• १३ असोज २०८१, आइतबार

प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा

blog

काठमाडौँ, मङ्सिर १२ गते । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना परिणाम अन्तिम चरणमा पुगेको छ। सोमबार साँझसम्म छ स्थानको नतिजा आउन बाँकी छ। पछिल्लो परिणामअनुसार पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल प्रतिनिधि सभा निर्वाचनमा पराजित हुनुभएको छ। पराजित हुने पूर्वप्रधानमन्त्रीमा उहाँ मात्र हुनुहुन्छ। 

इलाम क्षेत्र नं. १ मा उम्मेदवार हुनुभएका उहाँलाई नेकपा (एमाले) इलामका अध्यक्ष महेश बस्नेतले दुई हजार ९५७ मतको अन्तरले पराजित गर्नुभएको हो। बस्नेतले २५ हजार ६९९ मत पाउँदा खनालले २३ हजार ४५ मत मात्र पाउनुभयो। खनाल गठबन्धनको साझा उम्मेदवार हुनुहुन्थ्यो।

पशुपतिनगर समाचारदाता प्रेमप्रसाद अधिकारीका अनुसार यो मतपरिणामलाई निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक रूपमा घोषणा गर्न बाँकी छ। गणना भएको मतको अन्तिम प्रकाशन भएको सूचीमा सो नतिजा उल्लेख छ। समानुपातिकतर्फको मतगणना सकेर सोमबार मात्र आधिकारिक घोषणा गरिने भनी कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। 

खनालको पराजयबाट सातौँ पटकको संसद्को यात्रा रोकिएको छ भने बस्नेतले संसद्को यात्रा पहिलो पटक थालनी गर्ने अवसर पाउनुभएको छ। खनाल विगतमा एमालेबाट निर्वाचित हुँदै आउनुभएको थियो। उहाँ २०६८ सालमा २०४ दिन प्रधानमन्त्री बन्नुभयो। खनालले निर्वाचनमा धाँधली भएको भन्दै शनिबार पत्रकार सम्मेलन गरेर निर्वाचनका सबै प्रक्रियालाई अस्वीकार गरेको बताउनुभएको थियो। निर्वाचित बस्नेत २०५४ र २०७४ माइलाम नगरपालिकाको नगरप्रमुख हुनुभएको थियो। 

यसैगरी जलेश्वर समाचारदाता महेशकुमार दासका अनुसार महोत्तरी निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार लक्ष्मी महतो विजयी हुनुभएको छ। महतो एक हजार ३० मतको अन्तरले विजयी हुनुभएको छ। महतोले २३ हजार ४०२ मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलले २२ हजार ३७२ मत ल्याउनुभएको थियो। 

त्यस्तै रामेछाप समाचारदाता नवराज श्रेष्ठका अनुसार रामेछापमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ। एक निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको हो। तामाङले एमालेका कैलाशप्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मत अन्तरले पराजित गर्नुभएको हो। तामाङले ४७ हजार ९८ मत र ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गर्नुभएको थियो। 

कलैया समाचारदाता शिवशङ्कर मिश्रका अनुसार बाराको क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहायप्रसाद यादव १३ हजार ८२२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँले माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहालाई ३५४ मतान्तरले पराजित गर्नुभएको थियो। कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गर्नुभएको थियो।

यसैगरी धनुषा समाचारदाता धर्बेन्द्र झाका अनुसार धनुषा क्षेत्र नं. १ मा एमाले–जसपा गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका दीपक कार्की निर्वाचित हुनुभएको छ। जसपाका कार्कीले माओवादी केन्द्रका उम्मेदवार पूर्वमन्त्री मातृकाप्रसाद यादवलाई पराजय गर्नुभएको छ। उहाँहरूबीच पाँच हजार ९४८ को मतान्तर छ। कार्कीले २७ हजार ४३१ म्त प्राप्त गर्नुभएको थियो भने यादवले २१ हजार ४३१ म्त प्राप्त गर्नुभयो। २०७४ सालको निर्वाचनमा कार्की यादवसँग पराजित हुनुभएको थियो। इनरुवा समाचारदाताका अनुसार सुनसरीक्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाका लागि निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दर्ता गराउनुभएको छ। यहाँको मतगणना शनिबार दिउँसोबाट स्थगित भएपछि पुनः मतगणनाको काम सुचारु गर्ने विषयमा दुई पटक सर्वदलीय बैठक बसे पनि सहमति हुन नसक्दा गणना सुरु हुन सकेको छैन। सदरमुकाम इनरुवास्थित भगवती माध्यमिक विद्यालयमा शनिबार साँझ र आइतबार बिहानदेखि मध्याह्नसम्म दुई पटक सर्वदलीय बैठक बसेको थियो।