• १३ साउन २०८१, आइतबार

विवाह पञ्चमी महोत्सव हर्षोउल्लासपूर्वक मनाइँदै

blog

विवाह पञ्चमीको अवसरमा जनकपुरधामको जानकी मन्दिरमा श्रद्धालुको घुइँचो । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

धनुषा, मंसिर १२ गते । जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत सोमबार दिउँसो मर्यादा पुरुषोत्तम भगवान् राम र जगतजननी सीताबीचको स्वयंवर कार्यक्रम सम्पन्न भएको छ । 

जनकपुरधामको बाह्रबिघा रंगभूमि मैदानमा आयोजना गरिएको स्वयंवर कार्यक्रम हेर्न लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो । जनकपुरधामको राम मन्दिरबाट निस्केको भगवान् रामको डोला र जानकी मन्दिरबाट निस्केको जगतजननी सीताको डोला रंगभूमि मैदानमा पुगेपछि स्वयंवर कार्यक्रम गरिएको थियो । 


भगवान् रामको डोलालाई माता सीताको डोलाले तीन पटक परिक्रमा गरेपछि मालाफेरको कार्यक्रम गरिएको थियो । दुवै मन्दिरका पुजारीले स्वयंवरका विधिअनुसार मालाफेर गराइसके पश्चात् सो स्थानमा स्थानीय मैथलानी महिलाले विभिन्न खालका मंगलगितहरु प्रस्तुत गर्नुभएको थियो ।

त्रेता युगमा भगवान् राम र सीतावीच स्वयंवर कार्यक्रम हुँदा छपन्न करोड देवी देवताको उपस्थिति रहेको थियो । स्वयंवर कार्यक्रममा सहभागी भएको खण्डमा विभिन्नखालको सङ्कटबाट मुक्ति पाउने जनविश्वासको आधारमा आज पनि स्वयंवरको कार्यक्रममा लाखौँको सहभागिता रहेको थियो । 

स्वयंवर कार्यक्रम सकिएपश्चात् दुवै डोलालाई नगर परिक्रमा गराई पुनः मन्दिरमा स्थापित गरिएको छ । डोलासँगै भारतको अयोध्याबाट आएका साधुसन्त र स्थानीय श्रद्धालुको सहभागिता रहेको थियो । स्वयंवर कार्यक्रमको क्रममा स्थानीय विभिन्न सङ्घ संस्थाले राम– सीताको प्रतिकात्मक झाँकी प्रदर्शन गरेका थिए । 

स्वयंवर कार्यक्रम सकिएको र राति ७ बजे पश्चात् जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका उत्तराधिकारी महन्थराम रोशन दासले जानकारी दिनुभयो । विवाह पञ्चमीको अवसरमा जनकपुरधामको राम–जानकी मन्दिरमा पूजाआजा गर्न आज बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ । 


स्थानीय प्रशासनले विवाह पञ्चमीलाई मध्यनजर गरी जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारिएको छ । नगरक्षेत्रमा एक हजारभन्दा बढी प्रहरी परिचालन भएको र सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको धनुषाका प्रहरी प्रमुख वसन्त रजौरेले जानकारी दिनुभयो । भारतीय तीर्थालुको मध्यनजर गरी नेपाल रेल्वेको सेवा बढोत्तरी गरी तीन पटक सञ्चालन गरिएको छ ।