• १३ साउन २०८१, आइतबार

जसपा नेताद्वारा भट्टराईलाई श्रद्धाञ्जलि अर्पण

blog

स्वर्गीय भट्टराईलाई जसपाका अध्यक्ष उपेन्द्र यादव तथा मधेस प्रदेशका मुख्यमन्त्री लालवावु राउत श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै । तस्बिर : ललिता साह

ललिता साह 

बोदेबसाईन (सप्तरी) मङ्सिर १८ गते । नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाका संस्थापक तथा मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईलाई जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका नेता तथा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । 

सर्लाहीस्थित होटलमा शनिबार बिहान मृत अवस्थामा भेटिनु भएका भट्टराईको शव शनिबार राति नै सप्तरी राजविराजस्थित जन्मघरमा ल्याइएको थियो । आइतबार जसपा नेताहरू तथा मुख्यमन्त्री राउतले भट्टराइको घर पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । 

वर्तमान समाज र पत्रकारिताप्रति सधैँ चिन्तित भइरहने शालीन स्वभावका वरिष्ठ पत्रकार भट्टराईलाई अन्तिम श्रद्धाञ्जलि दिन नेत्री रेणुकुमारी यादव, मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्ण समेतको उपस्थिति थियो । नेपाल सरकारका पूर्व सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता, सिचाइँमन्त्री उमेशकुमार यादव, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन लगायत जिल्लाका नेता तथा सरकारी निकायका प्रमुखहरूको समेत उपस्थिति थियो । 

यसैबीच नेपाल पत्रकार महासङ्घको लोगो अङ्कित झण्डा ओढाउँदै महासङ्घ शाखा सप्तरीले भट्टराईप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । नागरिक समाज सप्तरीले समेत समाजको लोगो अङ्कित झन्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । 

सर्लाहीको लालबन्दीदेखि ८ किमी उत्तरमा रहेको पथ्थरकोट भन्ने स्थानको होटलमा सुतिरहेको अवस्थामा हृदयघाटका कारण उहाँको निधन भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आइतबार परिवारले उहाँको अन्तिम संस्कार गरेको छ । भट्टराईका दुई छोरा एक छोरी र श्रीमती छन् ।