• १३ असोज २०८१, आइतबार

निर्वाचनमा बालबालिकाको प्रयोग

blog

कार्यक्रममा सिजपका अध्यक्ष राजेश शर्माले निर्वाचनमा बालबालिकाको प्रयोग भएकोबारे प्रस्तुति गर्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौं, मङ्सिर १२ गते । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा विद्यालय तथा बालबालिकालाई प्रयोगमा ल्याइएको पाइएको छ । बालबालिका शान्तिक्षेत्र  राष्ट्रिय अभियान (सिजप) द्वारा सोमबार यहाँ आयोजित कार्यक्रममा बालबालिका सम्बन्धी ऐन –२०७५, निर्वाचन आचारसंहिता र विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन–२०६८ विपरीत यस निर्वाचनमा पनि बालबालिकाको परिचालन भएको र विद्यालयको प्रयोग भएको  जानकारी गराएको हो ।


सो अभियानका अध्यक्ष राजेश शर्माले निर्वाचनमा राजनीतिक  दल तथा स्वतन्त्र उम्मेदवारबाट बालबालिका परिचालन भएको दुई सय १६ घटना सिजपमा प्राप्त भएको बताउनुभयो । दुई सय १६ घटनामध्ये एक सय ४४ वटा  प्रचार प्रसार र्‍याली, कलाकारको रूपमा २८ वटा, आमसभामा १८ वटा, घरदैलो कार्यक्रममा १२ वटा घटनामा बालबालिकाको प्रयोग भएको बताउनुभयो ।

सिजपका सदस्य संस्थाहरूको रिपोर्टअनुसार सङ्कलन गरिएका  ती घटनालाई दलगत रूपमा  विश्लेषण गर्दा लोकतान्त्रिक बाम गठबन्धनबाट ९८ घटना, नेकपा (एमाले) बाट ७१ वटा, अन्य सात दलहरूबाट ३४ वटा र स्वतन्त्र उम्मेदवारबाट १३ वटा घटनामा बालबालिकाको प्रयोग भएको पाइएको उहाँले जानकारी दिनुभयो ।

साथै, २५ वटा विद्यालयमा निर्वाचनको गतिविधिहरू गरिएको, एक विद्यालयको बस प्रयोग गरेर बालअधिकार हननका काम भएको भन्दै सिजपले आपत्ति जनाएको छ । अध्यक्ष शर्माले सो घटनाविरुद्ध मानवअधिकार आयोग र निर्वाचन आयोगमा उजुरी परेको बताउनुभयो । 


सिजपका सचिवालय प्रमुख आत्माराम थापाले यसअघि स्थानीय निर्वाचनको समयमा र विजय उत्सवपछि बालबालिका परिचालनको एक सय ५५ वटा घटना  भएको जानकारी दिँदै आगामी दिनमा विद्यालय तथा बालबालिका शान्ति क्षेत्र हुन् भन्ने मान्यता स्थापित गर्न सरोकारवाला सङ्घ संस्था, राज्य, नागरिकले आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो ।  

बालबालिका क्षेत्रमा क्रियाशील संस्थाको राष्ट्रिय सञ्जालको रूपमा सन् २००३ देखि क्रियाशील नागरिक सञ्जाल बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले बालबालिका विरुद्ध  हुने हिंसा, दुर्व्यवहार र बालअधिकार हननका घटनामा न्यायका लागि पहल गर्दै विद्यालय शान्ति क्षेत्र अभियानको प्रवर्द्धन गर्दैआएको छ ।