• १३ असोज २०८१, आइतबार

भगवतीको प्राथमिकता विपन्न समुदायको उत्थान

blog

सचिन पोख्रेल

मङ्सिर १६ गते । संसद् प्रवेशका लागि भएको चुनावी प्रतिस्पर्धामा तेस्रो पटकमा सफलता प्राप्त गर्नुभएकी प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य भगवती चौधरीले आफूले कृषिलाई व्यवसायिक र निर्यातमुखी बनाउन प्रयास गर्ने बताउनुभएको छ। सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई तेस्रो पटकमा पराजित गर्दै सांसद बन्नुभएकी नेकपा एमालेकी नेत्री चौधरीले महिलालाई आत्मनिर्भर, स्वरोजगार बनाउने अभियानमा आफ्नो प्राथमिकता रहने बताउनुभएको छ। 

तेस्रो पटकमा कांग्रेसका गच्छदारलाई पराजित गर्दै संसद्को यात्रा तय गर्नुभएकी एमाले नेत्री चौधरी २०७० सालको निर्वाचनमा ३६२ मत र २०७४ सालमा ३२१ मतको अन्तरले गच्छदारसँग पराजित बन्नुभएको थियो। यस पटकको निर्वाचनमा भने उहाँले गच्छदारलाई पाँच हजार १८८ मतको अन्तरले पराजित गर्नुभएको हो। उहाँले चौधरीले ४० हजार ७८८ मत प्राप्त गरी विजयी बन्नुभयो भने निकटतम प्रतिस्पर्धी गच्छादारले ३५ हजार छ सय मत ल्याउनुभयो।

निर्वाचनको समयमा आफूले सर्वसाधारणमाझ राखेको एजेन्डा स्मरण गर्दै उहाँले आफू राजनीतिमा लाग्नु अगावै सर्वसाधरणलाई उद्यमशील बनाउन सक्रिय रहेको तथा युवालाई स्वरोजगार बनाउने विभिन्न योजना अगाडि सार्दै आएको स्पष्ट पार्नुभयो। 

गोरखापत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो, “सुनसरी क्षेत्र नं. ३ मा धेरैजसो ग्रामीण भेग पर्छ जहाँ अत्यन्तै आर्थिक अवस्था कमजोर भएको गरिब र विपन्न समुदायको बाहुल्य छ।” आफू तिनै विपन्न वर्गको आर्थिक सामाजिक जीवनस्तर उकास्ने अभियानमा लाग्ने उहाँको भनाइ छ। आफ्नो निर्वाचन क्षेत्रमा प्राविधिक शिक्षालय स्थापनामा पहल गर्ने उहाँको एजेन्डा छ।

सांसद चौधरीले सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार्न विशेष पहल गर्ने, एक गाउँ, एक उद्योग स्थापनालाई विशेष जोड दिने तथा पर्यटकीय स्थलहरूको विकास र प्रवद्र्धनका लागि चक्रपथको अवधारणा कार्यान्वयन गर्ने योजना रहेको पनि उल्लेख गर्नुभयो।