हुनेछन् । मूल १२ वटा भवन उक्त परिसरमा निर्माण हुनेछन् । 

पुतली बगैँचामा १५१ रोपनी क्षेत्रफलमा उक्त भवनहरू निर्माण हुनेछन् । आफ्नै भवन नहुँदा अहिले संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर बैठक चलाउँदै आएको छ । सचिवालयले अहिले १५ करोड नौ लाख रुपियाँ वार्षिक भाडा तिरिरहेको छ ।