• १२ असोज २०८१, शनिबार

सत्ता गठबन्धनको विकल्प खोजेका छैनौँः माओवादी केन्द्र

blog

फाइल तस्बिर

काठमाडौं, मङ्सिर १८ गते। नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनका लागि वर्तमान सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारेको छ। 

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि सत्तारुढ गठबन्धनको विकल्प खोज्नु नहुने निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नयाँ सरकार बनाउन गठबन्धनमा आधारित भएर सोच्नुपर्ने बताउनुभयो। गठबन्धनमा कुनै विमति वा असहमति पैदा नभएको भन्दै उहाँले आफूहरू गठबन्धन फेर्नुपर्छ भन्ने अवस्थामा नपुगेको उल्लेख गर्नुभयो। 

सोमबार गठबन्धनको बैठक बस्नेबारे जानकारी दिँदै उहाँले सो बैठकमा निर्वाचनको समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफल हुने बताउनुभयो। 

‘‘हामी गठबन्धनमा भएको हुनाले पहिलो कुरा त गठबन्धनमा आधारित भएर सोच्ने कुरा भयो। गठबन्धनबाट को–कोसँग वार्ता गर्ने, को कोसँग कुरा गर्ने, गठबन्धनमा अझ बलियो कसरी बनाउने, कति कुरा मिल्छन्, कति कुरा मिल्दैनन्। त्यो त गठबन्धनमा निर्भर रहने विषय भयो। अहिले पार्टीले गठबन्धनको विकल्प तुरुन्तै सोचिसकेको अवस्था होइन’’, महासचिव गुरुङले भन्नुभयो।

महासचिव गुरुङले नेकपा (एमाले) सँग गठबन्धन गर्ने सम्बन्धमा छलफल नभएको बताउनुभयो। उहाँले एमालेसँग पनि कुनै प्रकारको कुराकानी नभएको स्पष्ट पार्नुभयो। माओवादी केन्द्रले सरकार गठनको लागि पहिलो प्रयास गठबन्धनभित्रै गर्ने उहाँले  प्रस्ट पार्नुभयो। 

‘‘एमालेसँग गठबन्धन गर्ने कुरा विषय प्रवेश नै भएको छैन। त्यस्तो केही कुराकानी नै भएको छैन। गठबन्धनको विकल्पको बारेमा अहिले खासै कुरा सुरु भएको छैन’’, गुरुङले भन्नुभयो। महासचिव गुरुङले निर्वाचन परिणाम अपेक्षा गरे अनुरूप नआए पनि सफल र परिणाममुखी नै भएको बताउनुभयो। निर्वाचन परिणामलाई स्विकार्दै र कमी, कमजोरीलाई सुधार्दै पार्टीलाई सुदृढ बनाउँदै अघि बढाउने बैठकको निष्कर्ष रहेको उहाँको भनाइ छ।