• १३ असोज २०८१, आइतबार

सुनसरी क्षेत्र ४ मा सञ्चारमन्त्री कार्कीको अग्रता कायमै

blog

जयकृष्ण यादव 

इनरुवा, मङ्सिर १४ गते । सुनसरीको तीन वटै क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भए पनि निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधि र प्रदेश सभातर्फको मतगणना अझै जारी छ । तीन दिनदेखि स्थगित मतगणना मङ्गलबारबाट सुचारु भएपछि निरन्तर मतगणना जारी छ । आज राति ३ बजेसम्ममा अन्तिम नतिजा सार्वजनिक हुनसक्ने मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो । 

जारी मतगणनाको साँझ ६ बजेको पछिल्लो विवरणअनुसार नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता कायम राख्नुभएको छ । हालसम्म भएको मतगणनाअनुसार ८३ मतले उहाँ अगाडि हुनुहुन्छ ।

मन्त्री कार्कीले नेपाली कांग्रेसका तर्फबाट उम्मेदबार रहनुभएकाले रुखमा २७ हजार ९८९ पाउनुभएको छ । उहाँलाई नेकपा (एमाले) का उम्मेदबार जगदीशप्रसाद कुसियैतले २७ हजार ९०६ मतसहित पछ्याइरहनुभएको छ । 

बराहक्षेत्र १० र कोशी गाउँपालिका ६ श्रीपुरको मतगणना मात्र बाँकी छ । दुई वटा वडामा गरी करिब चार हजार पाँच सयको हाराहारीमा मतगणना गर्न बाँकी रहेको सहायक निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिनुभयो ।