• १३ असोज २०८१, आइतबार

गाउँपालिकाले अस्पताल सञ्चालन गर्दै

blog

चितवन समाचारदाता

चितवन, मङ्सिर १६ गते । चितवनको इच्छाकामना गाउँपालिकामा आगामी पुसको पहिलो साताबाट अस्पताल सञ्चालनमा आउने भएको छ। गाउँपालिकामा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गर्न लागिएको हो। अस्पताल सञ्चालनका लागि अहिले उपकरण जडान, उपचार कक्षहरू तयारी गर्नेलगायतका काम भइरहेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो।

अब अस्पताल सञ्चालनमा आएसँगै स्थानीयले सामान्य उपचारका लागि गाउँपालिकाभन्दा बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने अध्यक्ष गुरुङले बताउनुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही महिनाअघि गाउँपालिकाका लागि नयाँ डिजिटल एक्स–रे मेसिन, शय्या, मोनिटर र औषधिलगायत ५० लाख रुपियाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो। यही बुधबार मात्रै प्राविधिक टोलीले एक्स–रे मेसिन जडान गरी सेवा सुरु गरेको छ। थप स्वास्थ्य सेवा पनि चाँडै सुरु गर्ने गरी काम भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिनुभयो।