• १३ असोज २०८१, आइतबार

‘प्रमुख दलकै कमजोरीले नयाँ शक्तिको उदय’

blog

नारायणगढ समाचारदाता

भरतपुर, मङ्सिर १६ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख दलहरूकै कमजोरीका कारण स्वतन्त्र पार्टीलगायतका नयाँ शक्तिहरूको उदय भएको बताउनुभएको छ। नेपाल प्रेस युनियन चितवनले बिहीबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नयाँ शक्तिको उदयलाई आफूले गम्भीर रूपमा लिएको धारणा राख्नुभयो।  

उहाँले भन्नुभयो, “युवाको जोश र पुरानाको अनुभवलाई मिलाएर देश चलाउनुपर्छ। नयाँ शक्तिहरूको आगमनलाई मैले गम्भीरतापूर्वक लिएको छु। नयाँ शक्तिको आगमन हाम्रा कमी कमजोरीका कारणले भएको असन्तुष्टिको सन्देश भनेर मैले बुझेको छु।”

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टीलगायतका नयाँ पार्टीले अहिले पाएको जनमतलाई उहाँले प्रमुख दलहरूप्रतिको असन्तुष्टिका रूपमा लिएको बताउनुभयो। अब जनतामा देखिएको असन्तुष्टि समाधानका लागि आउने दिनमा बन्ने नयाँ सरकारले जनपक्षीय काम गर्नुपर्ने उहाँको धारणा थियो। 

उहाँले पुसको पहिलो साताभित्र नयाँ सरकार गठन हुने पनि जनाउनुभयो। बाम लोकतान्त्रिक गठबन्धनकै सरकार बन्ने र त्यसको नेतृत्व आफूले गर्ने उहाँले दाबी गर्नु्भयो। कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने उहाँको धारणा छ। यसो हुँदा त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वाभाविक माग भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “गठबन्धनको बहुमत पुगेको छ। गठबन्धनको सरकार बन्छ। दलहरूबीच सल्लाह हुँदैछ। अबको सरकारको नेतृत्वमा मेरो दाबेदारी स्वाभाविक रहनेछ। म प्रधानमन्त्रीको स्वाभाविक उम्मेदवार हुँ।” आफूलाई प्रधानमन्त्री बनाउन सभापति शेरबहादुर देउवालगायतका नेताहरू सकारात्मक रहेको पनि उहाँले बताउनुभयो।