• १२ असोज २०८१, शनिबार

दुई वर्षमा लैङ्गिक हिंसासम्बन्धी ६७ अपराध

blog

जिल्ला प्रहरी कार्यालय लमजुङ । तस्बिर : बेलिना थापा

बेलिना थापा

लमजुङ, मङ्सिर १८ गते । लमजुङमा करिब पाँच महिनाको अवधिमा लैङ्गिक हिंसासम्बन्धी ९ वटा अपराधका घटना घटेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आर्थिक वर्ष २०७९–८० को साउनदेखि हालसम्म ९ वटा उजुरी परेको हो । 

कार्यालयका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलका अनुसार चालु आर्थिक वर्षमा जबरजस्ती करणीसम्बन्धी अपराधका चार वटा घटना भएको छ । जबरजस्ती करणी उद्योगसम्बन्धी अपराध तीन वटा भएको छ । अवैध गर्भपतनसम्बन्धी एउटा र बाल यौन दुरुपयोगका घटना भएको श्रीमलले बताउनुभयो । 

आर्थिक वर्ष २०७८–७९ मा ३२ वटा लैङ्गिक हिंसासम्बन्धी उजुरी परेको थियो । सो वर्ष सबैभन्दा धेरै जबरजस्ती करणीसम्बन्धी २० वटा घटना परेको थियो । जबरजस्ती करणी उद्योगको ३ वटा, बालविवाहसम्बन्धी एक, बहुविवाहसम्बन्धी ५ वटा उजुरी परेको थियो । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी एउटा र बाल यौन दुरुपयोगसम्बन्धी २ वटा घटना घटेको थियो । 

यस्तै, आर्थिक वर्ष २०७७–७८ मा २६ वटा घटना घटेको थियो । जबरजस्ती करणीसम्बन्धी १५ वटा उजुरी परेको थियो । जबरजस्ती करणी उद्योगसम्बन्धी ४ वटा, बहुविवाहसम्बन्धी ५ वटा घटना भएको थियो । बोक्सीको आरोपसम्बन्धी एउटा र बाल यौन दुरुपयोगसम्बन्धी एउटा उजुरी परेको थियो ।

करिब साढे २ वर्षको तथ्याङ्क हेर्दा ६७ वटा लैङ्गिक हिंसासम्बन्धी अपराध भएको पाइएको छ । विगतका वर्षाभन्दा घटनामा केही कमी आएको प्रहरीले जनाएको छ । नागरिकमा सचेतना वृद्धि भएको, हिंसाप्रति सचेत भएकाले पनि केही कमी आएको प्रहरीले जनाएको छ । 

प्रहरीले हिंसा न्यूनीकरणका लागि समुदाय, विद्यालय, कलेजमा अभिमुखीकरण, अन्तरक्रिया, र्‍याली, रेडियो, टिभी कार्यक्रम, प्रहरी नागरिक हातेमालो कार्यक्रम, समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्दैआएको प्रनाउ श्रीमलले बताउनुभयो । 

प्रहरीले हिंसाका मुद्दा गम्भीरताका साथ हेरेको बताउनुभयो । हिंसा सम्बन्धमा तत्काल प्रहरीमा खबर गर्न उहाँले अनुरोध गर्नुभयो । प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले समुदायबाट अझै पनि हिंसाका घटना आउन नसकेको भन्दै हिंसालाई बाहिर ल्याउनुपर्ने बताउनुभयो ।